जानकारहरूको नजरमा नेपालको ‘कन्ट्री रेटिङ’
काठमाडौं । केही दिनअघि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक कार्यक्रममा आफ्नो अनुभव सुनाए- ‘यो बीचमा म अष्ट्रेलिया गएँ, युरोप गएँ र अमेरिका पनि गएँ । म जति पनि ठाउँमा गएँ त्यहाँ सबैतिर नेपालमा केही पनि ठिक छैन भन्ने भाष्य सिर्जना भएको पाएँ ।’
ढकालले विभिन्न देशमा प्रवासी नेपालीसँग भेटघाट तथा छलफल गर्दा उनीहरुले नेपालको राजनीतिक अवस्था ठिक छैन, नेपालमा व्यापार/व्यवसाय गर्न सकिँदैन भनेर निराशा मात्र व्यक्त गरेको अनुभव सुनाएका थिए ।
नेपाली अर्थतन्त्र, लगानी, रोजगारलाई लिएर टिप्पणी भइरहँदा अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिचले नेपालले पहिलो पटक दिएको रेटिङले केही प्रष्ट्याएको छ । ‘कन्ट्री रेटिङ’ मा फिचले डबल बी माइनस स्कोर दिएको छ । नेपालले पाएको सार्वभौम क्रेडिट रेटिङ्गले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय समुदायसम्म प्रस्तुत गरेको छ । सार्वभौम क्रेडिट रेटिङ्गलाई मुलुकले आफ्नो अर्थतन्त्रलाई विश्वसामु खुलारूपमा मूल्यांकन गराएको छ ।
व्यापक चर्चा, लगानी आकर्षित हुने अपेक्षा
अहिले नेपालले पाएको रेटिङको व्यापक चर्चा भइरहेको छ । शुक्रबार अर्थ मन्त्रालयले पत्रकार सम्मेलन नै गरेर नेपालले पाएको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री रहेको संकेत गरेको दाबी गर्यो । यसले वैदेशिक लगानी आकर्षित गर्न समेत सहयोग पुग्ने अर्थ मन्त्रालयको भनाइ छ ।
नेपालले ‘कन्ट्री रेटिङ’ मा डबल बी माइनस पाउनु नेपालका लागि ऐतिहासिक उपलब्धि रहेको मन्त्रालयका प्रवक्ता महेश भट्टराई बताए ।
उनले भने, ‘यो रेटिङ नेपालका लागि ऐतिहासिक उपलब्धि हो । यो रेटिङले मुलुकको आर्थिक सुधार भइरहेको देखाएको छ । नेपालमा लगानी गर्न सुरक्षित भन्ने स्पष्ट पारेको छ । ’
उनका अनुसार सार्वभौम क्रेडिट रेटिङ्गलाई विश्वका लगानीकर्ता तथा वित्तीय सेवा प्रदान गर्ने निकायले कुनै पनि मुलुकको लगानीको वातावरण मूल्यांकनको आधारको रूपमा लिने गर्छन् । यसले मुलुकको अर्थतन्त्रको संरचना र अवस्थालाई मूल्यांकन गरी यथार्थ अवस्थालाई विश्वभरका लगानीकर्तासमक्ष पुर्याउने गर्दछ ।
विश्वका विभिन्न मुलुकहरूले पनि विदेशी लगानी आकर्षित गर्न रेटिङ गराउने अभ्यास छ । लामो समयदेखि नेपालले पनि रेटिङ गराउने विषयमा चर्चा हुँदै आएको थियो । तर, रेटिङ भने हुनु सकेको थिएन । रेटिङ नहुँदा नेपालमा आउने/नआउने विदेशी ठूला लगानीकर्ता अन्योलमै थिए । रेटिङले त्यो अन्यौलता हटेको जानकारहरू बताउँछन् ।
‘कुनै पनि मुलुकले अन्तर्राष्ट्रिय बजारमा ऋणपत्र, बण्ड जारी गर्न क्रेडिट रेटिङ अनिवार्यरूपमा गराउनुपर्ने व्यवस्था छ । अब नेपालले अन्तराष्ट्रिय वित्त बजारबाट ऋण लिन सहज हुनेछ । साथै अब सुरक्षित लगानीको क्षेत्रबाट तुलनात्मकरूपमा जति सुरक्षित छ त्यति कम ब्याजदरमा ऋणपत्र जारी गर्न सकिन्छ’, सचिव भट्टराई भन्छन् ।
नेपालले सार्वभौम ‘कन्ट्री रेटिङ’ मा पाएको ‘डबल बी माइनस’ नतिजाले विदेशबाट ल्याउने ऋणको लागत घट्ने नेपालको कन्ट्री रेटिङमा सल्लाहकारको भूमिकामा काम गरेको स्टान्डर्ड चार्टर्ड बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोरखशमशेर जबरा बताउँछन् ।
जबर भन्छन्, ‘क्रेडिट रेटिङले विदेशबाट ल्याउने ऋणको लागत घट्नेछ । यो लागत डेढ प्रतिशतसम्म घट्न सक्छ ।’
के भन्छन् जानकार ?
नेपालले पाएको रेटिङ अपेक्षाभन्दा राम्रो भएपनि यो रेटिङ लगानीयोग्य नरहेको केहीको तर्क छ । नेपालले पाएको रेटिङ अपेक्षा गरेभन्दा राम्रो भएपनि यसमा हामी उत्साहित हुनुपर्ने अवस्था नरहेको इक्रा नेपालका मूल्यांकन विभाग प्रमुख शैलेश सुवेदी बताउँछन् ।
उनी भन्छन्, ‘हामीले अपेक्षा गरेभन्दा राम्रो रेटिङ पायौँ । छिमेकी मुलुकहरू श्रीलंका, बंगलादेश, पाकिस्तानको तुलनामा पनि हामी राम्रो नै मानियौँ । तर, नेपालले पाएको रेटिङ लगानीयोग्य भने होइन ।’
उनका अनुसार रेटिङ्गको स्कोरलाई न्यूनतम ‘डी’ देखि अधिकतम ‘एएए’ सम्म प्रदान गर्ने गरिन्छ । ‘एएए’ ले मुलुकको ‘हाई क्रेडिट क्यालिटी’ रहेको देखाउँछ भने ‘डी’ ले ‘डीफल्ट’ को अवस्था ईंगित गर्छ । ‘बीबीबी’ सम्म आएमा त्यहाँ लगानीयोग्य अवस्था छ भन्ने बुझिन्छ । तर, नेपालले डबल बी माइनस पाएको छ । उनको दाबी अनुसार यो लगानीयोग्य रेटिङ हैन ।
रेटिङ स्कोर लगानीयोग्य नभए पनि यसको नतिजालाई दक्षिण एसियाली मुलुकसँग तुलना गर्दा सन्तोषजनक देखिन्छ । नेपालमा लगानीको वातावरण छैन भन्ने भाष्य सिर्जना भइरहेको अवस्थामा रेटिङले नेपालमा लगानी गर्ने वातावरण कस्तो छ भन्ने स्पष्ट पारेको छ ।
नेपालले पाएको रेटिङले लगानीकर्ता आकर्षित हुन्छन् भन्ने भन्दा पनि लगानी गर्नु अगाडि स्पष्टता प्रदान गर्न मद्दत गरेको बताउँदै सुवेदी अगाडि भन्छन्, ‘विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्नुअगाडि यहाँको जोखिमको अवस्था कस्तो छ भनेर हेर्ने गर्छन् । नेपालले रेटिङ पाएसँगै लगानीकर्ताहरूको नजरमा हामी पर्यौँ । अब रेटिङ हेरेर लगानी गर्ने/नगर्ने भन्ने कुरा लगानीकर्ताहरूमा भर पर्छ ।’
चार्टर्ड एकाउन्टेन्स संघका अध्यक्ष अरुण राउतका अनुसार क्रेडिट रेटिङ्गमा अर्थतन्त्रका विभिन्न क्षेत्रहरूको लेखाजोखा गरिन्छ । अर्थतन्त्रको संरचनगत पक्ष, समष्टिगत आर्थिक उपलब्धी, सार्वजनिक वित्त र वाह्य क्षेत्रका आर्थिक परिसूचकको विस्तृतरूपमा लेखाजोखा गर्ने गरिन्छ ।
नेपालले पाएको डबल बी माइनस स्कोर अपेक्षा गरिएको भन्दा राम्रो रहेको राउतले बताए ।
उनी भन्छन्, ‘कन्ट्री रेटिङमा नेपालले सीसम्म प्राप्त गर्छ भन्ने अपेक्षा गरेका थियौं । तर, बीबी माइनस पायो । हामीले सोचेभन्दा राम्रो पायो ।’
राउत र सुवेदीको तर्कलाई समर्थन गर्दै पूर्व बैंकर भुवन दाहाल भन्छन्, ‘अहिले नेपालले पाएको रेटिङ बीबीबी भन्दा तल छ । बीबीबी इन्भेष्टमेन्ट ग्रेड हो । बीबी माइनस इन्भेष्टमेन्ट ग्रेड होइन । लगानीका लागि यसलाई धेरै राम्रो मानिँदैन । यसमा धेरै उत्साहित हुनुपर्दैन ।’
श्रीलंका, पाकिस्तान, बंगलादेशभन्दा राम्रो स्कोर पाएकोले मात्रै नेपालले पाएको रेटिङलाई राम्रो भनिएको उनको तर्क छ । तर, यो रेटिङ अरुको तुलनामा राम्रो भएपनि लगानीका लागि भने राम्रो भन्न नसकिने दाहालको भनाइ छ ।