प्रहरीमा ५ डीआईजी दरबन्दी थप्ने प्रस्ताव अर्थ मन्त्रालयमा – Nepal Press

प्रहरीमा ५ डीआईजी दरबन्दी थप्ने प्रस्ताव अर्थ मन्त्रालयमा

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीमा ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गर्ने तयारी अघि बढाएको छ । मन्त्रालय स्रोतकाअनुसार जनपदतर्फ ३ जना र प्राविधिकतर्फ २ जना गरेर ५ डीआईजी दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा स्वीकृतीका लागि पठाइएको छ ।

प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको योजना तथा अन्वेषण निर्देशनालयले तीनजनाको दरबन्दी थप गर्नुपर्ने प्रस्ताव अघि बढाएपछि प्रहरी प्रधान कार्यालयले उक्त प्रस्ताव गृह मन्त्रालयमा पेश गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिम केन्द्र) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा डीआईजीको दरबन्दी थप गर्नुपर्ने प्रस्ताव गरिएको हो । यी तीनवटै ठाउँमा एसएसपीको दरबन्दी रहे पनि अहिले डीआईजी नै खटाइँदै आएको छ ।

प्राविधिकतर्फ सञ्चार निर्देशनालय र केन्द्रीय विधि विज्ञान प्रयोगशालामा एक-एक जना थप गर्न प्रस्ताव गरिएको छ । अहिले सञ्चार निर्देशनालयमा एसएसपी गोपालप्रसाद रेग्मी र विधि विज्ञानमा एसएसपी राकेश सिंह कार्यरत रहेकाले उनीहरूलाई नै बढुवा गर्नेगरी दरबन्दी थपको प्रस्ताव गरिएको हो ।

प्राविधिकतर्फ तत्कालीन एसएसपी नवीन्द अर्याल र डा.देउती गुरुङलाई नै बढुवा गर्नका लागि साइबर ब्यूरो र केनाइन कार्यालयमा दुई डीआईजीको दरबन्दी थपिएको थियो । उनीहरू अनिवार्य अवकाशमा गएसँगै दरबन्दी पनि स्वत: हटेको छ । अहिले सञ्चार निर्देशनालय र विधि विज्ञानमा भने स्थायी दरबन्दी थप गर्ने प्रस्ताव अघि सारिएको छ ।

प्रहीमा प्राविधिकतर्फ अहिले ७ डीआईजी छन् । २ जना डीआईजीपी थपिए यो संख्या ९ पुग्नेछ ।

५ डीआईजी थप्दा आर्थिक भार थपिने भन्दै मन्त्रालयले स्वीकृतिका लागि अर्थमा फायल पठाएको हो । गृहबाट आएको प्रस्तावउपर कुनै निर्णय भइनसकेको अर्थ स्रोतले बतायो ।

हाल नेपाल प्रहरीको जनपदतर्फको २० डीआईजी दरबन्दीमध्ये ८ रिक्त रहेको छ । जसमा आईजीपी वसन्त कुँवरसँगै त्यसपछिका थप दुई ब्याचीका एसएसपी प्रतिस्पर्धामा छन् ।

तीन ब्याचका एसएसपीमध्ये क-कसलाई बढुवा गर्ने भन्ने गृहमन्त्री रमेश लेखक र मन्त्रालयलाई सकस परेपछि दरबन्दी थप गरेर संकट टार्ने तयारी अघि बढाइएको हो ।

केही दिनअघि मात्रै बुद्धिराज गुरुङ र केदार ढकाल एआईजीमा बढुवा भएपछि एकै पटक दुई जना डीआईजीको पद रिक्त भएको थियो । त्यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत डीआईजी किरण राणा एआईजीमा बढुवा सिफारिस भएपछि उनको ठाउँमा बढुवा भएको छैन ।

यस्तै गत कात्तिक ११ मा प्रहरी शिक्षालय भरतपुरका निर्देशक डीआईजी राजेशनाथ बाँस्तोला अवकाशमा गएपछि उनको ठाउँमा पनि डीआईजीको पद रिक्त छ भने त्यसअघि डीआईजी यज्ञविनोद पोखरेल गत असोज १४ मा ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि उनको ठाउँ रिक्त छ ।

यस्तै बागमती प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख विष्णुकुमार केसी गत भदौ १६ मा ५६ वर्षे उमेर हदकै कारण अनिवार्य अवकाशमा गएपछि उनको ठाउँ खाली छ ।

त्यसअघि रामदत्त जोशी एआईजीमा बढुवा भएपछि डीआईजीको एउटा दरबन्दी खाली नै थियो । गत असार २१ मा डीआईजी पोषराज पोखरेलले अनिवार्य अवकाश पाएपछि त्यहाँ पनि रिक्त नै । गत असार २१ देखि अहिलेसम्म गरेर जनपदतर्फ ८ जना डीआईजीको पद रिक्त रहेको र जनपदतर्फ ३ जनाको दरबन्दी थप गरेर एकै पटक ११ जना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्ने गृह मन्त्रालयको तयारी छ ।

अहिले प्रस्तावित ५ डीआईजीपीको दरबन्दी थप भएमा जनपदतर्फ २३ र प्राविधिकतर्फ ९ गरेर प्रस्ताव अनुसार दरबन्दी थप भएमा डीआईजीको संख्या ३२ पुग्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर