पर्यटनमन्त्री पाण्डेप्रति राज्यमन्त्रीको खुला असन्तुष्टि, मुख्यमन्त्रीले गरे बचाउ
कैलाली । कैलालीको लम्कीमा बिहीबारबाट सुरू भएको लम्की महोत्सवमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र संघीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीबीच नोकझोक भएको छ ।
चौधरीले २८ वर्षदेखि बन्द रहेको टीकापुर विमानस्थल सञ्चालन गरेको स्मरण गर्दै छिट्टै अछामको कमल बजार विमान स्थलमा परीक्षण उडान गर्न लागेको बताएका थिए ।
‘म राज्यमन्त्री हुँ मलाई मन्त्रालयको विभागीय जिम्मेवारी नदिए पनि काम गरिरहेको छु यसमा पर्यटन मन्त्री बद्री पाण्डेले सहयोग गर्नुभएन’, राज्यमन्त्री चौधरीले आफूलाई थुप्रै असहयोग गर्दा पनि काम गरिरहेको र अझै काम गर्ने बताएका थिए ।
राज्यमन्त्री चौधरीले चुनावमा थारुलाई भोट हाले अछाम पठाउने भन्दै गरेको दुष्प्रचार चिर्दै आफू अछामको विकासमा पनि केन्द्रित रहेको बताएका थिए ।
‘थारुले मत पाउँदा आज अछामको विषय पनि उठाइरहेको छु कसमेकम अछाम बनाउँदा विरोध र नगर्नुस् यो कुरा राजनीतिक दलका साथीहरुलाई भन्दैछु’ उनले भने ‘बाजुराको पर्यटनमन्त्री हुनुहुन्छ , अरे गर्न सक्नुहुन्न भने जिम्मेवारी त दिनुस् ।’
उनले मन्त्री पाण्डे पटक-पटक विवादमा आइरहेको बताए ।
मुख्यमन्त्री शाहले आफ्नो बोल्ने पालोमा राज्यमन्त्री चौधरीलाई धन्यवाद भन्दै कटाक्ष गरे । शाहले आफ्ना पार्टीका मन्त्री पाण्डेको बचाउ गरे ।
‘बद्री पाण्डे दु:ख गरेर राजनितीमा आएको मान्छे हुन् जसले यो मुलुकमा केही गर्छु भन्ने चाहनाका साथ एउटा जिम्मेवारी पाउनुभएको छ र त्यो जिम्मेवारी पूरा गर्ने चाहनामा उहाँ अगाडि लाग्नुभएको छ’, मुख्यमन्त्री शाहले भने, ‘नागरिक उन्मुक्ति पार्टीलाई बद्री पाण्डे बाधकजस्तो लाग्छ, काम गर्न दिँदैन जस्तो लाग्छ भने एक मिनेट पनि बद्री पाण्डेको तल बस्नु हुँदैन नैतिक प्रश्न आउँछ ।’
मुख्यमन्त्री शाहले कसैले आफ्नो दायित्व र कर्तव्य बिर्सन नहुने बताएका थिए ।
‘आफ्नो जिम्मेवारी बिर्सेपछि मञ्चमा भाषण गरेर मात्र केही हुँदैन’ मुख्यमन्त्री शाहले राज्यमन्त्री चौधरीलाई लक्षित गर्दै भने ।
महाधिवेशनमा पाण्डे कांग्रेसको सहमहामन्त्री निर्वाचित हुँदा शाह पनि सोही टिममा थिए । सार्वजनिक कार्यक्रममा मन्त्रीको राज्यमन्त्रीले आलोचना गरेपछि मुख्यमन्त्री शाहले त्यसको बचाउ गरेका हुन् ।
राज्यमन्त्री चौधरी कांग्रेस राजनीति त्यागेर नागरिक उन्मुक्तिबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै राज्यमन्त्री नियुक्त भएका हुन् भने सोही क्षेत्रको प्रदेश सभामा कांग्रेसबाट निर्वाचित शाह मुख्यमन्त्री भएका हुन् ।
शाहलाई नाउपाले सघाउँदै आएको थियो । बिहीबार सत्तासाझेदार दुई दलका दुई नेताबीचको नोकझोकालाई अर्थपूर्ण रूपले हेरिएको छ ।