सीटीईभीटीको उपाध्यक्षमा ओमप्रसाद बराल नियुक्त
काठमाडौं । सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)काे उपाध्यक्षमा ओमप्रसाद बराललाई नियुक्त गरेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष छनौट समितिबाट सिफारिस भएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पेश गरेका ३ जना मध्ये बराललाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
सीटीईभीटीको उपाध्यक्षका लागि वहालबाला २ निर्देशकसहित १३ जनाको उम्मेदवारी दिएका थिए । उपाध्यक्षका लागि सीटीईभीटीको स्तर निर्धारण महाशाखाका निर्देशक टैलेन्द्र आचार्य र सीटीईभीटीकै सूचना तथा अनुसन्धान महाशाखा निर्देशक भुवनेश्वर ढुंगाना, पूर्व सदस्य सचिव जिवनारायण काफ्ले, पूर्व निर्देशक मिस्टरकान्त मैनाली र सौरभराम जोशी, पूर्व उपनिर्देशक कुस्माकर भट्टले आवेदन दिएका थिए ।
यस्तै राष्ट्रिय योजना आयोगको पूर्व सदस्य राजबहादुर गिरी, डाखेमराज जोशी, हरिशंकरप्रसाद साह, डा.ज्ञानबहादुर थापा, डा.महेन्द्रप्रसाद भट्ट र बिमला भट्टले पनि आवेदन दिएका थिए ।
सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारीको गत साउनमा कार्यकाल सकिएपछि उपाध्यक्ष मनोनयन सिफारिस समितिले खुला प्रतिस्पर्धाबाट छनौट गर्नका लागि आवेदन माग गरेका थियो ।