भोलि दरबारमार्गमा एमालेको शक्ति प्रदर्शन, के छ तयारी ? – Nepal Press

भोलि दरबारमार्गमा एमालेको शक्ति प्रदर्शन, के छ तयारी ?

काठमाडौं । सत्तारुढ नेकपा एमालेले भोलि काठमाडौंमा जागरण सभामार्फत् ‘शक्ति प्रदर्शन’ गर्दैछ ।

देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निरासा छर्न खोजेको ठहरसहित सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ ।

बुधबार अपरान्ह सम्पादहरूसँग समसामयिक राजनीतिक विषयमा गरिएको अन्तरक्रियामा उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्र असान्दर्भिक भयो कि भन्नेका विरुद्ध जागरण अभियान भएको बताए । देश बन्दैछ, हामी बनाउँछौं भन्ने सन्देश जनतालाई दिनुपर्ने सरकारमा हुने दलहरूको जिम्मेवारी भएको उनको भनाइ छ ।

‘हामीले सामाजिक सद्भावका लागि पनि जागरण अभियान चलाउन लागेका हौँ । यो अपील जनतामा लैजान खोजेको हो,’ उनले भने, ‘अहिलेको सरकारले जनतलाई सेवा दिने कुरामा कमजोरी गर्नुहुन्न । तर, अहिले केही भएको छैन भनेर बाहिर जे भाष्य निर्माण गर्न खोजिएको छ त्यसले देशको मनोवल कमजोर बनाउने प्रयास भएको छ । राष्ट्रको मनोबल कमजोर हुनु भनेको राजनीतिक दलमात्रै होइन सञ्चार क्षेत्र पनि कमजोर बन्नु हो ।’

कस्तो छ तयारी ?

एमालेले जागरण सभामा कार्यकर्ता र समर्थक गरी एक लाख उतार्ने लक्ष्य लिएको छ । जागरणसभाका संयोजक स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले उपत्यकाको ३ जिल्ला, जनसंगठन, सम्पर्क कमिटीसहितको उपस्थिति हुने भएकाले त्यति संख्या पुर्‍याउने दाबी गरे ।

यद्यपि, भट्टराई आईसीएपीपीको अधिवेशनमा सहभागी हुन कम्बोडिया उडेपछि अहिले बागमती अध्यक्ष कैलाश ढुंगेललाई उक्त जिम्मेवारी दिइएको छ ।

बुधबारको पत्रकार सम्मेलनमा भट्टराईले भृकुटीमण्डपमा तय गरिएको जागरण सभा ठाउँ सानो भएकोले दरबारमार्गमा गर्ने निर्णय गरिएको सुनाए । भद्रकालीबाट सुरू हुने जुलुस, न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क घुमेर दरबारमार्गको सडकमा सभामा परिणत हुने उनले बताए ।

जुलुस र सहभागिता बढ्ने देखिएकाले पूर्वनिर्धारित स्थल भृकुटीमण्डपमा ट्राफिक व्यवस्थापनमा समस्या र सर्वसाधारणलाई मर्का पर्ने देखिएकाले फराकिलो र एउटा सडकमात्र प्रभावित हुने ठाउँ खोजिएको एमालेले जनाएको छ ।

उनले भने, ‘जुलुस अलि ठूलो हुने स्थिति भएकाले सबै एकैठाउँमा जम्मा हुँदैन । हाम्राे आँकलन त झन्डै एक लाख पुर्‍याउने भन्ने छ । एमालेजतिको पार्टीले गरेपछि अलि ठूलै जनसंख्या उतार्नुप‍र्‍यो । उपत्यकाको ३ जिल्ला, हाम्रो यहाँ रहेका जनसंगठन, अनि हाम्रो सम्पर्क कमिटीसहितको उपस्थिति भएको हुनाले त्यति पुर्‍याउँछौ भन्ने छ ।’

जुलुस साढे ११ बजेबाट सुरू भई १२ बजे सभामा परिणत हुने बताइएको छ । सभाका प्रमुख वक्ता पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली छन् ।

सत्ताधारी दल सडकमा जाने अमिल्दो भएन र ? भन्ने जिज्ञासामा लोकतन्त्रमा सत्तामा हुँदा र नहुँदा पनि जनताका बीचमा जाने छुट दलहरूलाई भएको एमालेको भनाइ छ ।

सरकारका राम्रा कामको जनतालाई जानकारी गराउन सडक उपयुक्त थलो भएको भन्दै डा. भट्टराई भन्छन्, ‘उपनिर्वाचनमा एमालेका उम्मेदवार जिताउन जनतालाई अपील गर्नका लागि पनि मंसिर ७ गते जागरण सभाको आयोजना गरेका हौँ । सडकमा जाने कुरा लोकतन्त्रको असल अभ्यास हो । सडक विपक्षीको मात्रै होइन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर