पूरक जाहेरी दिन लगाएर साहारा चितवनकाे घाेटालामा पनि रविमाथि अनुसन्धान – Nepal Press

पूरक जाहेरी दिन लगाएर साहारा चितवनकाे घाेटालामा पनि रविमाथि अनुसन्धान

चितवन । साहारा चितवनको ३७ करोड ६५ लाखभन्दा बढी रकमको हिनामिनामा संलग्न भएको आरोपमा अन्ततः कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तानिएका छन् ।

आज जिल्ला प्रहरी कार्यालय चितवनमा रवि लामिछानेसहित १० जनाविरुद्ध किटानी जाहेरी दर्ता भएपछि लामिछाने चितवनमा पनि अनुसन्धानको दायरामा तानिएका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले गत असोज ९ गते नै साहारा चितवनबाट रकम हिनामिना गरेको अभियोगमा जीबी राईसहित १७ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ ।

प्रहरीले अनुसन्धानका क्रममा साहारा सहकारीबाट रकम गएका पाँच कम्पनीको नाम उल्लेख छ । ती पाँच कम्पनीमा गोर्खा मिडिया, नेचर हर्ब्स इन्टरनेसनल प्रालि, जीबी ग्रुप अफ कम्पनी, नेचर नेष्ट प्रालि र प्रिङ उड रियल स्टेट हाउजिङ प्रालि रहेका छन् ।

ती पाँच कम्पनीमा सहकारीबाट रकम गएको उक्त संस्थाको वित्तीय अभिलेखमा उल्लेख गरिएको थियो । तर, सहकारीको विवरण र ती कम्पनीमा गएको भनिएको रकमको अभिलेख नमिलेपछि सञ्चालक, पदाधिकारीसमेत माथि थप अनुसन्धान भइरहेको थियो ।

सो समयमा गोर्खा मिडियामा लामिछाने पदाधिकारी भएका कारण उनलाई पनि अनुसन्धानमा तानिएको हो । ती संस्थामा आवद्ध माथिल्लो तहका व्यक्तिहरुमाथि सम्पत्ति शुद्धीकरणसहितको अनुसन्धान चितवन प्रहरीले थालेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार ति कम्पनीका सञ्चालक तहमा भएका रवि लामिछानेसहित १० जना विरुद्द आज पुरक किटानी जाहेरी आएको हो । उनले अन्य व्यक्तिहरुको नाम भने अनुसन्धानको क्रममा रहेकोले खुलाउन नमिल्ने बताए । चितवन प्रहरीमा २२ जना पीडितहरुले जाहेरी दर्ता गरेका हुन् ।

प्रहरी प्रमुख मिश्रले पीडितहरुले आफैं जाहेरी ल्याएको दाबी गरे पनि यसअघि प्रहरीकै अनुसन्धानका क्रममा रवि लामिछानेसहति १० जना थप व्यक्तिहरुको रकम हिनामिनामा हात रहेको पूरक अनुसन्धानबाट खुलेपछि प्रहरीकै अनुरोधमा पूरक जाहेरी दर्ता गरिएको बुझिएको छ ।

यसअघि अदालतमा पेश गरिएको अभियोपत्रमा संलग्न गरिएको प्रहरीले तयार गरेको अनुसन्धान प्रतिवेदनअनुसार सहकारीको वित्तीय अभिलेखले ४३ करोड १४ लाख ४९ हजार ९२९ रुपैयाँ ५० पैसा रकम सहकारीबाट पाँच वटा कम्पनीमा गएको देखिएको थियो ।

तर, बैंकिङ प्रणालीबाट गएको भौचरका आधारमा हेर्दा जम्मा १८ करोड ४१ लाख ३२ हजार रुपैयाँमात्रै ती पाँच कम्पनीमा गएको प्रहरीले भेट्टाएको छ । २४ करोड ७३ लाख १७ हजार ९२९ रुपैयाँ ५० पैसा कहाँ गयो, कुनै अभिलेखमा भेटिएको छैन । सोही रकमको खोजी गर्ने क्रममा प्रहरी अनुसन्धानबाट थप व्यक्तिहरु अनुसन्धानमा तानिने भएकोले किटानी जाहेरी दर्ता गरिएको बुझिएको छ ।

त्यतिमात्रै नभएर अन्य कम्पनी र व्यक्तिसहित गरेर साहारा सहकारीबाट करिब ३४ करोड बराबरको रकमको बैंकिङ प्रणालीमा कतै पनि अभिलेख नभएको पाइएको छ । प्रहरीको अनुसन्धानमा ति रकमको पूरा विवरण नआएको अभियोगमा उल्लेख गर्दै प्रहरीलाई जिल्ला सरकारी वकिलको कार्यालयले पूरक अनुसन्धानको लागि निर्देशन दिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयको सोही निर्देशनअनुसार अनुसन्धान गरिरहेको चितवन प्रहरीमा आज जाहेरी दर्ता भएको हो । जिल्ला प्रहरी प्रमुख एसपी मिश्रले किटानी जाहेरी परेका व्यक्तिहरुमाथि थप पूरक अनुसन्धान अघि बढाइने पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर