महोत्तरीको पिपरामा शिवलिङ तोडफोड, विरोधमा जनकपुर-जलेश्वर सडक अवरुद्ध
जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकास्थित शिव मन्दिरभित्र रहेको शिवलिङ अज्ञात व्यक्तिले तोडफोड गरेको विरोधमा स्थानीय हिन्दूहरु आन्दोलित बनेका छन् ।
शिवलिङ तोडफोड गरेको विरोधमा हजारौँ स्थानीय युवा सडकमा टायर बालेर प्रदर्शन गर्न थालेका हुन् । उनीहरूको आन्दोलनको कारण बिहान करिब १० बजेदेखि नै जनकपुर–जलेश्वर सडक अवरुद्ध छ । केहि सवारी साधनमा तोडफोडको प्रयास समेत भएको छ ।
आन्दोलन स्थलमा अहिले प्रहरी निरीक्षक विशाल सिंहको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् । सडक खुलाउने उनको प्रयास असफल भएको छ । स्थानीय युवाहरू आक्रोशित बनेकाले अवस्था तनावग्रस्त देखिन्छ ।
पिपरामा रहेको शिव मन्दिरमा गएराति शिवलिङ्ग तोडफोड भएको स्थानीयको भनाई छ । तोडफोड गर्नेको पहिचान खुल्न सकेको छैन । घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने स्थानीको माग छ ।
महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तु जयसवालले मन्दिरभित्र तोडफोड गरेको विरोधमा स्थानीयले सडक अवरुद्ध पारेको र सहमतिको प्रयासमा आफूहरू लागेको जानकारी दिए ।