प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा लुम्बिनी प्रदेशको समग्र विकासको एजेन्डा समावेश गर्न प्रस्ताव गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री समक्ष प्रदेशको समग्र विकाससँग जोडिएका महत्त्वपूर्ण आयोजनामा लगानी सुनिश्चितसहितको विषय उठान गरिदिन अनुरोध गरेका छन् ।
भ्रमणको क्रममा राजधानी शहर निर्माणको लागि चाहिने स्रोत सुनिश्चितदेखि चीनको छेन्दुबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई उडानको विषयलाई प्राथमिकतामा राख्न विशेष जोड दिएको मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउतले जानकारी दिए ।
प्रदेशको राजधानी क्षेत्र ग्रामीण अवस्थामा रहेको छ । प्रदेश सरकारले आफ्नो प्रदेश राजधानीलाई पर्यटकीय तथा सांस्कृतिक शहरको रूपमा निर्माण गर्ने गरी त्यसको डिजाइन गरिसकेको छ । त्यसको कार्यान्वयनको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणसमेत गठन गरेको छ ।
सरकारबाट राजधानी शहर निर्माणको लागि लगानीकर्ताको खोजी गरिरहेको जानकारी दिँदै चीन भ्रमणको अवसरमा राजधानी शहर निर्माणको लागि लगानीका विषयमा विषय उठान गरिदिन अनुरोध गरिएको हो ।
‘शहर निर्माणका लागि प्रदेश सरकारको बजेटले मात्रै पुग्दैन । नीजि क्षेत्र तथा दातृ निकायको सहयोग चाहिन्छ । त्यसका लागि लगानी खोज्ने काम अघि बढेको छ । प्रधानमन्त्री ज्यूको चीन भ्रमणको एजेन्डामा प्रदेश राजधानी शहर निर्माणको एजेन्डा समावेश होस भन्ने चाहेका छौँ’मुख्यमन्त्री आचार्यले भने, ‘राजधानी शहर निर्माणको लागि एक खर्ब बजेट लाग्ने अनुमान छ । यसका लागि २० वर्षको अवधि तोकेर गुरुयोजना बनिसकेको छ । अब लगानी खोजेर काम गर्ने चरणमा छौँ ।’
यस्तै भ्रमणको क्रममा चीनको सिचुआन प्रान्तको छेन्दुबाट सिधै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई उडानको लागि पैरवी गर्ने एजेन्डा पनि प्रस्तावको रूपमा समेट्न अनुरोध गरिएको छ ।
‘लुम्बिनीमा तीर्थाटनका लागि दैनिक सयौं संख्यामा चिनियाँ तथा हजारौँ संख्यामा अन्य देशका तीर्थयात्री आउने गरेका छन् । तीर्थयात्रीको सुविधाको लागि चीनको सिचुआन प्रान्तको छेन्दुबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक सिधा हवाई उडानको पैरवी गर्नका लागि आग्रह गरेका छौँ’ मुख्यमन्त्री आचार्यले भने, ‘सिधा हवाई उडान भएको खण्डमा लुम्बिनीमा बेग्लै रौनक छाउने आशा हामीले गरेका छौँ ।’