गण्डकीको आर्थिक अवस्था : पर्यटन आगमनमा वृद्धि, उद्योगहरूको उत्पादन क्षमता ३९.२ प्रतिशत
काठमाडौं । गण्डकी प्रदेशको आर्थिक वृद्धिमा केही सुधारको संकेत देखिएको एक अध्ययन प्रतिवेदनले जनाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गण्डकी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा यस प्रदेशको आर्थिक वृद्धिमा सुधार देखिएको हो ।
‘आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेशको आर्थिक वृद्धिमा केही सुधारको संकेत देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेशको कुल ग्राहस्थ उत्पादन आधारभुत मूल्यमा ४.२३ प्रतिशतले वृद्धि भएको अनुमान छ । गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ३.६९ प्रतिशत रहेको थियो । यस अवधिमा कृषि उत्पादनमा ४.७७ प्रतिशतको वृद्धि देखिएको छ भने उद्योगको क्षमता उपयोग झण्डै ३९.२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा कृषि उत्पादन ०.०५ प्रतिशतको झिनो वृद्धि भएको थियो भने उद्योगको क्षमता उपयोग ४२.४ प्रतिशत रहको थियो’, उक्त प्रतिवेदनमा उल्लेख छ ।
उक्त प्रतिवेदन अनुसार गण्डकी प्रदेशको सेवा क्षेत्रमा महत्त्वपूर्ण योगदान रहेको पर्यटन क्षेत्रमा पर्यटकको आगमनमा ५.४ प्रतिशतले सुधार भएको देखिन्छ । होटलहरुको अकुपेन्सीमा पनि सुधार भई ३०.७३ प्रतिशत रहको साथै हवाई कम्पनीको सिट उपयोग क्षमतामा पनि सुधार भई ७७.८५ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकले विगत लामो समयदेखि आर्थिक, वित्तीय र मौद्रिक क्षेत्रको तथ्याङ्क समावेश हुने आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तर्जुमा गरी नियमित रुपमा प्रकाशन गर्दै आएको छ ।
कृषि बालीहरूको उत्पादनमा वृद्धि
उक्त प्रतिवेदन अनुसार समीक्षा वर्षमा गण्डकी प्रदेशका ११ जिल्लाहरूमा प्रमुख कृषि बालीहरूले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब ७.७ प्रतिशतले ह्रास आई ४ लाख ३७ हजार ९७२ हेक्टर कायम भएको छ ।
तरकारी खेतीले ढाकेको क्षेत्रफल २.०७ प्रतिशतले वृद्धि भएको छ भने मसला, फलफूल खेती र खाद्य, नगदे तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा क्रमशः ०.४१ प्रतिशत, ८.२३ प्रतिशत र ८.३८ प्रतिशतले कमी आएको छ ।
समीक्षा वर्षमा प्रमुख कृषि बालीहरूको उत्पादनमा ४.७७ प्रतिशतले वृद्धि भएको छ । खाद्य तथा अन्य बालीको उत्पादनमा ४.७१ प्रतिशत, तरकारी उत्पादनमा ५.४४ प्रतिशत, फलफूल उत्पादनमा ३.८० प्रतिशत र मसला उत्पादनमा ४.५२ प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा वर्षमा पशुजन्य उत्पादनतर्फm दूधको उत्पादन ३.३८ प्रतिशत, अण्डाको उत्पादन १५.२९ प्रतिशत र मासुको उत्पादन १ प्रतिशतले ह्रास आएको छ भने माछाको उत्पादनमा ४.९९ प्रतिशतले वृद्धि भएको छ । वनजन्य उत्पादनतर्फm काठको उत्पादनमा २६.१९ प्रतिशतले वृद्धि भएको छ भने दाउरा उत्पादनमा ३.१४ प्रतिशतले कमी आएको छ ।
समीक्षा वर्षमा गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले कृषि, वन र माछापालन क्षेत्रमा रु. २८ अर्ब ४० करोड कर्जा लगानी गरेका छन् । यो रकम यस प्रदेशमा प्रवाहित कुल कर्जाको ८.१४ प्रतिशत रहेको छ ।
समीक्षा वर्षमा अध्ययनमा समेटिएका उद्योगहरूको औसत उत्पादन क्षमता उपयोग ३९.२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा यस्तो अनुपात ४२.४ प्रतिशत रहेको थियो ।
समीक्षा वर्षमा सिमेन्ट, ओइन्टमेन्ट औषधी, बिस्कुट, प्रशोधित दुध, तोरीको तेल र चुरोटको उत्पादनमा वृद्धि भएको छ भने ईटा, चकलेट, चाउचाउ, ड्राई सिरप औषधी, वियर, ट्याब्लेट औषधी, लिक्विड औषधी र क्याप्सुल औषधीको उत्पादनमा कमी भएको छ ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूले गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको ८.८८ प्रतिशत अर्थात् रु. ३१ अर्ब १ करोड कर्जा औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन् ।
६.१ प्रतिशतले बढ्यो पर्यटक आगमन
समीक्षा वर्षमा गण्डकी प्रदेशमा पर्यटक आगमनको संख्या ६.१ प्रतिशतले वृद्धि भई ५५ हजार १ सय ४९ रहेको छ । त्यस्तै होटलहरुको शैया सङ्ख्या विक्री २४.३ प्रतिशतले वृद्धि भई ७३ हजार १ सय २६ रहको छ भने होटलहरुको अकुपेन्सी ३०.७३ प्रतिशत रहेको छ जुन गत वर्ष २४.६१ प्रतिशत रहेको थियो । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटनमा व्यापक सुधार आएकाले सेवा क्षेत्रमा तदनुरुपको सकारात्मक प्रभाव देखिएको हो ।
२१ हवाई कम्पनीमार्फत उडान भई ११ हजार ४ सय ८५ पटक उडान भएको छ भने हवाई कम्पनीको सिट उपयोग क्षमता ७७.८५ प्रतिशत रहेको छ । गत वर्षको हवाई कम्पनीको सिट उपयोग क्षमता ७४.५४ प्रतिशत रहको थियो ।
समीक्षा वर्षमा यस प्रदेशमा उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति हाबी हुनु,, बसाइसराइ लगायतका कारणले विद्यार्थी र शिक्षकको सङ्ख्यामा क्रमशः ३.४० प्रतिशत र ४.१६ प्रतिशतले कमी आएको देखिन्छ । साथै, विद्यार्थी सङ्ख्यामा आएको कमीले गर्दा क्याम्पसहरू गाभिन गई क्याम्यसहरुको सङ्ख्यामा समेत २.८२ प्रतिशतले कमी आएको छ ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन १२.५ प्रतिशतले वृद्धि भई रु. ५ खर्ब ३४ अर्ब ४० करोड पुगेको छ । कुल कर्जा प्रवाह भने१.७ प्रतिशतले ह्रास भई रु.३ खर्ब ४९ अर्ब ७ करोड पुगेको छ । पर्यटन क्षेत्रमा प्रवाहित कर्जा रकम गत वर्षभन्दा ९.९० प्रतिशतले वृद्धि भई रु २३ अर्ब ७६ करोड पुगेको छ ।
कस्तो छ पूर्वाधार र रोजगारीको अवस्था ?
राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये काली गण्डकी कोरिडोर अन्तर्गतको मालढुङ्गा–राम्दी–गैडाकोट खण्डको भौतिक प्रगति करिब ६५.०७ प्रतिशत र बेनी–जोमसोम खण्डको भौतिक प्रगति करिब ८४ प्रतिशत रहेको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत गोरखा–लमजुङ खण्डको भौतिक प्रगति ७५ प्रतिशत र कास्की– पर्वत–बाग्लुङ खण्डको भौतिक प्रगति ७७ प्रतिशत रहेको छ भने तनहुँ जलविद्युत आयोजना तथा बुढिगण्डकी जलविद्युत आयोजनाको भौतिक प्रगति क्रमशः ५८.१ प्रतिशत र १० प्रतिशत रहेको छ ।
यस प्रदेशका ८५ स्थानीय तहहरूले आर्थिक वर्ष २०८०÷८१ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेका छन् । सो अन्तर्गत सञ्चालित १ हजार १८ आयोजना मार्फत कुल ७ सय २१ व्यक्तिले औसतमा ५४.२४ दिन रोजगारी पाएका छन् ।