पर्यटन प्रवर्द्धन गर्न बागलुङमा गाजादह सिद्ध बराह श्रीमद्भागवत ज्ञान महायज्ञ हुँदै – Nepal Press

पर्यटन प्रवर्द्धन गर्न बागलुङमा गाजादह सिद्ध बराह श्रीमद्भागवत ज्ञान महायज्ञ हुँदै

बागलुङ । सिद्ध बराह मन्दिर संरक्षण समिति गाजाको आयोजनामा बागलुङमा गाजा दह सिद्ध बराह श्रीमद्भागवत ज्ञान महायज्ञ-२०८१ हुने भएको छ।

यही मंसिर ८ देखि १५ गतेसम्म बागलुङको जैमिनी नगरपालिका-३ दमेकमा महायज्ञ हुने भएको हो ।

बराह भगवानको मूर्ति स्थापना तथा नित्य पूजा अर्चना तालको संरक्षण एवं वृहत्तर विकासका लागि प्रमुख वाचक प्रखर युवा पण्डित आचार्य शिवदत्त रेग्मीले प्रवचन हुने आयोजकले जनाएको छ।

समुद्र सतहदेखि २ हजार ८ सय ८० मिटर उचाइमा रहेको दमेक रुद्र ताल र सिद्ध बराह मन्दिर रहेको छ। जहाँ कार्तिक शुक्लपक्षको बैकुण्ठचतदर्शीमा भव्य मेला लाग्ने गर्दछ ।

यहाँ पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ। यहाँ पर्यटक आकर्षित गर्ने संरचना बन्न नसकेकाले पर्यटक बढाउन नसकेको स्थानीयको बुझाइ छ ।

सिद्ध बराहमा रहो तालमा रुख बिरुवा जंगल भए पनि ताल वा तालको किनारामा कुनै पात देखिँदैन। किनकि चराहरू आएर खसेका पातहरू टिप्ने गर्ने स्थानीयको भनाइ छ ।

नगरपालिका-३ उपल्लो दमेकका वडाध्यक्ष कृष्ण भुजेलले स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवर्द्धन गर्न नै महायज्ञ गर्न लागेको जानकारी दिए ।

‘प्रचुर मात्रामा पर्यटनको सम्भावना रहे पनि ओझेलमा रहेको यस क्षेत्रलाई प्रवर्द्धन गर्ने र यहाँका स्थानीय उत्पादनलाई बजारीकरण गर्न महायज्ञ गर्न लागेका हौँ”, भुजेलले भने । राज्यको नजरबाट पनि यस क्षेत्र छायामा परेको उनले बताए ।

महायज्ञबाट करिब १ करोड उठाउने लक्ष्य रहेको उनले बताए । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि २४ किलोमिटर टाढा रहेको गाजाको दहमा चार घण्टाको पैदल र डेढ घण्टाको गाडीको यात्रामा पुग्न सकिने भुजेलले बताए ।

‘प्रत्येक याममा यहाँको सुन्दरता फरक–फरक देख्न सकिन्छ। गाडीमा भन्दा बढी पैदल यात्रा गर्दा घुमफिर रोमाञ्चक बन्छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *