गैरआवासीय नेपालीले शेयरमा लगानी गर्ने बाटाे खुल्याे, यस्ता छन् मापदण्ड – Nepal Press

गैरआवासीय नेपालीले शेयरमा लगानी गर्ने बाटाे खुल्याे, यस्ता छन् मापदण्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डले गैरआवासीय नेपालीहरूलाई शेयरमा लगानी गर्ने बाटो खोलिदिएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ लाई संशोधन गर्दै गैरआवासीय नेपालीहरूलाई शेयरमा कारोबार गर्न पाउने नीतिगत व्यवस्था गरिएको हो ।

संशोधित निर्देशिकाको नाम ‘धितोपत्र निष्कासन तथा बाँडफाँड (आठौँ संशोधन) निर्देशिका, २०८१’ राखिएको छ । यो निर्देशिका बोर्डले तोकेको मितिदेखि प्रारम्भ हुनेछ । नयाँ व्यवस्थाअनुसार सरकार र गैरआवासीय नेपालीहरूको संयुक्त लगानीमा इन्भेष्टमेन्ट कम्पनी खोल्न सकिनेछ ।

शेयर निष्कासन गर्दा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले गैरआवासीय नेपालीको लागि मात्र शेयरको निष्कासन गर्नु पर्नेछ । निष्कासन गरिने शेयर गैरआवासीय नेपालीले मात्र खरिद गर्न सक्नेछन् । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले प्रिमियम थप गरी शेयर निष्कासन गर्न भने नपाउने व्यवस्था गरिएको छ ।

संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्कासन गरिने शेयरको दरखास्त खुला रहने अवधि कम्तीमा चार कार्य दिन हुनेछ । निष्कासन गरिएको सबै शेयर बिक्री नभएमा कम्पनीले त्यस्तो दरखास्त खुला भएको मितिले बढीमा पन्ध्र दिनका लागि शेयरको दरखास्त खुला राख्न सक्नेछ र सोको जानकारी बोर्डलाई दिनु पर्नेछ ।

संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्कासन गरिने शेयरको दरखास्त दिन सकिने न्यूनतम सीमा एक हजार कित्ता र अधिकतम सोको गुणांकमा हुने गरी व्यवस्था गर्नु पर्नेछ ।

संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको शेयर निष्कासनको लागि दरखास्त दिन सकिने अधिकतम सीमा विवरण पत्रमा उल्लेख भए बमोजिम हुनेछ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको शेयर खरिदको लागि दरखास्त आह्वान गर्दा प्रति शेयर अङ्कित मूल्यको शत प्रतिशत बराबरको रकम दरखास्त साथ माग गर्नु पर्ने निर्देशिकामा व्यवस्था गरिएको छ ।

शेयर कारोबार गर्दा कारोबार इकाई न्यूनतम एक हजार कित्ता हुनेछ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको शेयरको कारोबार गैरआवासीय नेपालीबिच मात्र हुनेछ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले निष्कासन गरेको शेयर बाँडफाँड भएको मितिले एक वर्षको अवधि पूरा नभई खरिद बिक्री गर्न पाइने छैन । तर, संस्थापकको हकमा भने यो नियम लागू हुनेछैन ।

यस्तो छ संशोधित निर्देशिका


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *