प्रधानमन्त्री ओलीद्वारा एलन मस्कसँग भिडिओ संवाद, नेपालमा स्टारलिंकको इन्टरनेट सञ्चालनबारे छलफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टेस्ला कम्पनीका मालिक एवम् विश्वकै धनाढ्य व्यक्ति एलन मस्कसँग भिडिओ संवाद गरेका छन् । प्रधानमन्त्री ओलीले आफूले एलनसँग कुरा गर्दै गरेको सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । मस्कले आफ्नो इन्टरनेट सेवाप्रदायक कम्पनी स्टारलिंककाे सेवा नेपालमा बिस्तार गर्न खोजेको विषयमा प्रधानमन्त्रीसँग कुराकानी गरेको बताइएको छ ।
यसअघि करिब एक महिना अगाडि प्रधानमन्त्री ओली र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई स्टारलिंकका प्रतिनिधिहरुले नेपालमा इन्टरनेट विस्तारबारे भिडिओ देखाएका थिए ।
तर यसबारेमा नेपालका प्रधानमन्त्रीसँग एलनले सीधा संवाद गरेको यही प्रथम हो । स्याटेलाइट इन्टर्नेट सेवा प्रदायक एलन मस्कको कम्पनी स्टार लिङ्कले विश्वका अन्य धेरै देशलाई सेवा दिइरहेको छ ।
तर, अरु इन्टरनेट सेवा प्रदायकलाई तनाव हुने भएकोले र आम्दानी तथा रोजगार कम हुने भन्दै नेपालमा स्टार लिङ्क ल्याउनु हुन्न भन्ने जमात नि ठूलो छ ।