क्यानले स्टार स्पोर्ट्ससँग राष्ट्रिय हितविपरीत सम्झौता गरेको भन्दै तीन संस्थाको आपत्ति
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारणका लागि भारतीय च्यानल स्टार स्पोर्ट्सलाई ठूलो रकम तिरेर गरिएको सम्झौता विवादित बनेको छ । सञ्चार तथा विज्ञापन क्षेत्रका तीन संस्थाले साझा विज्ञप्ति जारी गर्दै उक्त सम्झौताप्रति आपत्ति जनाएका छन् ।
नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले विज्ञप्ति जारी गर्दै क्यानको यो कदम राष्ट्रिय हितविपरीत तथा अवैधानिक रहेको दाबी गरेका हुन् । एनपीएल आयोजना हुनु सुखद भएको र यसले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विज्ञप्तिमा बताइएको छ, तर यो प्रतियोगिताले नेपाल र नेपालीको हित एवं अधिकारको अवमूल्यन हुन नहुनेमा विज्ञप्तिमा जोड दिइएको छ ।
नेपाल प्रिमियर लिगको आयोजनामा नेपाल क्रिकेट संघबाट केही अवैधानिक, गैरकानूनी र गैरव्यवसायिक तथा अनैतिक क्रियाकलापहरु जानाजान वा भुलवश हुन गएको विज्ञप्तिमा उल्लेख छ । विनाप्रतिस्पर्धा स्टार स्पोर्ट्स छनोट गरिनु गैरकानूनी भएको आरोप लगाइएको छ ।
विज्ञप्तिमा उल्लेख गरिएका बुँदाहरु यसप्रकार छन्ः
१. नेपाल प्रिमियर लिग एउटा अत्यन्त व्यवसायिक राष्ट्रिय खेल प्रतियोगिता हो । यसका रोमाञ्चक खेलहरुको उत्पादन र प्रत्यक्ष प्रसारणसमेत अन्तर्राष्ट्रिय मञ्चमा पुग्नुपर्छ, त्यसमा हामी पनि सहमत छौं, तर यस्तो उद्देश्यका लागि देशको कानून उल्लङ्घन सही मान्न सकिँदैन । प्रतियोगिताका खेलहरुको उत्पादन, प्रत्यक्ष प्रसारण र बजार व्यवस्थापनको जिम्मा विनाप्रतिस्पर्धा एउटा विदेशी एजेन्सी ट्वान्टी फर्स्ट सेन्चुरीमार्फत स्टार स्पोर्ट्सलाई प्रतिखेलको १० लाख भारुमा दिने सम्झौता गरिएको जानकारी नेपाल क्रिकेट संघकाे प्रेस कन्फरेन्समार्फत जानकारी प्राप्त भएको छ ।
यसबाट नेपाल क्रिकेट संघ जस्तो सार्वजनिक संस्थाले नेपालको कानूनले अनिवार्य गरेको सार्वजनिक खरिद ऐन र खेलकुद ऐनको धारा ४४ को बुँदा नं २ (जसअनुसार कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलकुद आयोजना गर्दा, कुनै पनि अन्तर्राष्ट्रिय संस्थासँग सम्झौता गर्दा मन्त्रिपरिषद्को स्वीकृति अनिवार्य छ) लाई पूर्ण रुपमा बेवास्ता गरेको छ । र, यसबाट नेपाली उत्पादन, प्रसारण तथा बजार व्यवस्थापक संस्थाको राष्ट्रिय खेलकुद प्रतियोगता उत्पादन, प्रत्यक्ष प्रसारण र बजार व्यवस्थापन गर्ने हक र अधिकारबाट वञ्चितसमेत गरेको छ ।
नेपाली विज्ञापन एजेन्सी र नेपाली टेलिभिजन प्रसारकहरुले विश्वकप फुटबल जस्तो विश्वकै महँगो खेलकुदलाई बीसौं करोडभन्दा धेरै धनराशीका परियोजनाहरुको प्रसारण र बजार व्यवस्थापन गर्न सफल भै प्रमाणितसमेत गरिसकेका छन्, तर राष्ट्रिय रुपमा नेपालमा आयोजना हुने नेपाल प्रिमियर लिगमा नेपाली विज्ञापन एजेन्सी, कार्यक्रम उत्पादक र टेलिभिजन प्रसारकलाई किन अवमूल्यन गरियो भन्ने प्रश्नको जवाफ नेपाल क्रिकेट संघले नेपाली खेलप्रेमी र खेल जगतलाइ दिनैपर्ने हुन्छ । अन्यथा खेलमा भएको यो झेलले नेपाल क्रिकेट संघलाई कानूनी दायरामा ल्याउनेतर्फ सजक हुन अनुरोध गर्दछौं ।
२. स्टार स्पोर्ट्स नै किन ?
यदि नेपाली टेलिभिजन प्रसारकहरु यस्ता राष्ट्रिय खेलकुदको उत्पादन र प्रत्यक्ष प्रसारण गर्न सक्षम छैन भन्ने नेपाल क्रिकेट संघलाई लागेको हो भने पनि अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलमा स्टार स्पोर्ट्स नै किन ? वा अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठा कमाएको अन्य अन्तर्राष्ट्रिय च्यानललाई किन मौका दिइएन र विनाप्रतिस्पर्धा स्टार स्पोर्ट्सलाई दिनुको पछाडिको रहस्य र कारण पनि केही छ कि ? छानबिनको विषय हो कि होइन ? फेरि नेपाल क्रिकेट संघले प्रत्येक खेलको प्रत्यक्ष प्रसारणमा १० लाख दिने कुरा प्रेसमार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक खरिद ऐनले विनाप्रतिस्पर्धा भुक्तानी गर्न मिल्छ ? र विदेशी मुद्रामार्फत गरिने यस्तो भुक्तानीको लागि नेपाल राष्ट्र बैंकले विनास्वीकृति, सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसविना भुक्तान गर्न सक्छ ? वा सार्वजनिक खरिद ऐनविपरीत एउटा संस्थाको भुक्तानी अर्को विदेशी संस्थालाई गर्न मिल्ला ? यसमा विदेशी मुद्रा अपचलन आकर्षित होला कि नहोला ? वा अन्य कुनै माध्यमबाट भुक्तानी गर्ने योजना हो ? हाम्रो जिज्ञासा यतिमात्रै हो ।
हेक्का रहोस, नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग स्टार स्पोर्ट्समार्फत प्रत्यक्ष प्रसारण गर्ने उद्घोष गरिरहँदा नेपालमा अहिले स्टार स्पोर्ट्सको अधिकारिक प्रसारण बन्द रहेको अवस्थामा छ । यस्तो अवस्थामा किन, कसरी र कुन उद्देश्यले क्यान जस्तो राष्ट्रिय सार्वजनिक संस्थाले प्रसारण नै बन्देज रहेको एउटा विदेशी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने निर्णय गर्याे होला ? प्रश्नकाे जवाफमात्रै होइन, वैधानिकतामा पनि नेपाल क्रिकेट संघ चुकेको छ ।
यसरी नेपाल क्रिकेट संघले नेपाली टेलिभिजन प्रसारक विज्ञापन एजेन्सी र उत्पादन संस्थालाई अवमूल्यन गर्दै विदेशी एजेन्सी र टेलिभिजनलाई प्रसारण अधिकार विनाटेन्डर र विनाप्रतिस्पर्धामा दिँदा नेपालमा विदेशी टेलिभिजनबाट विज्ञापन प्रसारणमाथि विज्ञापनरहित नीति र नियमहरुले लगाएको बन्देजलाई कसरी नजरअन्दाज गर्याे ? जबकि एनपीएलका नेपाली प्रायोजकहरुको विज्ञापन प्रसारण गर्न यदि नेपाल क्रिकेट संघले विज्ञापनरहित नीति (क्लीन फिड) को बर्खिलाफ गर्न खोजेको हो भने यो कुनै हालतमा मान्य हुन सक्दैन । र, विज्ञापन नै प्रसारण हुन नसक्ने टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने टेलिभिजनमा कसरी नेपाली प्रायोजकहरुले आफ्नो प्रचारप्रसार गर्छन् वा यी प्रयोजनको पछाडि केही अर्कै उद्देश्य त छैन भन्ने शंका उब्जिएको छ । अन्यथा सिद्धार्थ बैंक जस्तो जनताको निक्षेप रहेको पब्लिक लिमिटेड कम्पनीले यो प्रयोजनबाट कस्तो र के प्राप्त गर्छ ? र, प्रश्न यहीमात्रै होइन, अब एनपीएलमा विज्ञापन प्रसारण गर्ने कम्पनीहरुले नेपालमा नै प्रसारण नहुने विज्ञापन कहाँ, कुन लक्षित समूहको लागि लगानी गर्ने हो ? सोचनीय विषय बनेको छ । राष्ट्रिय क्रिकेट संघले सार्वजनिक गरे जस्तो स्टार स्पोर्ट्स भारतीय च्यानलबाट प्रत्यक्ष प्रसारण गरिने सम्बन्धमा नेपालको कानूनको प्रावधानका सम्बन्धमा स्टार स्पोर्ट्सलाई वस्तुस्थितिसमेत जानकारी गराउने र कुनै पनि सामाजिक सञ्जालमार्फत विज्ञापनसहित प्रत्यक्ष प्रसारणलाई हामी नेपालको विद्यमान नियम कानूनमुताबिक मात्रै गरियोस् भन्ने हाम्रो आग्रह छ ।
अन्तमा माथिका तथ्यहरुबाट प्रश्न स्वाभाविक रुपमा उठछ, नेपालको क्रिकेटको यो राष्ट्रिय मेलाको पछाडि क्रिकेट च्याम्पियनसिपमात्रै हो कि यो खेलभित्र अर्को खेल पनि छ ? त्यसैले नेपाल क्रिकेट संघले नेपाली क्रिकेटको विकास र विस्तारमा आधिकारिक प्रक्रियामा रहेर गरोस् । अन्यथा यसबाट कानूनी र नैतिक रुपमा हुने गतिविधिको जिम्मेवारी नेपाल क्रिकेट संघ र यसका पदाधिकारीकै हो ।
नेपाल विज्ञापन संघ
अध्यक्ष, सुदीप थापा
राष्ट्रिय विज्ञापन संघ नेपाल
अध्यक्ष, धर्मेन्द्रकाजी श्रेष्ठ
मिडिया अलाइन्स
अध्यक्ष, भाष्करराज राजकर्णिकार
याे पनि पढ्नुस्: एनपीएल प्रत्यक्ष प्रसारणको डिल : महंगो स्टार स्पोर्ट्समा क्यानको दिल !