उपनिर्वाचनको प्रचारप्रसारमा १० भन्दा बढी झण्डा र निर्वाचन चिन्ह प्रयोग गर्न नपाइने – Nepal Press

उपनिर्वाचनको प्रचारप्रसारमा १० भन्दा बढी झण्डा र निर्वाचन चिन्ह प्रयोग गर्न नपाइने

काठमाडौं । मंसिर १६ गतेका लागि तय भएको उपनिर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले १० भन्दा बढी झण्डा र निर्वाचन चिन्ह प्रयोग गर्न नपाइने भएको छ । निर्वाचन आचारसंहिता प्रतिकूल हुने घटनासँग सम्बन्धित विषय आचारसंहिता र अन्य निर्वाचन सम्बन्धी कानूनमा रहेका व्यवस्था प्रभावकारी कार्यान्वयनबाट समाधान गर्न आवश्यक देखिएको भन्दै आयोगले सबै राजनीतिक दल र उम्मेदवारलाई यस्तो निर्देशन दिएको हो ।

निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन हुने ३२ जिल्लाका ४१ स्थानीय तहमा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि मंसिर २ देखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ लागू भई सकेको स्मरण गराएको छ । उपनिर्वाचनको प्रचारप्रसार गर्ने क्रममा उक्त आचारसंहिता विपरीतका छिटफुट घटना भएको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगका सहसचिव एवम प्रवक्ता निता पोखरेलले जानकारी दिईन । उनका अनुसार उक्त आचारसंहिताको प्रभावकारी कार्यान्वयन लागि विभिन्न संयन्त्र परिचालन भएका छन् ।

आयोगले भनेको छ, ‘निर्वाचन आचारसंहिता, २०७९ अनुसार झण्डा र प्रचारप्रसारका सामग्री, पर्चा, साइनबोर्डको आकार, साइज, रङ भन्दा फरक हुन नहुने, प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइनबोर्ड राख्न, श्रब्यसामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने, दश–दश वटासम्म झण्डा र चुनाव चिन्ह भन्दा बढी प्रयोग गर्न नपाईने विषयलाई पूर्ण पालना गर्न गराउन निर्देशन गरिएको छ ।’

यस्ता कार्य लगायत र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ ले रोक लगाएका कार्य भए गरेमा निर्वाचन अधिकृत वा अनुगमनकर्ता र स्थानीय प्रशासनले निर्वाचन कानून, निर्वाचन आचारसंहिता, २०७९ र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ बमोजिम तत्कालै कारवाही गर्न आयोगले निर्देशन दिइसकेको छ । साथै निर्वाचन सम्बन्धी कानून, समय समयमा आयोगबाट जारी भएका निर्देशन तथा आदेशको उल्लङ्घन भएमा तत्काल कानून बमोजिम कारबाही हुने पनि आयोगले स्मरण गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *