नेपालबाट निकासी हुने चिया रोक्न भारतमा लविङ – Nepal Press

नेपालबाट निकासी हुने चिया रोक्न भारतमा लविङ

विराटनगर । पछिल्लो समय नेपालबाट भइरहेको चियाको आयात रोक्न भारतमा लविङ सुरु भएकाे छ । दार्जिलिङ चियाको नाममा नेपालबाट भारतमा चिया निकासी भएको भन्दै भारतमा विरोध भएको दार्जिलिङबाट निस्किने पत्रिका हिमालय दर्पणले लेखेको छ ।

हिमालय दर्पणको आजको अङ्कमा लेखिएको छ, ‘नेपालको चियालाई भारतमा रोक लगाउन राज्य सरकारसँगै केन्द्र सरकारले पनि पहल गर्नु आवश्यक छ ।’

श्रमिक सङ्गठनका महासचिव सुनिल राईलाई उद्धृत गर्दै सो पत्रिकाले लेखेको छ, ‘केही दिनअघि सिलगढीमा बोनसबारे भएको सभामा पनि नेपालको चियाको कुरा उठेको थियो, बैठकमा राज्य सरकारले नेपालको चियाको गुणस्तरमा जाँच गर्ने कुरा गरेको छ । हामीले पहिलादेखि नेपालको चिया बिक्रीमा अङ्कुश लगाउनुपर्छ भन्ने कुरा उठाउँदै आइरहेका छौँ ।’

भारतमा चियाको उत्पादन कम भएपछि यस वर्ष सिटिसी चिया उत्पादन गरिने नेपाली हरियो पत्तीले भारतमा राम्रो बजार पाएको छ । गत वर्ष १४ रुपैयाँ प्रति किलो हरियो पत्तीको मूल्य रहेकोमा यस वर्ष ४५ रुपैयाँ सम्ममा नेपालमा हरियो पत्ती बिक्री भएको छ ।

सिटिसी चिया उत्पादन हुने हरियो पत्तीले भाउ पाएसँगै नेपाली किसान र उद्योगीहरू चियाप्रति आकर्षित भएका छन् । यसअघि पनि भारतले गुणस्तरको बहाना बनाएर भारतमा हरियो पत्ती निकासीमा अवरोध गर्दै आएको छ ।

पूर्वी नेपालको झापा र इलाम क्षेत्रमा उत्पादन हुने सिटिसी चियाको समेत प्रमुख बजार भारत रहेको छ । भारतले हरियो पत्ती र सिटिसी चिया निकासीमा अवरोध गर्दा नेपालका चिया किसान र उद्योगीहरू समस्यामा पर्दै आएका छन् । नेपालबाट भारत लगिएको चियालाई भारतीय उद्योगीहरूले दार्जिलिङ चियाको नाममा ब्राण्डिङ गर्दै आएका छन् ।

भारतका विभिन्न चिया कमानमा काम गर्ने मजदुरहरूलाई अघि सारेर अहिले नेपालको चियाको गुणस्तरको प्रश्न उठाइएको सो पत्रिकाले लेखेको छ ।

पत्रिकाले दार्जिलिङ क्षेत्रका धेरैवटा चियाबारीमा चिया बिक्री नभएर कमानभित्रै रहेको जनाएको छ । केही दिनअघि पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले दार्जिलिङ भ्रमणका क्रममा नेपालको चिया रोक्ने बताएकी थिइन् । कोशी प्रदेशको झापा, इलाम, पाँचथर, धनकुटा र पाँचथरमा चियाको खेती हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *