दुर्गा प्रसाईँको म्याद थप आज नहुने
काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँको म्याद थप भोलि मात्र गरिने भएको छ ।
केही कागजात र प्रक्रियाका कारण आज अदालत लैजान समय अपुग हुन सक्ने सीआईबी प्रवक्ता होविन्द्र बोगटीले बताए ।
‘डकुमेन्ट मिलाउनुपर्ने कारण आज म्याद थप्न नभ्याइएला जस्तो छ, भोलि फर्स्ट आवरमा म्याद थप्न सकिन्छ’, उनले नेपाल प्रेससँग भने ।
पक्राउको २४ घण्टाभित्र अदालत उपस्थित गराउनुपर्ने भएकोले प्रहरीसँग अझै समय छ ।
भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका उनलाई सीआईबीको कार्यालय पुर्याएर मेडिकल गरिएको थियो ।
उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने सीआईबीको तयारी छ ।
प्रसाईँले हिजो कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको करोडौं रहेको भन्दै ‘फेक डकुमेन्ट’ सहित अफवाह फैलाएका थिए ।