ओमानी रियाल परिवर्त्य विदेशी मुद्रामा सूचीकृत, ओमान जाने आउनेलाई सहज
काठमाडौं । नेपाल राष्ट्र बैंकले ओमानी रियाललाई परिवर्त्य विदेशी मुद्रामा सूचीकृत गरेको छ । राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै ओमानी रियाललाई परिवर्त्य विदेशी मुद्रा तोकिएको जनाएको हो ।
ओमानी रियाललाई परिवर्त्य विदेशी मुद्रा तोकेसँगै ओमान जानेहरूले ओमानी रियाल साटेर लैजान र उताबाट आउनेले लिएर आउन पाउने भएका छन् । यसअघि यस्तो व्यवस्था नभएकोले यो मुद्राको सटही अवैध मानिन्थ्यो ।
विदेशी विनिमय कारोबारको इजाजतपत्र प्राप्त गरेका बैंक तथा वित्तीय संस्था तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट सटही गर्न सकिने गरी दैनिक रूपमा विनिमयदर प्रकाशित गरिने नेपाल राष्ट्र बैंकबाट तोकिएको विदेशी मुद्रालाई परिवर्त्य विदेशी मुद्रा भनेर चिनिन्छ । अब यो मुद्रा दैनिकरूपमा प्रकाशित हुने विनिमयदरमा समेत हुनेछ ।