युएईमा नेपाली अर्गानिक उत्पादनको प्रवर्द्धन: पहिलो पटक नेपाली प्याभिलियन
युएई । दुबईमा आयोजना भएको मध्यपूर्व अर्गानीक तथा कृषिजन्य वस्तुको प्रदर्शनीमा नेपालले पहिलो पटक सहभागिता जनाएको छ ।
प्रदर्शनीमा नेपालले आफ्नो उत्पादनको प्रतिनिधित्व गर्दै नेपाली अर्गानिक सामाग्रीलाई समावेश गरी नेपाली प्याभिलियननै स्थापना गरी प्रदर्शनीमा सहभागी भएको हो । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपालले पहिलो पटक सहभागिता जनाएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाली दूतावास आबुधावी लगायत विभिन्न निकायको समन्वयमा नेपालले यो सहभागीता जनाएको हो । प्रदर्शनीमार्फत नेपाली अर्गानिक उत्पादनलाई युएईको विश्वव्यापी बजारसम्म पुर्याउनु र प्रवर्द्धन गर्नु मुख्य उद्देश्य रहेको युएईका लागि नेपाली राजदुत तेजबहादुर क्षेत्रीले बताए।
नेपाली जडिबुटी, चिया, मसलाजन्य उत्पादन, हस्तकला, अलैंची, कफी र अन्य धेरै अर्गानिक सामानलाई विभिन्न नेपाली उत्पादक कम्पनीहरूले आफ्ना उत्पादनलाई प्रदर्शनीमा राखेका थिए ।
विश्वव्यापी व्यापार र पर्यटनको केन्द्र मानिने यूएई नेपाली उत्पादनलाई बजार प्रवर्द्धन गराउने सम्भावनाको राम्रो अवसरको रुपमा लिइएको छ । नेपाली प्याभिलियनले नेपाली अर्गानिक उत्पादनप्रति स्थानीय र अन्तर्राष्ट्रिय व्यवसायीहरूको ध्यान खिचेको सहभागी एनआरएन युएईका अध्यक्ष समेत रहेका व्यवसायी बिकास शाहीको भनाइ छ ।
नेपाली दुतावास आबुधावीको पहल र नेपाल उद्योग वाणिज्य महासंघको पूर्ण सहयोगको प्रशंसा गर्दै अध्यक्ष शाहीले आगामी दिनमा युएईको बजारमा नेपाली उत्पादनको पहुँच थप विस्तार हुने विश्वास व्यक्त गरे।
नेपाली अर्गानिक उत्पादनलाई युएईको बजारमा थप सशक्त बनाउनका लागि नेपाल सरकार, सम्बन्धित निकाय र सम्पूर्ण समुदायको निरन्तर हातेमालो आवश्यक रहेको यहाँ व्यवसाय गरिरहेका नेपालीहरुले बताएका छन् ।
युएई जस्ता अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रभावकारी उपस्थिति देशको आर्थिक विकास र नेपाली पहिचानको प्रवर्द्धनको लागि महत्वपूर्ण हुने भन्दै प्रदशनीमा सहभागी उद्योग वाणिज्य महासंघको प्रतिनिधि टोली तथा युएईमा रहेका नेपाली व्यवसायी तथा अन्य समुदायका व्यवसायी सँग नेपाली दुतावास आबुधावीमा अन्तर्कृया समेत गरिँदैछ ।