पहिरोमा ज्यान गुमाएका खेलाडीका परिवारद्वारा एन्फा कम्प्लेक्समा धर्ना, प्रहरीसँग धकेलाधकेल (भिडिओ) – Nepal Press

पहिरोमा ज्यान गुमाएका खेलाडीका परिवारद्वारा एन्फा कम्प्लेक्समा धर्ना, प्रहरीसँग धकेलाधकेल (भिडिओ)

काठमाडौं । सिस्नेरीको पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका बालकहरूको परिवार तथा आफन्तजनले आज एन्फा कम्प्लेक्समा धर्ना दिएका छन् । ६ जना बालकहरूको ज्यान गएको उक्त घटनाबारे सरकारले छानबिन समिति बनाउनुपर्ने उनीहरूको मुख्य माग छ ।

एन्फाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ स्थिति वत्सला माविमा ४० जना बालकहरूलाई फुटबल प्रशिक्षणका लागि क्याम्पमा राखेको थियो । दुई महिना अगाडि देशभर बाढी पहिरो आउँदा कुलेखानीको बाँध फुट्न सक्नेभन्दै त्यहाँबाट केही बालकहरू सुरक्षित स्थानतर्फ भागेका थिए । तर, बाटोमा उनीहरूलाई पहिरोले पुरेको थियो ।

घटनामा हेटौँडाका अनुपम घलान, बाराको निजगढका विकल रेग्मी, सिस्नेरीका दिवस बानियाँ, काठमाडौंका प्रियान्स आचार्य, सर्लाहीका आदित्य बलमपाकी र साइमन योन्जनको मृत्यु भएको थियो ।

मृतकका परिवारले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्दै संघर्षरत छन् । उनीहरुले प्रधानमन्त्री र विपक्षी दलका नेतालाई समेत ज्ञापन पत्र दिएका थिए । तर, हालसम्म पनि सुनवाइ नभएको भन्दै उनीहरुले आज एन्फा कम्प्लेक्समा धर्ना दिएका हुन् ।

धर्नाका क्रममा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर धकेलाधकेल भएको थियो । केही अभिभावकलाई प्रहरीले लछारपछारसमेत गरेका थिए । पीडितहरू भित्र पस्न खोज्दा प्रहरीले गेटमा रोकेका छन् ।

एन्फाले पीडित परिवारलाई ८ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । तर, पीडितहरूले आर्थिक सहायताभन्दा पनि घटनाको यथार्थ बाहिर ल्याएर दोषीलाई कारबाही हुनुपर्ने बताइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर