जुवा हारेका डाक्टर जब असुली धन्दामा लाग्छन्…
काठमाडौं । जुवा खेल्न अमेरिका गएका डाक्टर हारेर फर्किए । फर्किएपछि विभिन्न ठाउँमा काम त गरे, तर हारेको पैसा उठेन । त्यसपछि शुरु गरे असुली धन्दा । परिचय बनाए, अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्टको ।
आखिर आपराधिक धन्दा कति नै चल्थ्यो र, उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीद्वारा बुधबार पक्राउ परे ।
यसरी जुवा खेलेर हारेको पैसा उठाउन आपराधिक बाटोको सहारा लिने डाक्टर हुन्, भोजपुर स्थायी घर भएका ३२ वर्षीय आशिष दाहाल । उनले अमेरिकामा जुवा खेलेर हारेको पैसा तिर्न काठमाडौंमा आपराधिक बाटोको सहारा लिएपछि अहिले प्रहरीको फन्दामा परेका हुन् ।
दाहालले शिक्षण अस्पताल महाराजगञ्जबाट सन् २०१७ मा चिकित्सा सेवातर्फ एमबीबीएस उत्तीर्ण गरेका थिए । एमबीबीएस उत्तीर्ण गरेलगत्तै उनी सन् २०१७ मै अमेरिका हानिए । अमेरिका पुगिसकेपछि उनले त्यहाँ क्यासिनोमा जुवा खलेरे ४० लाख हारे । जुवा खेलेर हारेको पैसा तिर्न नसकेपछि उनी नेपाल फर्किएर लागेको ऋण तिर्न आपराधिक बाटो समाए । उनले अझै पनि अमेरिकामा जुवा खेलेर हारेको १५ लाख रुपैयाँ तिर्न बाँकी नै छ ।
उनले नेपाल फर्किसकेपछि शिक्षण अस्पतालमा केही समय करार सेवामा पनि काम गरे । त्यहाँ काम गर्दैगर्दा उनले केही निजी अस्पतालमा पनि काम गर्दै आएका थिए । जुवामा हारेको पैसा तिर्न उनले असुली धन्दा चलाउन थाले । त्यस क्रममा बाटोमा विभिन्न व्यापार व्यवसायका होडिङ बोर्डमा अंकित नाम र नम्बर नोट गर्दै हिँडे । अनि एकान्तमा गएर ती व्यवसायीलाई धम्काउन थाल्थे । उनले आफूलाई अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्टको परिचय दिन्थे ।
भन्थे, ‘बिहारबाट कन्ट्रयाक्ट किलर भाडामा ल्याउँछु, तपाईंको ज्यानसमेत जानसक्छ ।’
उनले हाताहाती नगद कारोबार हुने व्यवसायीलाई लक्षित गर्थे, त्यस क्रममा सानदार मःमसहित विभिन्न साइकल पसल, सुन पसलका सञ्चाकलाई धम्काउने गरेका थिए । ‘केही दिनदेखि पीडितहरु आइरहनुभएको थियो, अनुसन्धान गर्दा उनका धन्दाहरु खुल्दै गएका छन्’, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले भने ।
उनले ५० हजारदेखि २ लाख रुपैयाँसम्म उठाउने गरेको एसएसपी भट्टराईको भनाइ छ । उनले १९ जनालाई धम्की दिएको भन्दै कार्यालयमा उजुरी परेको थियो ।
भोजपुरको भोजपुर नगरपालिका- ११ स्थायी घर भई ललितपुरको ग्वार्को सानागाउँमा बस्ने ३२ वर्षका डा. दाहाल काठमाडौंको शंखमूलबाट पक्राउ परेका हुन् । उनलाई कानूनी कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकाली चलान गरिएको एसएसपी भट्टराईले बताए ।