पुटिनले गरे नयाँ आणविक कानूनको प्रमाणीकरण, के छ प्रावधान ? – Nepal Press

पुटिनले गरे नयाँ आणविक कानूनको प्रमाणीकरण, के छ प्रावधान ?

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ आणविक कानूनको प्रमाणीकरण गरेका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार रुसले मङ्गलबार पहिलोपटक आणविक नीति परिवर्तन गरेको छ । अब नयाँ नीतिले कुनै आणविक देशको साथमा गैरआणविक देशले रुसमा हमला गरेमा त्यसलाई सामूहिक आक्रमण मानेर त्यसैअनुसार जवाफ दिइने बताइएको छ ।

गत सेप्टेम्बरमा बनेको कानून औपचारिक रुपमा मङ्गलबार प्रमाणीकरण भएपछि अब लागू भएको छ । अमेरिकी धुरीका नेटो र अरु देशको साथमा युक्रेनले रुसी हमला सामना गरिरहेको तथा युक्रेनलाई अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रों तथा बेलायती प्रधानमन्त्री केइर स्टार्मरले रुसी भूमिमा लामो दूरीका मिसाइल हान्न अनुमति दिएको समाचार सार्वजनिक भएपछि पुटिनले आणविक कानून प्रमाणीकरण गरेको जानकारी सार्वजनिक भएको हो ।

यस अगाडि उत्तर कोरियाले रुसलाई एक लाखसम्म सैनिक दिन राजी भएको खबर सार्वजनिक भएको थियो । दश हजार उत्तर कोरियाली सैनिक रुस पुगिसकेको बताइएको छ । रुस र उत्तर कोरियाले केही अगाडि मात्र एकअर्कामाथि हुने आक्रमणलाई आफूमाथिको आक्रमण भन्ने अर्थ लगाएर रणनीतिक सन्धि गरेका थिए ।

यी सबै घटनालाई लिएर कतिपयले तेस्रो विश्व युद्ध हुन लागेको भन्दैछन् । त्यसो भन्नेमा एक हालसालै राष्ट्रपति चुनाव जितेर ह्वाइट हाउसमा जान खुट्टा उचालेर बसेका डोनाल्ड ट्रम्प पुत्र डोनाल्ड ट्रम्प जुनियर पनि छन् । उनले सामाजिक सञ्जाल एक्समा भनेका थिए, ‘बाइडेन तेस्रो विश्व युद्ध चाहन्छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर