रास्वपा झापाका उपसभापति पाठकसहित तीनजना कीर्तेमा संलग्न – Nepal Press

रास्वपा झापाका उपसभापति पाठकसहित तीनजना कीर्तेमा संलग्न

समितिका सदस्यहरूको कीर्ते सही गरेर सिँचाइ आयोजनाको धरौटी रकम झिकियो

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी झापाका उपसभापति प्रकाश पाठकसहित तीनजना कीर्ते कार्यमा संलग्न भएको पाइएको छ ।

०८१ जेठ ४ गते अदुवा खोला सिँचाइ आयोजनाको बैठक पुस्तिकामा कीर्ते हस्ताक्षर गरेर लाखौं रकम चलाएको प्रमाण भेटिएको हो । उक्त आयोजनामा पाठक सचिव थिए । आयोजनाको धरौटी खाताको रकम निकाल्न कार्यसमितिको बैठक पुस्तिकामा अधिकांश हस्ताक्षर कीर्ते गरिएको हो । कीर्ते हस्ताक्षर गरेर बुझाइएको निर्णयका आधारमा जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय भद्रपुरले रकम निकासा गरेको थियो ।

उक्त निर्णयमा कार्यसमितिका १३ जनामध्ये १० जनाको हस्ताक्षर गरेको पाइएको छ । अध्यक्ष थापा, कोषाध्यक्ष लोकनाथ ओलीले उक्त निर्णयमा हस्ताक्षर गरेको स्वीकार गरिसकेका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै पाठकले माइन्यूटमा आफूले हस्ताक्षर गरेको स्वीकार गरेका छन् । निर्णय पुस्तिकामा आफूले हस्ताक्षर गरे पनि खाता सञ्चालन अध्यक्ष र कोषाध्यक्षले गर्ने बताए ।

पाठकले थपे, ‘सुरूमा पैसा चलाएकै हो । अहिले फिर्ता आइसकेको छ ।’

आयोजनाका अध्यक्ष थापा भन्छन्, ‘मैले हस्ताक्षर गरेको हो, बाँकी हस्ताक्षर संस्थाको सचिवले के-के गर्नुभएको छ । उहाँलाई थाहा हुनुपर्छ । त्यसको जिम्मेवार पनि उहाँ नै हो ।’

सोही हस्ताक्षरको सहायताबाट संस्थाले धरौटी खाताको पैसा निकालिएको हो । संस्थाका पूर्वअध्यक्ष रत्नबहादुर अधिकारीका अनुसार १० जनाको हस्ताक्षरमा पनि कोपिला पौडेलको हस्ताक्षर अंग्रेजीबाट गरिएको थियो ।

अधिकारीले भने, ‘उहाँ कहिल्यै अंग्रेजीबाट हस्ताक्षर गर्नुहुन्न ।’

संस्थाका अन्य सदस्यहरू देवराज ताजपुरिया, इन्द्रकला दाहाल, मानबहादुर थापा, बालमाया कार्कीले उक्त निर्णयमा हस्ताक्षर नगरेको जानकारी दिए । उनीहरु आफ्नो हस्ताक्षर कीर्ते भएको बताउँछन् ।

कीर्ते हस्ताक्षर गरेर कार्यसमितिका अध्यक्ष बृखबहादुर थापा (दिनेश), सचिव प्रकाश पाठक र कोषाध्यक्ष लोकनाथ ओलीले मिलेमतोमा १७ लाख ५४ हजार चलाएको उपभोक्ताहरूको आरोप छ । अध्यक्ष थापाले १० लाख ५४ हजार मात्र चलाएको स्वीकार गरेका छन् । तीनैजनाले पैसा चलाएको हो, उनले थपे- सचिवले भाइलाई अष्ट्रेलिया पठाउँदा ५ लाख चलाउनु भएको हो ।

रास्वपाका झापाका उपसभापति एवम् आयोजनाका सचिव पाठकले उक्त रकम अध्यक्ष थापाले नै चलाएको दाबी गरेका छन् ।

उनी भन्छन्, ‘मेरो नाममा चेक काटेर पैसा निकाले पनि पैसा अध्यक्षज्यूले चलाएको हो ।’

झापाको बाह्रदशी र हल्दिबारीको करिव ६७५ हेक्टरमा सिँचाइ गर्ने उक्त आयोजनाको खातामा रहेको लाखौ रूपैयाँ कार्यसमितिका अध्यक्ष बृखबहादुर थापा (दिनेश), सचिव प्रकाश पाठक र कोषाध्यक्ष लोकनाथ ओलीले मिलेमतोमा चलाएको उपभोक्ताहरुले आरोप लगाएका हुन् ।

संस्थाको खातामा मौज्दात रहेको रकम कार्य समितिलाई थाहै नदिई तीनजनाले चलाएको पाइएको छ । खातामा रहेको १७ लाख ५४ हजार रुपैयाँ अपचलन गर्ने नियतले निकालेको उनीहरुलाई आरोप छ । कार्यसमितिका धेरै सदस्यहरुको हस्ताक्षर नै किर्ते गरेर उक्त रकम निकासा गर्ने निर्णय फेला परेको संस्थाका पूर्व अध्यक्ष रत्नबहादुर अधिकारी बताउँछन् । उनै पूर्व अध्यक्ष अधिकारीले खाताबाट पैसा झिकेर चलाइसकेको पत्ता लगाएका थिए ।

संस्थाका उपाध्यक्ष रोमनाथ दाहालले आयोजनाको खाताबाट रकम निकासा गरेको विषय आफूलाई थाहा नभएको बताएका छन् ।

उनले भने, ‘मैले त्यस्तो निर्णयमा हस्ताक्षर गरेको छैन, पैसा निकालेको विषय पछि थाहा पाएँ ।’

कीर्ते हस्ताक्षर गर्ने र अपचलन गरी लाखौं रूपैयाँ चलाउनेहरूलाई कानूनी कारबाही हुनुपर्ने उपाध्यक्ष रोमनाथ दाहालको माग छ ।

अध्यक्षसहित तीनजनाले साढे १७ लाख अपचलन गरेको चर्चा चुलिएपछि तत्कालै साधारणसभाबाट उक्त विषयलाई सामसुम बनाउने प्रयास भएको थियो ।

‘कात्तिक २८ गते सामाजिक सञ्जालबाट साधारणसभा गर्ने भन्दै खबर गरिएको थियो’, उपाध्यक्षले भने, ‘अध्यक्ष साधारणसभा बोलाएर १९ गते नै देशबाहिर जानुभयो । उहाँको भाइ बिरामी परेर बाहिर गएको सूचना प्राप्त भएको छ ।’

उपाध्यक्ष दाहालले अध्यक्षको उपस्थितिविना साधारणसभा सम्भव नहुने बताइसकेका छन् । संस्थाका सचिव पाठकले २७ गतेका दिन साधारणसभाको चिठी बाँडेको केही उपभोक्ताहरुले जानकारी दिए ।

आयोजनाका कोषाध्यक्ष ओलीले अध्यक्षले आफ्नो भाइलाई विदेश पठाउनका लागि पैसा चलाएको उनको भनाइ छ । उनले आफूले हस्ताक्षर गरेकोभन्दा धेरै पैसा निकालिएको भन्दै त्यसबारे अनविज्ञता प्रकट गरेका छन् । उनी आफूले पनि २ लाख रुपैयाँ चलाएको स्वीकार गरे ।

कोषाध्यक्ष ओलीले भने सचिवको नाममा ५ लाखको चेक काटेर पैसा निकालेको बताएका छन् । कीर्ते हस्ताक्षर भएको बैठक पुस्तिकामा आफूले हस्ताक्षर गरे/नगरेको निर्णय पुस्तिका नै हेर्नुपर्ने उनको भनाइ छ ।

‘संस्थाको पैसा व्यक्तिगत प्रयोजनमा जानु बेठिक हो’, उनले भने, ‘प्राविधिक हिसाबले मैले चलाएको देखिन्छ ।’

संस्थाका पूर्वसचिव रविन कार्कीले पैसा चलाउनकै लागि धरौटी खाताबाट चल्तीमा सारेको दाबी गरेका छन् ।


प्रतिक्रिया

One thought on “रास्वपा झापाका उपसभापति पाठकसहित तीनजना कीर्तेमा संलग्न

  1. होइन होला हो ! त्यस्तो नयाँ पार्टीले त्यस्तो काम गर्छ ? आरोप मात्र होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *