बुटवल-गोरुसिंगे सडक यात्रुलाई सास्ती नहुने गरी बिस्तारको तयारी
बुटवल । विकास निर्माणका काममा जताततै ढिलासुस्तीसँगै सास्ती छ । यसको पछिल्लो उदाहरण बुटवल-नारायणघाट सडकको बेहालबाट आजित उपभोक्तालाई हेरे पुग्छ । सडकमा गुड्ने गाडीका मजदुर, यात्रु मात्रै होइन, सडक किनारमा रहेका बासिन्दालाई रोगी बनाइरहेको छ यहाँको सडक विस्तारको ढिलाईले ।
यही खण्डको बेहालमा भएका दुर्घटनामा कैयौंको ज्यान गएको छ, मानवीय र भौतिक क्षति भइ नै रहेको छ । भौतिक पूर्वाधार मन्त्रालयका मन्त्री देवेन्द्र दाहालले त्यहाँका सचिव, सहसचिवहरु, प्राविधिकहरु र महाशाखा हेर्ने अधिकारीहरुलाई साथमा लिएर बेहाल सडकको निरीक्षणमा आएका थिए । उनले त्यहाँको निरीक्षणपछि विभागीय अधिकारीहरुलाई तत्कालै निर्देशन दिए, ‘अब विस्तार हुने आयोजनाका कुनै पनि सडकलाई यसरी विस्तार नगर्नु, हालको पिच जोगाएर दुवै छेउबाट बनाएपछि मात्रै बिचको भत्काएर बनाउनु ।’
अहिले पूर्व–पश्चिम मुख्य राजमार्गको ५० किमी सडक विस्तारको चरणमा छ । बुटवल–गोरुसिंगे सडक खण्ड विस्तारका लागि निर्माण कम्पनीले काम सुरु गरेको छ । निर्माण सामग्रीहरुको ठाउँ–ठाउँमा भण्डारण गर्ने, सडक क्षेत्राधिकारमा पर्ने संरचनाहरु हटाउने, कटान गर्ने रुखको अन्तिम गणना गर्ने र पुल बनाउने ठाउँको पुनः माटो परीक्षण गर्नेलगायतका काम भइरहेका छन् ।
सडक विस्तार गर्दा अहिलेको पिच रहेको भागलाई नभत्काइ पहिले दुवै छेउबाट विस्तारको काम गर्ने तयारी छ । छेउको बनाएपछि बल्ल बीचको फेर्नेगरी निर्माणको मोडालिटी बनाएर काम सुरु गर्न निर्माण कम्पनीलाई निर्देशन गरिएको सडक आयोजना कार्यालय प्रमुख इन्जिनियर कुशलता न्यौपानेले जानकारी दिइन् ।
धेरैतिरबाट एकैपटक सबै सडक भत्काएर काम थाल्दा धुलो, हिलो र आवागमनमै असहजता उत्पन्न हुने गुनासो आएपछि निर्माण कम्पनीलाई बीचको पिच पहिल्यै नभत्काउने गरी काम गर्न निर्देशन गरिएको इन्जिनियर न्यौपानेको भनाइ छ ।
बुटवल, सैनामैना, बाणगंगा र बुद्धभूमिलगायतका जनप्रतिनिधिहरुले संघीय मन्त्री, सचिवहरु, आयोजना कार्यालय प्रमुख, निर्माण कम्पनीका प्रतिनिधिहरुलाई समेत विभिन्न समयमा भेटेर अस्तव्यस्त हुनेगरी एकैपटक सडक नजोती नयाँ तरिकाले बनाउन अनुरोध गरेको सैनामैनाका प्रमुख फणेन्द्रप्रसाद शर्माले बताए ।
बुटवल–नारायणघाट खण्ड, बुटवलकै चौराहा–गोलपार्क खण्ड तथा भैरहवा–बेलहिया खण्डमा एकैपटक सबै बाटो उदारेर काम गर्दा न समयमै काम सम्पन्न भयो, न सडकको उपभोग गर्नेलाई नै सहज भयो । बुटवलको मुख्य खण्डको ३ किमी सडक त ८ वर्षदेखि अलपत्र पारेर अहिले बल्ल बनाइँदैछ । धुलो, हिलो, धुवाँमात्रै होइन, सवारी साधन दुर्घटना पर्ने र मानवीय क्षतिसमेत भइरहेको अवस्था छ । यस्तै, लथालिंगको अवस्थाबाट पाठ सिकेर संघीय मन्त्रालयले नै नयाँ मोडालिटीमा सडक बनाउन निर्देशन दिएको हो ।
यो राजमार्ग निर्माण भएको करिब ६२ वर्षपछि अहिले विस्तार हुन लागेको छ । विस्तार गर्दै यसलाई पश्चिम महेन्द्रनगरसम्मै विस्तार गर्ने लक्ष्य छ । अहिलेको चरणमा गोरुसिंगे सम्मको करिब ५० किलोमिटरमा काम सुरु भएको छ भने लगत्तै चन्द्रोटासम्मको सडक विस्तारको प्रक्रिया अगाडि बढाउने संघीय सरकारको तयारी छ ।
अहिले गोरुसिंगे–चन्द्रौटा सडक खण्ड १९ किलोमिटरका लागि डिजाइनको काम भइरहेको छ । त्यसउताका खण्डमा विभिन्न परियोजनाको सहकार्यमा नयाँ मोडालिटीमा अगाडि बढाउने गरी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत सुनिश्चित गर्ने र नयाँ उपायको खोजी गरिरहेका छन् ।
गाडी गुडाउन मिल्ने ६ वटा अण्डरपास, पैदल यात्रुका लागि १२ वटा अण्डर पास र ११ वटा ओभरहेड ब्रिज, वन्यजन्तु वारपार गर्ने ठाउँमा १९ वटा अण्डर पास बनाइने । दुवै छेउबाट बनाएपछि बीचको पिच भत्काएर बनाइने । यताको काम सुरु भएलगत्तै चन्द्रौटासम्मकै सडक विस्तार गरिने
सडक विस्तारका लागि दुई खण्डमा गरी १३ अर्ब ५५ करोड ६५ लाख ९६ हजार ४ सय ४१ रुपैयाँको ठेक्का सम्झौता भई तीन वर्षभित्र योजना सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रूप र आशीष निर्माण सेवा नेपाल जेभीसँग सम्झौता भइ काम सुरु भएको छ ।
बेहाल सडकमा दुर्घटना, दुई वर्षमा ४० जनाको मृत्यु
बुटवल–नारायणगढ सडक खण्डको विस्तारमा भइरहेको ढिलाईबाट उत्पन्न भएको सास्ती धेरै छ । त्यसैमा पनि निर्माणाधीन सडकका खाल्डामा परेर, नालीमा परेर, निर्माण सामग्रीमा ठक्कर खाएर, निर्माणका उपकरणमा ठोक्किएर कैयौं दुर्घटना भएका छन् । यही बुटवलको चौराहा–गोलपार्क खण्डको विस्तारमा भइरहेको ढिलाई पनि कैयौं दुर्घटना निम्तिए र मानवीय क्षति भयो ।
अलपत्र सडकको बुटवल–दाउन्ने खण्डमा मात्रै ०७९ साउन यता करिब ४५ वटा सवारी साधन दुर्घटनामा परेका छन् । यी दुर्घटनामा परेर २१ जनाको मृत्यु भएको छ भने ७० जना घाइते । खासगरी दुई पांग्रे सवारी साधन नाली तथा खाड्लमा परेर र अगाडि रोकिएका निर्माणमा उपकरणमा ठोक्किएर दुर्घटना भएका छन् ।
ती दुर्घटनाहरुमा १८ जना पुरुष र ३ जना महिला गरी २१ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको तथ्यांकमा छ । त्यस्तै दुर्घटनामा ५० जना पुरुष, १५ जना महिला र ५ बालबालिका गरी ७० जना गम्भीर घाइते भएको उक्त कार्यालयका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
कतिपय दुर्घटनामा मारिएकाका पीडित परिवारले त सडकको बेहालका कारणले अकालमा ज्यान गएको भन्दै क्षतिपूर्ती माग गरेर निवेदन समेत दिएका छन् । त्यस्ता निवेदनलाई प्रहरी कार्यालयमा मातहतमा ‘फरवार्ड’ गरेको बताएको छ ।
यस्तै दाउन्नेदेखि नारायणघाट सम्मको सडकमा गत आवमा मात्रै ५६ सवारी साधन दुर्घटना भए । अधिकांश दुर्घटना सडकको बेहालका कारण भएको पाइएको छ । ती दुर्घटनामा १४ जनाको मृत्यु भयो भने ७४ जना गम्भीर घाइते भए । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको कार्यालयले उपलव्ध गराएको तथ्यांकमा छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यायल नवलपुरका वरिष्ठ नायवनिरिक्षक मिनबहादुर कुवँरका अनुसार साना सवारीका दुर्घटना धेरै भएको त्यसमा मोटरसाइकल र स्कुटर रहेका छन् । भएको जनशक्ति र स्रोतको परिचालन गरेर ठाउँठाउँमा संकेत चिन्हरु राख्ने, बोर्डहरु राख्ने गरिएपनि धेरै ठाउँमा जोखिमपूर्ण अवस्था रहेको बताउँदै वरिष्ठ नायबनिरीक्षक कुवँरले मातहतका कार्यालय र सरोकारवालाहरुसंग समन्वय गरेर दुर्घटना न्यूनीकरणका काम गरिएको बताए ।
सोही खण्डमा चालु आवको यो अवधिमै १५ वटा गम्भीर दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर ५ जनाको मृत्यु भयो भने २० जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको तथ्यांकमा छ ।
सूचना पाटी र संकेत बोर्ड अनिवार्य गरौं
विभिन्न निर्माणका काम गर्दा हुने ढिलासुस्ती, सूचना पाटी र संकेत बोर्ड नराख्ने र लापरबाही गर्ने प्रवृत्तिका कारणले पनि दुर्घटना निम्तिएका कैयौं घटना छन् । बुटवल–नारायणघाट खण्डका ठाउँ ठाउँमा संकेत बोर्ड र सूचना पाटी राख्ने र रातिमा पनि देखिने बनाउन जरुरी थियो तर, त्यो हुन सकेन । त्यो खण्डमा ०७५ माघबाट निर्माणको काम सुरु भएपनि अहिलेसम्म आधा पनि काम भएको छैन । यहीँ बुटवलको चौराहा–गोलपार्क खण्डमा पनि त्यस्ता संकेत बार्ड र सूचना पाटी राखिएको छैन ।
सार्वजनिक सरोकारका विषयमा लामो समयदेखि वकालत गर्दै आएका वरिष्ठ अधिवक्ता शिवप्रसाद गौडलले हरेक सार्वजनिक सरोकारका निर्माणकार्यमा अनिवार्य सूचना पाटी राख्नैपर्ने भएपनि त्यो कार्यान्वयन नभइरहेको बताए । कुनै सार्वजनिक सरोकारका संरचनाहरु कहिले सुरु भएको, कहिले सकिने, कसले बनाउँदै छ, कति लागतमा बन्दैछ, कहाँ कहाँ के कसरी वैकल्पिक उपाय अपनाइएको छ भनेर खुलाएर अनिवार्य सूचना राख्न जरुरी रहेको वरिष्ठ अधिवक्ता गौडलको भनाइ छ ।
यता उपभोक्ता हीत संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले पनि नागरिकको सूचना पाउने अधिकारलाई कार्यान्वयन गर्न जरुरी रहेका बताउँछन् । कतिपय विषयमा सूचना नपाउँदा तथा संकेत चिन्हहरु नहुँदा आम उपभोक्त जोखिममा परिरहेका हुन्छन् र त्यसले क्षति पनि निम्तिने गरेको अवस्था रहेको बताउँदै अध्यक्ष पाठकले जवाफदेही निकाय र निर्माण कम्पनीको यसमा ध्यानाकर्षण गराए ।
सडकखण्डका ६ ठाउँमा भेहिकल अण्डरपास बनाइने
अहिले विस्तार भइरहेको सडक खण्डमा ६ ठाउँमा ‘भेहिकल अण्डरपास’ बनाइने भएको छ । बाक्लो बस्ती भएका सहरी क्षेत्रका चोकहरुमा सडकलाई ५० मिटरमा फराकिलो बनाइने र रणनीतिक सडकहरु जोडिने क्षेत्रमा अध्ययन पश्चात गाडी नै वारपार गर्न मिल्नेगरी ‘भेहिकल अण्डरपास’ निर्माण गरिने आयोजनाका कार्यालय प्रमुख इन्जिनियर न्यौपानेले बताइन् ।
जितगढी बेलबास चोक, नयाँगाउँ चोक, तामनगर चोक, सैनामैनाका मुर्गिया बजार र बुद्धनगर चोक तथा कपिलवस्तुको चार नम्बर जीतपुर चोकमा यस्ता ‘भेहिकल अण्डरपास’ बनाउने गरी काम सुरु भएको छ । त्यसका लागि माटो परीक्षणको काम भइरहेको यस्तो पुल अहिले ललितपुरको ग्वार्कोमा बनिरहेको छ । यस्तै सडक खण्डमा करिब १९ वटा अण्डर र ओभर पासका पुल पैदल यात्रुका लागि बनाइने छ । अहिले निर्माण कम्पनीले पुल बनाउने तिनै चोकहरुमा माटो परीक्षण गरिरहेको छ ।
जंगल क्षेत्रमा वन्यजन्तुमैत्री मार्ग बनाइने
सडक खण्डमा वनक्षेत्र पनि पर्ने भएकाले वन्यजन्तुमैत्री बनाउने गरी डिजाइनका काम भइरहेका छन् । यो सडकअन्तर्गत सालझन्डी–पिपरा खण्डमा जंगल क्षेत्र छ । बनगाई–गोरुसिंगे सडक खण्डमा पनि जंगल क्षेत्र पर्छ । विस्तारपछि सडक फराकिलो हुने र सवारीसाधनको गति पनि बढी हुने हुँदा वन्यजन्तु आवतजावत गर्दा अवरोध नहोस् र उनीहरूलाई कुनै प्रकारको क्षति नहोस् भनेर अन्डरपाससहित सडक विस्तार गर्न लागिएको हो ।
जंगल क्षेत्रमा १९ वटा अन्डरपास बनाइने भएको छ । १९ मध्ये सालझन्डी पिपरा खण्डमा चारवटा बनाइने छ । कोइली, घेरुवा बनगाई–गोरुसिंगे जंगलमा १० वटा अन्डरपास बनाइनेछ । जंगल रहेको क्षेत्रमा सडकलाई २४ मिटरको बनाउने र ठाउँ ठाउँमा वन्यजन्तु वारपार गर्न अग्ला पुल बनाइनेछ । वन क्षेत्रका अतिरिक्त बस्ती भएका ठाउँमा भने सडक त्यसको दोब्बर फराकिलो हुनेछ ।
विसं.२०१८ सालमा निर्माण भएको महेन्द्र राजमार्ग (पूर्व–पश्चिम राजमार्गं) लाई अहिले विभिन्न खण्डमा विभाजन गरेर विस्तार गर्ने काम सुरु भएको छ । साँघुरा, कमजोर र अतिक्रमित अवस्थाका सडकलाई चार लेनमा विस्तार गर्ने काम जारी छ ।