३० वर्षअघिको फक्ताङलुङ यात्रा: छिरिङ आङ्मु शेर्पा र मखमलको गम्छा – Nepal Press

३० वर्षअघिको फक्ताङलुङ यात्रा: छिरिङ आङ्मु शेर्पा र मखमलको गम्छा

नोट: हामी सबैका आमासँग जीवनकथा हुन्छ । कति कथा लेखिन्छन्, कति कथा लेखिँदैनन् । नलेखिएका कथाहरु आमाहरुसँगै खरानी भएर जान्छन् । यही खरानी हुनबाट जोगियोस् भनेर मैले मेरी आमाको युवाकालको संस्मरणलाई सिलसिलेबर बनाउने कोसिस गरेको छु । प्रस्तुत छ मेरी आमाको ३० वर्षअघिको फक्ताङलुङ यात्रामा जन्मिएको सम्बन्धको संस्मरण-

दुई दशक बढी भइसकेछ ।

यतिबेला धमिलो सम्झनामात्रै बाँकी छ- घरको भित्तामा झुण्डिएको पात्रोमा २०५२ सालको भदौ महिना पल्टिरहेको थियो । गाउँमा अलैँची फाँड्ने चटारो थियो । एकैछिन बसेर गफ गर्ने कसैलाई फुर्सद थिएन । अर्मपर्म गर्नैपर्‍यो ।

एक दिन छ्याङ् खोला वरतिरको अलैँची बगानमा अलैँची फाँड्दै गर्दा नै रामकुमार काकालगायत हाम्रो फक्ताङलुङ जाने सल्लाह भयो ।(फक्ताङलुङ लिम्बू समुदायको लागि पवित्र तीर्थस्थल हो । हरकोही लिम्बू/याक्थुङ समुदायका व्यक्ति त्यहाँ जीवनमा एक पटक जसरी पनि पुग्न चाहन्छ ।)

फक्ताङलुङ जाने सल्लाह त भयो, तर साँच्चै जाने नै हो त ? कि गफमात्र हो ? यो कुरा केही दिन मनमा खेलिरह्यो । हाम्रो सल्लाह यथार्थमा बदलियो, केही दिनपछि फक्ताङलुङ जाने नै भयौं । त्यतिबेला भर्खर १८ वर्षकी थिएँ । त्यो उमेरमा पनि हिँडेर फक्ताङलुङ पुगौंला भन्ने आँट मलाई कताबाट पलायो होला ! अहिले सम्झेर यसै दङ्ग पर्छु ।

बुवा रिटार्यड लाहुरे । उहाँको स्वभाव कडा हुने भइहाल्यो । झनै म छोरीमान्छे, जान दिनुहुन्छ कि हुन्न भन्ने लागिरहेको थियो । दोधार रहँदै बुवालाई सोधें, ‘बुवा म फक्ताङलुङ जान्छु ।’

बुवा सुरुमा त मान्नुभएको थिएन । कर गरेपछि र पल्लो घरको दिपेश्वरी दिदी पनि जाने भनेपछि आमाबुवा दुवैले मान्नुभयो । आमाले ३०० र बुवाले ५०० रुपैयाँ बाटो खर्च छुट्याइदिनु भयो ।

अहिलेको जस्तो जताततै होटल थिएनन् । यात्रामा चाहिने सबै सामानको जोहो आफैं गरेर हिँड्नुपर्थ्यो । मैले १२ माना चामल, गुन्द्रुक, सिन्की, मरमसाला, नून तयार पारें । लेक लाग्नसक्छ भनेर सातु र अदुवा पनि तयार पारें । बाटोमा बास मागेर रात कटाउनुपर्थ्यो । ओढ्ने र ओछ्याउने कपडा तयार गरें । आफूलाई फेरफार कपडाका लागि दुईतीन वटा लुङ्गी र भेस्ट तयार पारें ।

केही दिनपछि फक्ताङलुङ जाने नै भयौं । त्यतिबेला भर्खर १८ वर्षकी थिएँ । त्यो उमेरमा पनि हिँडेर फक्ताङलुङ पुगौंला भन्ने आँट मलाई कताबाट पलायो होला ! अहिले सम्झेर यसै दङ्ग पर्छु ।

भोलि त म फक्ताङलुङ यात्रामा निस्कनु थियो । भोलिको यात्रा सोचेर रोमा१िचत भइरहेकी थिएँ ।

बिहान (भदौको १३ गते जस्तो लाग्छ) भालेको डाकसँगै हिजो तयार पारेको भारी बोकेर हामी उकालो निस्कियौं । मनमा डर थियो । डरभन्दा बढी एउटा उत्सुकता थियो । कहिले नहिँडेको बाटो हिँड्दै थिएँ । कहिले नपुगेको ठाउँ पुग्दै थिएँ । रामकुमार काका, लक्ष्मीनारायण बाजे, कम्पासेनी बोजु, दिपेश्वरी दिदीलगायत गरी हाम्रो टोली १८ जनाको थियो ।

यति धेरै मान्छेसँग पहिलो पटक यात्रामा निस्किएकी थिएँ । गैरी गाउँ, नेसुम, तिलबारी, पित्लेधारा हुँदै ओरालो र तेर्सो बाटो हिँड्दै दोभान पुग्यौं । दुई खोला मैया/मैवा र तमोर खोला तर्नुअघि तितेपाती चढायौं र आफैंलाई शुभयात्राको कामना गर्‍यौं । बुढापाकाको कथा सुन्दै, देउराली र खोलाहरुमा पाती चढाउँदै हिँडिरह्यौं ।

त्यसदिन बेलुका सेवाँ पुग्यौं ।

भालिपल्ट बिहानै हिड्यौं । चिलाउने डाँडाको सिरानमा फेम्फु थरीका घरमा बास बस्यौं । हामी जहाँ पुग्थ्यौं, त्यहाँ बास माग्थ्यौं । पकाइ खानलाई भाँडाकुँडा माग्थ्यौं । आफूले ल्याएको चामल, गुन्द्रुकलगायत अलि अलि मिसाएर पकाइ खान्थ्यौं ।

१५ गते बिहान सेक्खाथुममा बिहानको खाना खाएर घैंयाबारी उकालो चढ्यौं । बाटोमा घर थिएन । उकालोको बाटो, अहिले सम्झिँदा उराठलाग्दो रहेछ, तर त्यति बेला मलाई त्यो ठाउँ पनि रमाइलो लागिरहेको थियो । उज्यालोमै ग्याप्ला पुग्यौं । त्यहाँदेखि उता घुङ्सा नपुगिञ्जेल घर छैन भन्ने थाहा पाएपछि त्यही पासाङ शेर्पाको घरमा बास बस्ने भयौं । आलु किनेर उसिनेर खायौं । चौरीको घिउ हालेको चिया पियौं । परिवार सबै बोलाइला थिए ।

पहिलो पटक त्यही छिरिङ आङ्मु शेर्पासँग देखभेट भयो । मैले उनलाई बहिनी भनेर सम्बोधन गरेकी थिएँ ।

१६ गते घुङ्सा पुग्यौं । ७० वर्ष आसपासका सोनाम लामाकहाँ बास बस्यौं । त्यहाँसम्म आइपुग्दा भोटे समुदायको लिपिका अक्षरहरु, मन्त्रहरु ढुङ्गामा खोपेका आकृति थुप्रै ठाउँमा देखेका थियौं । पछिपछि लिपि, अक्षरहरु नहराओस् भनेर यसो गरिएको हो भन्थे बुढापाकाहरु ।

१७ गते बिहानै हिँडेर पारुम्तेम्बे पुग्यौं । जहाँ एउटा ठूलो गुफा छ । गुफाभित्रको रहस्यले भन्दा बढी यताउताको वातावरणले मेरो ध्यान तानिरहेको थियो । थरीथरीका फूलहरु फूलिरहेका थिए । त्यहाँको वातावरण यति पवित्र महसुस भइरहेको थियो, मानौं म कुनै अलौकिक दुनियाँमा पुगेकी छु ।

गुफाभित्रको रहस्यले भन्दा बढी यताउताको वातावरणले मेरो ध्यान तानिरहेको थियो । थरीथरीका फूलहरु फूलिरहेका थिए । त्यहाँको वातावरण यति पवित्र महसुस भइरहेको थियो, मानौं म कुनै अलौकिक दुनियाँमा पुगेकी छु ।

हामी हिमालको नजिक पुग्दै थियौं । कठ्याङ्ग्रिँदो जाडो महसुस हुनुपर्ने हो, तर मलाई त्यति बिघ्न जाडो महसुस भइरहेको थिएन । सायद जाडोको अनुभूतिलाई फक्ताङलुङ दर्शन गर्न पाउने उत्साहले जितिरहेको थियो ।

१८ गते बिहानै मारुम्तेम्बे पुग्यौं । अलि मास्तिर हिँडेपछि एउटा खोला आयो । निश्चल पानी बगिरहेको थियो । त्यो खोलालाई कसैले बैतर्नी खोला त कसैले इमबिरी यङधङ्वा (तमोर) भनिरहनु भएको थियो । हामी त्यो खोलालाई पछ्याउँदै निकै माथिसम्म पुग्यौं ।

अनि हामी पुग्यौं फक्ताङलुङ ।

हामीले फक्ताङलुङलाई सेवारो गर्‍यौं । तागेरानिङ्वाभुमाङको बास यतै छ जस्तो, तागेरानिङ्वभुमाङको काखैमा पुगेको जस्तो ! बाटोमा खोला तर्दा होस् या देउरालीमा पाती चढाउँदा, तागेरानिङ्वाभुमाङलाई पुकारिरहेका थियौं ।

फक्ताङलुङलाई नजिकैबाट देख्दा हामीले पुकारेको अदृश्य तागेरानिङ्वाभुमाङलाई भेटे जस्तो लागिरहेको थियो । घाम झलल लागिरहेकोले पनि होला, फक्ताङ्लुङ बडो सुन्दर देखिएको थियो । मन त थियो फक्तााङलुङको अझ नजिक जाऔं, तर कुल्चन नपरोस्, बरु आस्था र प्रेमले निहुराएर शीर स्पर्शमात्रै गरिरहन परोस् ।

काङ्बा मामा पुजारी हुनुहुन्थ्यो । हामीले त्यहाँ पूजा गर्‍यौं । आस्थाका फूलहरु अर्पण गर्‍यौं । मनोकाङ्क्षाहरु पूरा होस् भनेर कामना गर्‍यौं । कुनै कष्ट र बाधाविना हाम्रो पूजा सम्पन्न भयो ।

यसपछि हामी पुनः पारुम्तेम्बेमा फर्कनुपर्ने भएकाले पूजा सकिएको केही समयपछि हिँड्यौं । मन हलुका भएको थियो । ज्यानमा बेग्लै स्फुर्ती छाएको थियो । घर फर्कनुको साटो यतै बसौं जस्तो लाग्दालाग्दै फर्कनैपर्ने भयो ।

बाटोमा फुलेका थरीथरीका फूलहरु टिप्दै टिप्दै हिँडिरहेकी थिएँ । तल पारुम्तेम्बे आइपुग्दा १०० थरीकै फूल पो टिपिसकेकी थिएँ होला हौ ! १८ गतेको रात त्यही काट्यौं । फक्ताङलुङको दर्शन राम्ररी पाएकोले राति निकै अबेरसम्म हर्षले गफियौं, नाच्यौं र गायौं पनि ।

छिरिङ आङ्मुले चाहिँ मित लाउने मन बनाइसकेकी रहिछिन् । मलाई भने अस्ति फक्ताङलुङ जाँदा बहिनी भनेको मान्छेलाई अब मित भन्न अप्ठ्यारो लागिरहेको थियो, तर रामकुमार काका, लक्ष्मीनारायण बाजेले कर गर्नुभएपछि मित लगाउन तयार भएँ ।

२१ गते अर्थात् हाम्रो नवौं दिनको यात्रा । १९ गते नै हामी घुङ्सा आइपुगेका थियौं । २० गते घुङ्सा घुम्यौं । दूध पोखरीसम्म पुग्यौं र २१ गते घुङ्साबाट बिहानै हिँडेर हामी ग्याप्ला पुग्यौं । राति लगभग ७ बजेसम्म खाना बनाएर खाइसकेका थियौं । खाना बनाउनमै व्यस्त भएका कारण मलाई बल्ल गफिने फुर्सद मिलेको थियो ।

गफकै क्रममा रामकुमार काकाले भन्नुभयो, ‘अब छिरिङ आङ्मु शेर्पासँग मित लाउनुपर्छ है ।’

मित लाउने कुरासँग त्यति मतलब नभएकाले खासै वास्ता गरेकी थिइनँ । छिरिङ आङ्मुले चाहिँ मित लाउने मन बनाइसकेकी रहिछिन् । मलाई भने अस्ति फक्ताङलुङ जाँदा बहिनी भनेको मान्छेलाई अब मित भन्न अप्ठ्यारो लागिरहेको थियो, तर रामकुमार काका, लक्ष्मीनारायण बाजेले कर गर्नुभएपछि मित लगाउन तयार भएँ ।

काङ्बा मामाले हामीलाई विपरीत दिशातर्फ उभ्याउनु भयो । र, बिचमा एकअर्कालाई नदेख्ने गरी मजेत्रो टाङ्गिदिनु भयो । एकैछिनअघिको सामान्य परिस्थिति एकैछिनपछि बडो असामान्य बनेको थियो । काङ्बा मामाले सोध्नुभयो, ‘मित लाउन राजी छौ ?’

छिरिङ आङ्मुलाई पनि सोध्नुभयो ।

हामी दुवैले भन्यौं, ‘हामी राजी छौं ।’

यसपछि काङ्बा मामाले मजेत्रो हटाइदिनु भयो । यसपछि भने हमीलाई एकअर्काको अनुहार हेर्न बडो असहज जस्तो भइरहेको थियो । अनि बाचा गराइदिनुभयो, ‘आकाश-पातालको देवीदेउता, नागनागिन सबै देउदेउताले यिनीहरुलाई दुःख नदिनू, भेटघाट भइरहोस् । जहिले मितको सम्बन्ध नजिक भइरहोस् है !’

एकअर्कालाई ढोगाढोग गर्‍यौं ।

अलि समय अघिसम्म अपरिचित मान्छे, जोसँग भेट्नु र छुट्नुले कुनै अर्थ नराख्न पनि सक्थ्यो, तर एकैछिनमा हामी यति नजिक भयौं कि भोलि म ग्याप्ला छाडेर हिँड्नुपर्छ भन्ने कुराले हामी दुवैलाई चिमोटिरहेको थियो ।

‘चिनो के साट्छौ?’, काङ्बा मामाले दुवैलाई सोध्नुभयो ।

छिरिङ आङ्मुले भनिनु, ‘मेरो चाहिँ चिनो गलैँचा र यो गाम्सा है ।’

उनले मिश्रित रङको गलैँचा र ऊनको गाढा मखमलको गम्छा दिएकी थिइन् । मसँग उपहार दिनलाई त्यस्तो खास केही थिएन । एउटा औंठी लगाएकी थिएँ, त्यही दिएँ ।

मित लगाएको खुसीयालीमा खानपिन र नाचगान चल्यो । मितआमा, दुई जना मित दिदी सबै हर्षित हुनुहुन्थ्यो । मित बुवा र दुई भाइ गोठ गएकाले भेट भएन ।

भोलि बिहानै हिँड्नु थियो । मितसँगै सुत्न हुँदैन भनेपछि दिपेश्वरी दिदीलाई बीचमा पारेर सुत्यौं । ‘फेरि भेटघाट कहिले भइन्छ होला नि साथी’ भन्दै अबेरसम्म कुरा गरिरह्यौं । अलि समय अघिसम्म अपरिचित मान्छे, जोसँग भेट्नु र छुट्नुले कुनै अर्थ नराख्न पनि सक्थ्यो, तर एकैछिनमा हामी यति नजिक भयौं कि भोलि म ग्याप्ला छाडेर हिँड्नुपर्छ भन्ने कुराले हामी दुवैलाई चिमोटिरहेको थियो ।

नबितोस् लागेको समय मिलिक्कै बितेको अनुभव हुन्छ । ठीक त्यस्तै भयो । घाम हतारहतार पूर्व क्षितिजमा टुप्लुक्क आइपुग्यो ।

अब ग्याप्ला छाड्नुपर्ने भयो । मितिनीलाई छाड्नुपर्ने भयो । जाने बेला मितिनीले उवाको रोटी बनाइदिनु भयो । उवाको रोटी यति नरम र मीठो थियो कि करिब ३० वर्षपछि पनि अझैसम्म स्वाद मुखमै झुण्डिएको छ । आङ्मु निकै तलसम्म पुर्‍याउन आएकी थिइन् । हामी खुब रोएका थियौं ।

‘रुँदै छुटियो भने भेट हुँदैन है । छुट्ने बेलामा रुनु हुँदैन’, काकाहरुले गाली गरिरहनु भएको थियो । खसेर जाने आँसु रोकेर नरोकिने रहेछ । हामी रुँदै रुँदै छुटिएका थियौं ।

करिब तीस वर्षपछि पनि बेला बेला आमा ऊनको गाढा मखमलको गम्छा हेर्दै आफ्नो मितिनी छिरिङ आङमु शेर्पाको कुरा गरिरहनु हुन्छ । जोसँग मित लगाएपछि आमाको कहिल्यै भेट भएको छैन । एकचोटी बोजु पनि फक्ताङलुङ यात्रामा जाँदा आङ्मुले मेरी आमाका लागि भनेर बोजुको हातमा आफ्नो फोटो पठाउनु भएको रहेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *