६ अर्बको लगानीमा विमानस्थलको हवाई इन्धन डिपो स्थानान्तरण गरिने – Nepal Press

६ अर्बको लगानीमा विमानस्थलको हवाई इन्धन डिपो स्थानान्तरण गरिने

काठमाडौं । त्रिभुवन विमानस्थलमा भएको हवाई इन्धन डिपो स्थानान्तरण हुने भएको छ । अहिले भएको ठाउँबाट डिपोलाई स्थानान्तरण गर्न लागिएको हो । आज हवाई इन्धन डिपो सिनामंगलले पत्रकार सम्मेलन गरेर डिपो सार्ने बताएको हो ।

अहिलेको स्थानमा अवस्थित डिपोको कारण स्थानीय बासिन्दाका साथै हवाई उड्डयन क्षेत्र समेत जोखिममा रहेको अवस्थालाई मध्यनजर डिपो सार्न लागिएको हो । २०८१ साउन २८ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले एक वर्ष भित्र हवाइ इन्धन डिपो सुरक्षित र सुविधायुक्त स्थानमा सार्न समेत निर्देशन दिइसकेको छ ।

विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्श नजिकै नयाँ डिपो बन्ने छ । नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने गुह्येश्वरीमा ५० रोपनी जग्गामा डिपो सार्ने निर्णय भएको छ ।

करिब ५० वर्ष पुरानो सिनामंगल हवाई इन्धन डिपोको भण्डारण क्षमता सात हजार ६ सय ६० किलोलिटर छ । हाल दैनिक चार सय किलोलिटर हवाइ इन्धन बिक्री वितरण हुँदै आएको छ । यो डिपोमा १ हजार ६ सय किलोलिटरका तीन वटा, ७ सय ६० किलोलिटरका ३ वटा र ७० किलोलिटर क्षमताका ८ वटा इन्धन भण्डारण ट्यांकी रहेका छन् ।

हाल प्रस्तावित गुह्येश्वरी तर्फको जग्गामा निर्माण हुने डिपोमा ३ हजार किलोलिटर क्षमताका ५ वटा भण्डारण ट्यांक बन्ने छ । अत्याधुनिक प्रविधिसहितको नयाँ डिपोको बिस्तृत संभाव्यता अध्ययन गर्न इन्जिनियरिङ अध्ययन संस्थान (कन्सल्टेन्सी सेवा) पुल्चोकसँग आज सम्झौता भएको छ ।

नयाँ डिपो निर्माणका लागि डीपीआर बनाउन दुई संस्थाबीच एक करोड ९८ लाख ८४ हजार १ सय ८३ रुपैयाँ ७३ पैसामा सम्झौता भएको छ । भने डिपो निर्माणका लागि ६ अर्ब लाग्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर