सार्वभौम क्रेडिट रेटिङले वैदेशिक लगानी आकर्षित गर्न सहयोग पुग्छ : अर्थ मन्त्रालय – Nepal Press

सार्वभौम क्रेडिट रेटिङले वैदेशिक लगानी आकर्षित गर्न सहयोग पुग्छ : अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले नेपालले पाएको सार्वभौम क्रेडिट रेटिङमा BB- स्कोरले वैदेशिक लगानी आकर्षित गर्न सहयोग पुग्ने जनाएको छ । शुक्रवार मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यस्तो जनाएको हो ।

नेपालले सार्वभौम क्रेडिट रेटिङमा BB- स्कोर प्राप्त गर्न सफल भएको छ। नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको छ।

क्रेडिट रेटिङको नतिजाले नेपालको साख क्षमता (Credit Worthiness) उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सबल रहेको र अन्तर्राष्ट्रिय बजारबाट ऋण लिनु पर्दा न्यून ब्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको छ । यसले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्न समेत सहयोग पुग्ने मन्त्रालयले जनाएको छ ।

सार्वभौम क्रेडिट रेटिङमा मूलतः अर्थतन्त्रका चार क्षेत्रहरू क) अर्थतन्त्रको संरचनागत पक्ष (Structural Features) ख) समष्टिगत आर्थिक उपलब्धि (Macroeconomic Performance), ग) सार्वजनिक वित्त (Public Finance) र घ) बाह्य क्षेत्रका (External Finance) आर्थिक परिसूचकको विस्तृत रूपमा लेखाजोखा गर्ने गरिन्छ ।

मुलुकको सार्वभौम क्रेडिट रेटिङ गर्दा यस्ता पक्षहरूलाई विभिन्न सार्वभौम रेटिङ मोडल (Sovereign Rating Model) र गुणात्मक मापन (Qualitative Overlay) विधिबाट स्वतन्त्र रूपमा मूल्याङ्कन गरी प्राप्त स्कोरलाई न्यूनतम D देखि अधिकतम AAA सम्म रेटिङ प्रदान गर्ने गरिन्छ ।

AAA ले मुलुकको High Credit Quality रहेको देखाउँदछ भने D ले Default को अवस्थालाई ईंगित गर्दछ ।उक्त प्रक्रिया बमोजिम Fitch Ratings Ltd. ले नेपालको आर्थिक संरचना, सार्वजनिक वित्तको अवस्था, आन्तरिक तथा वैदेशिक ऋणको अवस्था, मौद्रिक तथा वित्तीय क्षेत्रका सूचकहरूको अवस्था, बाह्य क्षेत्रका आर्थिक परिसूचकहरू, सोह्रौँ योजनाले परिलक्षित गरेका आर्थिक वृद्धिको मध्यकालिन तथा दीर्घकालीन खाका लगायतका विवरण र तथ्यांकको विश्लेषण गरेको थियो ।

यसका साथै गुणात्मक मूल्यांकनको चरण अन्तर्गत Fitch Ratings Ltd. को विज्ञ समूहबाट September 11-13, 2024 मा नेपालको स्थलगत भ्रमण भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक लगायतका सरकारी निकायका उच्च पदाधिकारहरूसँग परामर्श र छलफल गरेको थियो भने निजी क्षेत्र र नेपाल स्थित द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार निकायका अधिकारीहरूसँग समेत परामर्श गरेको थियो ।

नेपालले प्रस्तुत गरेको पूर्वाधार विकासको मध्यकालीन र दीर्घकालीन योजनाको कार्यान्वयनको मूल्याङ्कन गर्न नमुनाको रूपमा नागढुंगा सुरुङ मार्गको अवलोकन समेत गरेको थियो । हाल Fitch Ratings Ltd. को टोलीले नेपालको सार्वभौम क्रेडिट रेटिङ गरी सोको प्रतिवेदन प्रेषित गरेको छ ।

‘सार्वभौम क्रेडिट रेटिङलाई विश्वका लगानीकर्ता तथा वित्तीय सेवा प्रदान गर्ने निकायले कुनै पनि मुलुकको लगानीको वातावरण मूल्याङ्कनको आधारको रूपमा लिने गर्दछन्। यसले मूलकको अर्थतन्त्रको संरचना र अवस्थालाई स्वतन्त्र विज्ञको आँखाबाट मूल्याङ्कन गरी यथार्थ अवस्थालाई विश्वभरका लगानीकर्ता समक्ष पुर्‍याउने गर्दछ । यस अर्थमा सार्वभौम क्रेडिट रेटिङलाई मुलुकले आफ्नो अर्थतन्त्रलाई विश्वसामु खुलारुपमा मूल्याङ्कन गराई पारदर्शिता कायम गरेको रूपमा समेत लिन सकिन्छ’, अर्थमन्त्री विष्णु पौडेलले भने ।

उनका अनुसार नेपालको सार्वभौम क्रेडिट रेटिङले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय समुदायसम्म प्रस्तुत गरेको छ । सार्वभौम क्रेडिट रेटिङ विगतका तथ्याङ्क विश्लेषणको नतिजा मात्र नभएर भविष्यपरक दृष्टिकोण समेत हो ।

यसले अर्थतन्त्रको भावी दिशा र सम्भावनाको आंकलन गर्दै मुलुकले भविष्यमा आफ्नो ऋण दायित्व पूर्णरुपमा र समयमै भुक्तानी गर्न सक्ने क्षमताको मापन गर्दछ ।

क्रेडिट रेटिङको नतिजालाई दक्षिण एसियाली मुलुकहरूको रेटिङ नतिजासँग तुलना गर्दा नेपालले प्राप्त गरेको रेटिङ सन्तोषजनक रहेको छ । यसले सरकार, निजी क्षेत्र र सम्पूर्ण लगानीकर्ताहरूको लागि उत्साह सिर्जना गरेको छ ।

नेपाल सन् 2026 मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई नवीनतम एवं वैकल्पिक वित्तका स्रोत परिचालन गर्नु पर्ने अवस्थाको पूर्व तयारीको रूपमा समेत सार्वभौम क्रेडिट रेटिङलाई लिन सकिन्छ ।

नेपालको सार्वभौम क्रेडिट रेटिङमा हाल प्राप्त गरेको नतिजाले नेपाल लगानीको लागि सहज वातावरण भएको स्थापित गरेकोले विदेशी लगानीकर्ताको विश्वास (Confidence) अभिवृद्धि हुन गई भावी दिनमा नेपालको पूर्वाधार, पर्यटन, कृषि, सेवा लगायतका क्षेत्रका ठूला आयोजनाहरूमा लगानी अभिवृद्धि हुने अपेक्षा गरिएको अर्थमन्त्रीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *