माधव नेपालको विज्ञप्तिपछि कीर्तिपुर समाजवादीमा असन्तुष्टि, मेयर उम्मेदवार भन्छन्- म मैदानमै छु – Nepal Press

माधव नेपालको विज्ञप्तिपछि कीर्तिपुर समाजवादीमा असन्तुष्टि, मेयर उम्मेदवार भन्छन्- म मैदानमै छु

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कीर्तिपुर नगरपालिकाको मेयरमा आफ्ना उम्मेदवार भानु रिजालको उम्मेदवारी निष्क्रिय पार्न विज्ञप्ति जारी गरेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ । मेयरमा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई पार्टीका तर्फबाट समर्थन जनाउँदै नेपालले विज्ञप्ति जारी गरेका थिए ।

किर्तिपुरमा नेकपा एसका नेताहरु माओवादीले वडा नं. ४ को वडाध्यक्षमा सघाएमात्रै मेयरमा माओवादीलाई सघाउने अडानमा छन् । नेकपा एसबाट वडा नं. ४ को अध्यक्षमा रिता खड्काले उम्मेदवारी दिएकी छन् । गएको निर्वाचनमा वडा सदस्य लडेकी खड्काले तेस्रो स्थान ल्याएकाले माओवादीको सहयोग पाए जित्ने सक्ने नेकपा एसको नेताहरुको बुझाइ छ ।

तर, अध्यक्ष नेपालले एकतर्फीरुपमा मेयरमा माओवादी उम्मेदवारलाई समर्थन गरेपिछ त्यहाँका नेताहरुले असन्तुष्टि जनाएका हुन् । माओवादी र नेकपा एसबीच शीर्ष तहमा कीर्तिपुरको मेयरमा माओवादीलाई एसले सघाउने र काठमाडौं महानगरपालिका–१६ मा नेकपा एसलाई माओवादीले सघाउन सहमति भएको थियो ।

जिल्ला कमिटीका नेताहरुले कीर्तिपुर–४ को वडाध्यक्षमा माओवादीले सघाए मात्रै मेयरमा सहयोग गर्ने अडान लिए पनि शीर्ष तहमा काठमाडौं–१६ सँग साटफेरको सहमति मात्रै भयो, जसका कारण अहिले एसमा असन्तुष्टि बढ्दो छ ।

एसको तर्फबाट कीर्तिपुरको निर्वाचन संयोजन गर्ने जिम्मेवारी पाएकी प्रदेश सांसद रमा आलेले कीर्तिपुर मेयर र काठमाडौं–१६ मा चुनावी तालमेल गर्दा भौगोलिक न्याय नभएको बताइन् ।

उनले भनिन्, ‘मेयरमा हामीले माओवादीलाई सघाउने अनि उहाँहरुले हामीलाई नगर्ने भन्ने त हुँदैन नि । शीर्ष तहमा काठमाडौं १६ र कीर्तिपुरको मेयर साटफेर गर्ने सहमति भएको छ । यस्तो सहमतिले भौगोलिक न्याय हुँदैन ।’

आलेले अहिले पनि पुरानै शर्त राखेर माओवादीसँग छलफल भइरहेको बताइन् ।

उनले थपिन्, ‘अहिले हामीले उम्मेदवारी दर्ता गराइसकेका छौं । हिजो पनि छलफल भएको छ । सहमति कार्यान्वयन गरेर जानुको विकल्प छैन । तर, हामीले अझै पनि वडामा हाम्रो उम्मेदवारलाई सहयोग गर्नुपर्छ भनेर अडान लिइरहेका छौं ।’

नेकपा एसले स्थानीय स्तरमा माओवादीसँगको सहमति तोडेर एमालेसँग सहकार्य गर्न सक्ने चर्चा पनि सुरु भएको छ ।
एमालेसँग पनि छलफल थाल्नुभएको हो ? भन्ने नेपाल प्रेसको जिज्ञासामा आलेले भनिन्, ‘अहिलेसम्म भएको छैन, पछि हुन सक्छ । कुराकानी जोसँग पनि हुनसक्छ । तर, अहिले त्यो लाइनमा हामी छैनौं ।’

माओवादीका केन्द्रीय सदस्य हिमाल शर्माले शीर्ष तहमा भएको सहमति नै कार्यान्वयन गरेर अघि बढ्ने बताए ।

उनले थपे, ‘कीर्तिपुर ४ को वडाध्यक्षमा सहयोग गरे मात्रै मेयरमा माओवादीलाई मेयरमा भोट हाल्छौं भनिराख्नुभएको थियो । तर, अध्यक्ष माधव नेपालले नै विज्ञप्ति जारी गरेपछि यो बिषय सकिइसक्यो । काठमाडौं १६ मा हामीले सघाउने कीर्तिपुरको मेयरमा हामीलाई सघाउने सहमति भएको हो ।’

उनले कीर्तिपुरमा नेकपा एसका नेताहरुले जस्तै काठमाडौं १६ मा पनि पार्टीका नेताहरुले आफैं चुनाव लड्नुपर्छ भन्ने माग राखेको भए पनि शीर्ष तहको सहमति अनुसार जानुपर्नेमा जोड दिए ।

मेयर उम्मेदवार भन्छन्- म घरदैलोमै छु

अध्यक्ष नेपालले निष्क्रिय हुन निर्देशन दिए पनि नेकपा एसका उम्मेदवार रिजाल मैदानमै छन् । उनले अध्यक्षको निर्देशन आफूले नपाएको प्रतिक्रिया दिए ।

तपाईं निष्क्रिय हुनुभएको हो ? भन्ने नेपाल प्रेसको प्रश्नमा उनले जवाफ दिए, ‘कसरी निष्क्रिय हुनु खोई ? खबर आइपुग्या छैन । पार्टी अध्यक्षले कहाँ पठाउनुभयो थाहा भएन ।’

तपाईं चुनावी कार्यक्रम जारी छ ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘म घरदैलोमै छु । छलफल पनि चलिरहेको छ ।’

एमालेसँग भने कुनै पनि छलफल नभएको रिजालले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर