छविलाई काठमाडौं ल्याइँदै, रविलाई पनि सँगै पठाउने पत्रमा संशोधन ! – Nepal Press

छविलाई काठमाडौं ल्याइँदै, रविलाई पनि सँगै पठाउने पत्रमा संशोधन !

काठमाडौं । सहकारी ठगीको आरोपमा हिरासतमा रहेका छविलाल जोशीलाई थप अनुसन्धानका लागि आज काठमाडौं ल्याइँदैछ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा सोधपुछका लागि काठमाडौं प्रहरीले उनलाई झिकाएको हो ।

उक्त सहकारीका तत्कालीन कोषाध्यक्ष कुमार रम्तेललाई काठमाडौं ल्याएर बयान लिइसकिएको प्रहरी स्रोतले बतायो । छविलाई आज साँझको फ्लाइटमा ल्याइने तयारी गरिएको स्रोतको भनाइ छ ।

स्वर्णलक्ष्मी सहकारीमा ठगी भएको भन्दै उजुरी परेपछि प्रहरीले रवि र छविसहित २२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यसअघि यही सहकारीको प्रकरणमा जीवी राईसहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

स्रोतका अनुसार रवि र छविलाई पोखराबाट एकसाथ पठाउन काठमाडौं प्रहरी परिसरले कास्की प्रहरीलाई पत्राचार गरेको थियो । तर, रविलाई छोडेर आज छविलाई मात्रै पठाउन लागिएको हो । उनीहरूलाई बेग्लाबेग्लै ल्याउने हेतुले प्रहरीको पत्रमा समेत संशोधन भएको स्रोतले दाबी गर्‍यो ।

‘एकै साथ ल्याउनु भन्ने पत्र थियो, तर रविलाई आजै पठाउनु उपयुक्त नहुने देखिएपछि पत्रमा नै संशोधन गराइएको छ,’ स्रोतले भन्यो ।

रविलाई काठमाडौं ल्याइँदा भिड जम्मा हुने र मुठभेडको स्थितसम्म हुने सुरक्षा विश्लेषणका कारण उनलाई केही दिनपछि ल्याइने प्रहरी स्रोतले जनायो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले अनुसन्धानको आवश्यकता अनुसार आरोपीलाई झिकाइने बताए ।

उनले भने, ‘आवश्यकताअनुसार अनुसन्धानको दायरामा जो जो छन्, सबै आउँछन् । प्रहरीको आफ्नो प्रक्रियाअनुसार हुन्छ ।’

कास्की प्रहरीका प्रवक्ता वसन्त शर्माले छवि र रविलाई झिकाउन बेग्लाबेग्लै पत्र आएको दाबी गरे । उनले दुवैलाई अनुकुलता अनुसार पठाइने बताएका छन् ।

रविलाई कहिले काठमाडौं पठाइन्छ भन्ने उनले बताउन चाहेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *