दलितलाई नै प्रयोग गरेर सुनियोजित रूपमा भुलको हत्या गरेको अध्ययन टोलीको निष्कर्ष – Nepal Press

दलितलाई नै प्रयोग गरेर सुनियोजित रूपमा भुलको हत्या गरेको अध्ययन टोलीको निष्कर्ष

प्रहरी र जनप्रतिनिधि संवेदनशील नबनेको टिप्पणी

काठमाडौं । कैलालीका सूचना अभियन्ता एवं पत्रकार सुरेश भुलको हत्या ‘सूचना माग गरेर भण्डाफोर गरेकै’ कारण गरिएको एक अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।

राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष एवं संविधानसभा सदस्य विनोद पहाडीको संयोजकत्वको अध्ययन टोलीले पत्रकार सम्मेलन गरेर उक्त विषय सार्वजनिक गरेको हो । सुरेशमाथिको आक्रमण सुनियोजित भएको, दलित समुदायको भएकाले दलितलाई नै प्रयोग गरेर आक्रमण भएको पहाडीले बताए ।

बाख्रा हराएको र चारीको आरोप केबल बहानामात्रै हो भन्ने प्रत्यक्षदर्शीको भनाइले पुष्टि गरेको उनले सुनाए । घटना र विवादको पृष्टभूमि बुझ्दाबुझ्दै इलाका प्रहरी कार्यालय मसुरिया र स्थानीय जनप्रतिनिधिले संवेदनशीलरूपमा नलिएको अध्ययन टोलीको निचोड छ ।

यो पनि पढ्नुहोस्- बाख्रा हराएकाे निहुँमा पत्रकारको हत्या : कुटपिटपछि लेखेका थिए- पुलिस र वडाध्यक्ष मिलेका छन्

पहाडी नेतृत्वको अध्ययन टोलीले ५ बुँदे सुझाव पनि दिएको छ । जसमा घटनाको छानबिन गरी दोषीलाई कारवाही गरिनुपर्ने, मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति दिइनुपर्ने, प्रहरी कर्मचारी ज्ञानेन्द्र देउवा र देवेन्द्र कठायतले घटनाको संवेदनशिलता बेवास्ता गरेकाले उनीहरूको भूमिकामा छानबिन गरिनुपर्ने सुझाव दिएको छ । परिवारको भरणपोषण र नाबालक छोरीको अध्ययन रोजगारको सुनिश्चितताको पहलको माग पनि टोलीले गरेको छ ।

पीडित परिवारले किटानी जाहेरी गरेका ८ जनामध्ये ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका ११ का ५५ वर्षका जंगबहादुर भुल, २८ वर्षका विशाल विक, ३१ वर्षका दिनेश विक, १९ वर्षका दिनेश भुल, ४५ वर्षका विष्णा भुल, ३८ वर्षका रमा रावल र ३१ वर्षका धर्मसिंह विक रहेका छन् । किटानी जाहेरी मध्येका गौरीगंगा नगरपालिका ९ का ४० वर्षका पवन बोगटी फरार रहेका छन् । किटानी जाहेरी नपरेको भए पनि उक्त घटनामा संलग्न रहेका रमेश रावललाई समेत प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल कैलालीको सदस्य रहेको सुरेशले विशेष गरी वडा कार्यालय, सामुदायिक वन, सहकारी संस्था, विद्यालय लगायतबाट निरन्तर सूचना माग्ने गरेका थिए । उनले सूचना माग गरेर ति निकायले गरेका गरेका गलत क्रियाकलाप र बदमासी विरुद्ध खवरदारी गर्न थालेपछि यस्ता गलत कार्यमा संलग्न व्यक्तिलाई सुरेश टाउको दुखाईको बिषय बनेका थिए । कतिपयले उनलाई धम्की समेत दिने गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर