पोखरिया अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्दै प्रादेशिक घोषणा भएपछि मन्त्री गुप्ताद्वारा खुशी व्यक्त
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले पर्साको पोखरिया नगरपालिकामा रहेको १५ शय्यायुक्त पोखरिया जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल घोषणा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
यसैबीच संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वर्षौंदेखिको प्रयास र जनताको माग सार्थक गराउन पाउँदा खुशी लागेको बताएका छन् । मन्त्री गुप्ताले स्तरोन्नतिको निर्णयले पोखरिया अस्पतालले पोखरियाका लागि मात्र नभएर, मधेश प्रदेशकै स्वास्थ्य सेवामा नयाँ आयाम थप्दै प्रादेशिक अस्पतालको रूपमा अझ विस्तारित सेवा दिन सक्षम हुनेछ भन्ने विश्वास गरेका छन् ।
‘यो महत्त्वपूर्ण निर्णय कार्यान्वयन गर्न अहोरात्र लाग्नुभएका पोखरिया नगरवासी, स्थानीय अगुवा, सामाजिक अभियन्ता, तथा राजनीतिक दलका साथीहरूप्रति म विशेष आभार प्रकट गर्न चाहन्छु’, उनले धन्यवाद दिँदै सामाजिक सञ्जालमा लखेका छन्, ‘साथै, मन्त्रिपरिषद्को निर्णयमा महत्त्वपूर्ण सहयोग पु¥याउनु भएका सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय मन्त्रीज्यूहरूलाई पनि धन्यवाद दिन चाहन्छु ।’