बीआरआईबारे कांग्रेसको अडान- अनुदान भए ठीकै छ, ऋण कुनै हालतमा स्वीकार्य हुँदैन
प्रवक्ता महतको जिकिर- प्रधानमन्त्री पनि अहिले ऋण लिने पक्षमा हुनुहुन्न, सहकार्यमा समस्या छैन
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच हिजो बालुवाटारमा लामो छलफल चल्यो। दुई दलको शीर्ष नेताहरुको बैठकमा सरकारलाई प्रभावकारी बनाउनमा केन्द्रित रहेको दाबी गरे पनि प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको एजेन्डामा केन्द्रित थियो ।
प्रधानमन्त्रीको चीन भ्रमणको तयारी प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्री आरजु राणाले गरिरहेकी छन् । प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् ।
प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदा बीआरआई कार्यान्वयन योजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने भन्ने विषयमा कांग्रेससँग कुरा मिल्न सकेको छैन ।
यसअघि आफैंले सम्झौता गरेको परियोजना प्रधानमन्त्री ओली कार्यान्वयन गर्न हस्ताक्षर गर्ने प्रयासमा देखिएका छन्, तर सत्ता सहयात्री कांग्रेस बीआरआई अनुदान भए स्वीकार्ने, तर ऋणको भार नबोक्ने अडानमा स्पष्ट छ ।
बीआरआईबारे कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भने, ‘यो अनुदान भए ठीकै छ हामीले भनेका छौं । अनुदान पनि धेरै वर्षदेखि कार्यान्वयन भएको छैन । अहिले ऋण केका लागि लिने ? त्यसको तयारी हुनुपर्यो । त्यसको प्रतिफल आउने ठाउँ हुनुपर्यो । आवश्यक नै नभएको बेलामा अरुले दिन्छु भन्दैमा ऋण कसैले लिँदैन, लिनुहुँदैन ।’
चीनले विगतमा प्रतिबद्धता जनाएअनुसारको अनुदान कार्यान्वयन नगरेको भन्दै बीआरआईअन्तर्गत त्यही अनुदान दिए हुन्छ भन्ने कांग्रेसको बुझाइ रहेको उनले सुनाए ।
बीआरआईको विषयमा प्रधानमन्त्रीको भ्रमणअघि नै कांग्रेस एमालेबीच साझा धारणा बनिसक्छ त भन्ने जिज्ञासामा उनले भने, ‘अहिलेको साझा धारणा नै यही हो । अहिले ऋण लिनुपर्छ भन्नेमा उहाँहरु पनि हुनुहुन्न । प्रधानमन्त्री पनि ।’
बीआरआईको विषयलाई लिएर कांग्रेस-एमालेबीच खटपट भएको बजार हल्लामा कुनै सत्यता नभएको प्रवक्ता महतले दाबी गरे ।
उनले थपे, ‘कांग्रेस-एमालेबीच असन्तुष्टि बढेको होइन, यो अफवाहमात्रै हो । उहाँहरु पनि अहिले ऋण लिने पक्षमा हुनुहुन्न । अहिले चीनसँग मात्रै होइन, कुनै देशसँग पनि हामी ऋणमा जाने काम गर्नुहुँदैन । अहिले ऋणको भार देशलाई धेरै भइसकेको छ । ऋणको साँवाब्याज तिर्ने क्षमता पनि घट्दैछ । पोखरा विमानस्थलको पनि १२ अर्ब भनेको २४ अर्ब पुग्यो । आम्दानी केही हुँदैन । त्यसैले अहिले ऋण लिने कुरै छैन ।’
कि काँग्रेसले अब आईन्दा कुनै पनि देश र संस्थासँग ऋण नलिने भनेर कसम खानुपर्यो ।होईन भने ऋण लिए पनि सहुलियत दरमा लिन कोसिस गर्नुपर्छ भन्ने तिर नलागेर चीनको ऋणचाहि लिनै हुन्न भन्नु, भारत अमेरिकाको भए हुन्छ भन्नू सिधै भारतको एजेण्ट बनेको प्रमाणित हुन्छ । यो पार्टी नेपालमा विकास गर्न बनेकै होईन ।नेपाल लुटन र भारतको टट्टु बन्न खोलिएको पार्टी हो । प्रचण्ड माओवादी एक नम्बर र काँग्रेस दुई नम्बर भारतीय टट्टु हुन् । यस्ता देश बेचुवाको के पछि लाग्नु ? ईमान जमान नभएका देश बेचुवाहरू । सधै भारतको गुलाम भएर बाँच्न चाहने ।