उपनिर्वाचन : कांग्रेसका दुई जिसस प्रमुख र माओवादीका एक वडाध्यक्ष निर्विरोध, ३७६ लाई चिन्ह प्रदान – Nepal Press

उपनिर्वाचन : कांग्रेसका दुई जिसस प्रमुख र माओवादीका एक वडाध्यक्ष निर्विरोध, ३७६ लाई चिन्ह प्रदान

काठमाडौं । मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनमा ३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार २ जिल्ला समन्वय समिति र एउटा वडा अध्यक्षसहित ३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्ला समन्वय समिति ओखलढुंगामा नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका आयोगका सहसचिव एवम प्रवक्ता निता पोखरेलले जानकारी दिइन् । उनका अनुसार रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मदेवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

आयोगका अनुसार जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडा अध्यक्षको रिक्त ४४ पदमा विभिन् राजनीतिक दलबाट २८९ र स्वतन्त्रबाट १२१ जना गरेर ४१० जनाको उम्मेदवारी दर्ता भएकोमा ३१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

आयोगका अनुसार निर्विरोध निर्वाचित भएका ३ स्थान बाहेक ४१ स्थानमा विभिन्न पदमा २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरेर ३७६ जना उम्मेदवारलाई सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिन्ह पनि प्रदान गरेको छ ।

स्थानीय तहको उपनिर्वाचनका लागि दर्ता भएका २५ राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले), नेपाली काँग्रेस (विपी), नेपाली जनता दल र आम जनता पार्टी सहित ५ वटा राजनीतिक दलले कुनै पनि रिक्त पदका लागि उम्मेदवारी दर्ता गरेनन् ।

निर्वाचन कार्यक्रम अनुसार मंसिर ६ अर्थात बिहीबारदेखि मंसिर १३ गते राति १२ बजेसम्म उम्मेदवारले प्रचारप्रसार गर्न पाउनेछन् । मंसिर १३ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध अवधि तोकिएको छ ।

निर्वाचन आयोगबबाट निर्वाचन आचारसंहिता मंसिर २ गतेदेखि जारी भइसकेकाले उक्त आचारसंहितको अक्षरसः पालना गरी निर्वाचन प्रचारप्रसारको कार्य गर्न गराउन सम्बन्धित सबै राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन सरोकारवालालाई आयोगले अनुरोध गरेको छ । साथै आयोगले मंसिर १६ गते सम्बन्धित मतदान केन्द्रमा पुगेर आफ्नो मतधिकार प्रयोग गर्न पनि सबैलाई अपिल गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर