राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओका लागि पुनः आवेदन खुल्यो, यसअघिका सबै आवेदक ‘फेल’
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि पुनः आवेदन मागेको छ । यसअघि आवेदन परेका सबै जना अयोग्य भएपछि कम्पनीले बिहीबार फेरि दरखास्त आह्वान गरेको हो ।
कम्पनीले यसअघि दरखास्त आह्वान गर्दा चार जनाको आवेदन परेको थियो । कुल पूर्णाङ्कको ६० प्रतिशत अंक प्राप्त गर्न नसक्दा उनीहरू ‘फेल’ भएका थिए ।
सीईओका लागि दरखास्त दिने उम्मेदवारहरूले पेश गरेका शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्य योजनाको मूल्यांकनमा शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्य योजनाको कुल पूर्णाङ्क ५५ को ६० प्रतिशतले हुन आउने अंक प्राप्त गर्ने उम्मेदवारलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार कुनैपनि उम्मेदवारहरूले कुल पूर्णाङ्क प्राप्त गर्न नसकेको सीईओ छनौट तथा सिफारिस समितिले जनाएको छ ।
यसअघिका उम्मेदवार सबै ‘फेल’ भएपछि कम्पनीले सीईओमा खुला प्रतियोगिताद्धारा पदपूर्ति गर्नेगरि आवेदन माग गरेको छ । इच्छुक नेपाली नागरिकहरूले २१ दिनभित्र कम्पनीको कार्यालय रामशाह पथ काठमाडौंमा दरखास्त दिन सक्नेछन् ।
शैक्षिक योग्यता, अनुभव, सम्पर्क ठेगाना खुलेको विस्तृत वैयक्तिक विवरण, उम्मेदवार आफैँले प्रमाणित गरेको नेपाली नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र, तालिम तथा अनुभवको कागजातको प्रतिलिपि, पाँच हजार शब्दमा नबढ्ने गरी तयार गरिएको कम्पनीको व्यावसायिक कार्ययोजना चार प्रति आवेदकले खुलाउनु पर्नेछ ।
व्यावसायिक कार्ययोजनामा समावेश हुने विषय, छनोटको आधार तथा प्रक्रिया सम्बन्धी विस्तृत विवरण र दरखास्त फाराम कम्पनीको वेबसाइटमा प्रकाशित राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत छनोट तथा सिफारिस कार्यविधि, २०८१ अनुसार हुनेछ । दरखास्त पेश गर्दा “राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि व्यावसायिक कार्ययोजना” भन्ने उल्लेख गरेको सिलबन्दी खाम संलग्न हुनुपर्नेछ ।
झुठ्ठा विवरण र कागजात संलग्न गरी दरखास्त दिएमा दरखास्त रद्द गरी प्रचलित कानुन बमोजिम कारबाही हुनेछ । दरखास्त फारामसाथ उम्मेदवारले पेश गरेका शैक्षिक योग्यता र अनुभवका कागजातको चेक लिस्ट स्वयंले प्रमाणित गरी पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।