एनपीएल : कस्ता छन् ८ टोलीका मुख्य प्रशिक्षक ? – Nepal Press

एनपीएल : कस्ता छन् ८ टोलीका मुख्य प्रशिक्षक ?

पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १५ गतेदेखि हुँदैछ । पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा ८ फेन्चाइज टोलीले सहभागिता जनाएका छन् । अक्सनमार्फत १० खेलाडी खरिद गरेको टोलीले विदेशी प्रशिक्षक र खेलाडीहरू भित्राइरहेका छन् ।

हालसम्म सबै टोलीले मुख्य प्रशिक्षक नियुक्त गरिसकेका छन् । एनपीएलका लागि ३ टोलीले नेपालका प्रशिक्षक रोज्दा ५ टोलीले विदेशी प्रशिक्षकलाई मुख्य प्रशिक्षकको रूपमा भित्राएका छन् । आइपिएलमा प्रशिक्षण गराएको अनुभव भएका राजिव कुमारदेखि नेपाललाई उमेर समूहमा ३ पटक विश्वकप खेलाइसकेका जगत टमाटा एनपिएलमा मुख्य प्रशिक्षकको रूपमा छन् ।

राजीव कुमार (भारत), पोखरा एभेन्जर्स

भारतीय प्रशिक्षक राजीव कुमार पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक हुन् । इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सको फिल्डिङ र ब्याटिङ प्रशिक्षकको भूमिका निर्वाह समेत गरिसकेका कुमारलाई पोखराले एनपिएलका लागि अनुबन्ध गरेको हो । उनले सन् १९९४ देखि २०१० सम्म बिहार र झारखंडबाट भारतीय प्रथम श्रेणीको क्रिकेट खेलेका थिए ।े पोखरामै आएर उनले टोलीलाई प्रशिक्षण दिन थालिसकेका छन् ।

नेपाल टी—२० प्रालिको स्वामित्वमा रहेको पोखरा एभेन्जर्सको मार्की प्लेयर नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल छन् । पोखराले मेन्टरको रूपमा दक्षिण अफ्रिकाका लेजेन्ड जोन्टी रोड्सलाई भित्राएको छ । विश्वकै उत्कृष्ट फिल्डरको रूपमा चिनिने जोन्टीले पाकिस्तान, श्रीलंकाको राष्ट्रिय टोलीदेखि आइपिएलमा मुम्बई इन्डियन्सको फिल्डिङ प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।

पुबुदु दासानायके (क्यानडा), जनकपुर बोल्ट्स

एनपीएलका लागि जनकपुर बोल्ट्समा अनुबन्ध भएका प्रशिक्षक पुबुदु दसानायकले यसअघि नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालिसकेका छन् । श्रीलंकाका पूर्व खेलाडीसमेत रहेका पुबुदुले दुई पटक नेपालको मुख्य प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका छन् । उनले पहिलो पटक २०११ देखि २०१५ र दोस्रो पटक २०२१ देखि २०२२ सम्म नेपालको मुख्य प्रशिक्षकको रूपमा काम गरेका हुन् । उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आइसीसी टी–२० विश्वकप खेलेको थियो । केही समय अघि मात्रै अमेरिकामा भएको लिग–२ को सिरिजमा उनी नेपालको मेन्टरको रूपमा काम गरेका थिए ।

नेपाली क्रिकेट नजिकबाट बुझेका पुबुदुलाई जनकपुरले मुख्य प्रशिक्षक बनाएको हो । जनकपुरको मार्की प्लेयर राष्ट्रिय टोलीका विकेटकिपर ब्याटर आसिफ शेख छन् ।

उमेश पटवाल (भारत), चितवन राइनोज

भारतीय प्रशिक्षक उमेश पटवालसँग पनि नेपाली राष्ट्रिय टीम सम्हालेको अनुभव छ । सन् २०१९ मा नेपाली टोलीको जिम्मेवारी सम्हालेका पटवाललाई चितवन राइनोजले एनपीएलका लागि मुख्य प्रशिक्षण नियुक्त गरेको हो । भारतको घरेलु क्रिकेटमा कुशल प्रशिक्षकको रूपमा चिनिएका पटवालसँग अफगानिस्तान टोलीको ब्याटिङ प्रशिक्षकको रूपमा काम गरेको अनुभव छ । अफगानिस्तानले सन् २०१४ मा टी–२० विश्वकप र एसिया कप खेल्दा पटवाल ब्याटिङ प्रशिक्षक थिए ।

उनको आगमनसँगै ब्याटिङ सुधार र खेलाडीको आत्मविश्वास बढ्ने विश्वास छ । चितवनको मार्की प्लेयरको रूपमा कुशल मल्ल छन् । पटवालले नेपालमै भएको एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोजको मुख्य प्रशिक्षकको रूपमा काम गरेका थिए । उनले भारतका घरेलु स्तरका विभिन्न क्लब तथा टिमहरुलाई प्रशिक्षण दिइसकेका छन् ।

नन्दन फडनिस (भारत), लुम्बिनी लायन्स

एनपिएलमा अनुबन्ध हुने तेस्रो भारतीय प्रशिक्षक हुन्, नन्दन फडनिस । नेपाली राष्ट्रिय टोलीका सल्लाहकार प्रशिक्षकसमेत रहेका नन्दनलाई लुम्बिनी लायन्सले मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

नन्दनले सन् १९८६ देखि १९९२ सम्म भारतको लिस्ट ए क्रिकेट खेलेका थिए । उनले भारतको गोवा क्रिकेट संघ र राष्ट्रिय क्रिकेट एकेडेमीमा समेत प्रशिक्षण गराएका छन् ।

लुम्बिनीले नेपाली यु–१९ क्रिकेट टोलीका मुख्य प्रशिक्षक शक्ति गौचनलाई कन्सलट्यान्ट प्रशिक्षक नियुक्त गरेको छन् । लुम्बिनीको मार्की प्लेयर राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल छन् ।

जगत टमाटा (नेपाल), सुदूरपश्चिम रोयल्स

एनपीएलका ३ स्वदेशी मुख्य प्रशिक्षकमध्ये एक हुन्, जगत टमाटा । नेपालका सर्वाधिक सफल प्रशिक्षक टमाटालाई सुदूरपश्चिम रोयल्सले एनपीएलका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ । टमाटासँग पुरुष, महिला सिनियर टोलीदेखि उमेर समूहमा प्रशिक्षण गराएको अनुभव छ । उनकै प्रशिक्षणमा नेपालले उमेर समूहमा ३ पटक विश्वकप खेलिसकेको छ । नेपाली सिनियर टोलीले सन् २०१८ मा ओडिआई मान्यता जोगाउँदा प्रशिक्षण टमाटाले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

सन् २०१२, २०१६ र २०२४ मा नेपालले उनैकै प्रशिक्षणमा यु–१९ विश्वकप खेलेको थियो । नेपाली क्रिकेटसँग कहिनकतै जोडिरहने टमाटालाई सुदूरपश्चिमले मुख्य प्रशिक्षक बनाएको हो । उनी अहिले सिनियर टोलीको कन्सलट्यान्ट प्रशिक्षकको रूपमा काम गरिरहेका छन् । सुदूरपश्चिमको मार्की प्लेयरको रूपमा राष्ट्रिय टोलीका स्टार दीपेन्द्रसिंह ऐरी छन् ।

केभिन ओ’ब्रायन (आयरल्यान्ड), विराटनगर किंग्स

२ वर्षअघि काठमाडौं किंग्सबाट एभरेष्ट प्रिमियर लिग खेलेका आयरल्यान्डका क्रिकेटर केभिन ओ’ब्रायन यसपालि एनपीएलका लागि प्रशिक्षकको रूपमा भित्रिएका छन् । उनलाई विराटनगर किंग्सले मुख्य प्रशिक्षकको रूपमा एनपीएलमा भित्राएको हो ।

सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएर उनी प्रशिक्षणमा प्रवेश गरेका थिए । संन्यासपछि उनी युवाहरूलाई मार्ग दर्शन र आयरल्यान्ड क्रिकेटको विकासमा योगदान दिइराखेका छन् । उनले सन् २०११ मा भएको विश्वकप क्रिकेटसमा इग्ल्यान्डविरुद्ध ५० बलमा शतक पूरा गर्दै ऐतिहासिक जित निकालेका थिए ।

उनले सन् २००६ देखि २०२१ सम्म आयरल्यान्डको राष्ट्रिय टोलीबाट खेलेका हुन् । उनको आगमनले विराटनगरलाई थप उचाइमा पुर्‍याउने विश्वास छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने विराटनगरका मार्की खेलाडी हुन् ।

वसन्त शाही (नेपाल), काठमाडौं गुर्खाज

नेपाली क्रिकेटका पहिलो पुस्ताका खेलाडी वसन्त शाहीलाई काठमाडौं गुर्खाजले एनपीएलका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ । यसअघि उमेर समूहमा प्रशिक्षण गराएका वसन्तलाई एनपीएलमा फेन्चाइज टोलीको जिम्मेवारी प्रदान गरिएको हो । वसन्त नेपालले सन् १९९६ मा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दा महत्त्वपूर्ण सदस्य थिए । नेपालले पहिलो खेल एसीसी ट्रफीमा बंगलादेशविरुद्ध खेलको थियो ।

वसन्तले सन् २०२१ मा एसीसी यु–१९ एसिया कपका लागि नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका थिए । २०२४ मा भएको आइसीसी टी–२० विश्वकपको तयारीका क्रममा पनि वसन्त सहायक प्रशिक्षकको जिम्मेवारीमा थिए । उनले प्रशिक्षणको यात्रा लुम्बिनी प्रदेशबाट गरेका थिए । राष्ट्रिय टिमका महत्त्वपूर्ण सदस्य बलर करण केसी काठमाडौंका मार्की प्लेयर हुन् ।

ज्ञानेन्द्र मल्ल (नेपाल), कर्णाली याक्स

खेल जीवनबाट संन्यास लिएका ज्ञानेन्द्र मल्ल अहिले प्रशिक्षण छन् । प्रशिक्षणमा लागेको छोटो समयमै ज्ञानेन्द्रले एनपीएलमा कर्णाली याक्सको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् । नेपाल ‘ए’ को मुख्य प्रशिक्षकसमेत रहेका मल्ललाई कर्णालीले मुख्य प्रशिक्षकसँगै क्रिकेट डिरेक्टर नियुक्त गरेको हो । उनले गत फागुनदेखि नेपाल ए टिममा मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

एकेडेमीमा नियमित सिकाइरहेका ज्ञानेन्द्रले प्रशिक्षणमा पाएका अवसरलाई उचित सदुपयोग गरिरहेका छन् । प्रशिक्षणमा लागेको छोटो समयमै ज्ञानेन्द्रले राम्रो छाप छोड्न सफल भएका छन् । पूर्व कप्तानसमेत रहेका ज्ञानेन्द्रले भारतीय क्रिकेटर शिखर धवनलाई समेत प्रशिक्षण गराउने अवसर पाउनेछन् । कर्णालीको मार्की प्लेयरको रूपमा नेपाली राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य सोमपाल कामी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *