कीर्तिपुरमा मेयरको उम्मेदवारीले नेकपा एसभित्रै चुलियो मतभेद – Nepal Press

कीर्तिपुरमा मेयरको उम्मेदवारीले नेकपा एसभित्रै चुलियो मतभेद

पार्टीको निर्णय कार्यान्वयन नगराए निर्वाचन परिचालनको जिम्मेवारी पाएकी रमा आलेलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकामा मेयरको उम्मेदवारीलाई लिएर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीभित्र तीव्र मतभेद उत्पन्न भएको छ ।

पार्टीको केन्द्रीय नेतृत्वले आफ्नो मेयरका उम्मेदवारलाई निष्क्रिय बनाई माओवादी केन्द्रका उम्मेदवारको पक्षमा लाग्न निर्देशन दिइसकेको छ । तर, स्थानीय नेता र कार्यकर्ता केन्द्रको निर्देशन नमान्ने भन्दै घरदैलोमा व्यस्त छन् ।

पार्टीका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई समर्थन जनाउँदै अध्यक्ष माधवकुमार नेपालले गरेको निर्णय अस्वीकार गर्ने स्थानीय नेता-कार्यकर्ताको भनाइ छ । केन्द्रका नेता चाहिँ त्यसो भन्नेहरू कारवाहीमा पर्ने बताउँछन् ।

पार्टीको तर्फबाट प्रदेशसभा सदस्य एवं अनेमसंघ (समाजवादी) की महासचिवसमेत रहेकी र कीर्तिपुर निर्वाचन  जिम्मेपरिचालनकोवारी पाएकी रमा आलेलाई हामीले सोध्यौं, ‘मेयरमा तपाईंहरूको उम्मेदवार निष्क्रिय हुनुभयो ?’ उनले भनिन्, ‘राजेन्द्र पाण्डे कमरेडलाई सोध्नुपर्छ ।’

पार्टी अध्यक्षकै विज्ञप्ति आइसकेपछि त्यहीँ छलफल गरेर टुंग्याउनुपर्नेमा फेरि कसैलाई किन सोध्नुपर्ने भनी जिज्ञासा राख्दा आलेले भनिन्, ‘हामी किन ब्याक हुने, माथि निर्णय गरेपछि अगाडि बढ्नुपर्ने कुरामा किन पछि हट्ने ?’

उनले थपिन्, ‘यसरी नै ब्याक हुने भए त किन पार्टी चाहियो ? छाडिदिए भयो त माओवादीलाई, माओवादीले वडामा आफ्नो उम्मेदवार ब्याक नगर्ने भएपछि हामी किन गर्ने ? अब यो कुरा हाम्रो अध्यक्ष र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई सोध्नुपर्छ ।’

उनले न मेयरमा, न वडा नम्बर ४ को वडाध्यक्ष, कुनैमा पनि आफ्नो पार्टी पछाडि नहट्ने अडान सुनाइन् ।

तर, पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले शीर्ष तहमा भएको सहमति कार्यान्वयन गरेर जाने बताए ।

उनले भने, ‘हामीले मेयरमा माओवादीलाई भोट हाल्ने हो, वडा ४ को हकमा हामीले माओवादीसँग कुरा गरेको हो ब्याक हुन तयार भएनन्, अब मित्रवत् प्रतिस्पर्धा हुन्छ ।’

पार्टीका अर्का एक शीर्ष नेताले सांसद आलेले कीर्तिपुरमा पार्टीको निर्णय कार्यान्वयन नगराए पार्टीबाट ठाडै कारवाही गरेर हटाउने चेतावनी दिए ।

ती नेताले चेतावनीको शैलीमा भने, ‘को हुन् तिनी ? सांसद पद गए जान्छ, त्यस्तो नोनसेन्स कुरा गरे पार्टीले ठाडै कारवाही हुन्छ । अध्यक्षले विज्ञप्ति जारी गरिसक्नुभएको छ । पार्टीको निर्णय त्यही हो । त्यही अनुसार चल्छ ।’

अध्यक्ष नेपालले उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएपनि मेयरका उम्मेदवार भानु रिजाल अहिले पनि आफ्नो प्रचार प्रचारमै लागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर