३० वर्षदेखि स्टेरिङ घुमाउँदै फनिराम- ‘चालक आफ्नो दायित्व र जिम्मेवारीमा कहिल्यै चुक्नुहुन्न’
रुपन्देही । दाङको तुलसीपुरका ४४ वर्षीय फनिराम रेग्मी ३० वर्षदेखि निरन्तर सवारीसाधन चलारहेका छन् । ज्यानले सक्दासम्म यही पेशालाई निरन्तरता दिने उनको सोच छ । संयोग मान्नुपर्छ- तीन दशकदेखि स्टेरिङ घुमाउँदै आएका उनी अहिलेसम्म सानोठूलो कुनै पनि दुर्घटनामा परेका छैनन् ।
धेरैजसो चालक तथा सवारीधनीले यात्रुमार्फत भाडा उठाउनेमात्रै ध्यान दिन्छन्, तर रेग्मीले यात्रुको समस्याका बारेमा समेत उस्तै चासो राख्दै आएका छन् र सकेसम्म सहयोग पुर्याउँदै आएका छन् । फनिराम आफ्नै गाडी चलाउँछन् ।
उनले सानैमा गाडीप्रतिको चाखले यो क्षेत्रमा लागेको र यसबाट नै भविष्य खोजिरहेको बताए । सामान्य साक्षर उनले २०५२ सालदेखि स्टेरिङ घुमाउँदै आएका हुन् । धेरै वर्ष अरुको गाडी चलाएका उनी अहिले आफ्नै गाडी हाँकिरहेको छन् ।
फनिरामका बुवा प्यूठानबाट दाङ बसाइ सरेका हुन् । उनी दाङमै जन्मेकाले प्यूठानको बारेमा खासै जानकारी छैन । उनको गाडीको कमाइबाट श्रीमती, दुई छोरी र एक छोराको परिवार पालिएको छ । गाडी चलाएरै छोरालाई ६० लाख खर्च गरेर न्युजिल्यान्ड पढ्न पठाएका छन् ।
फनिरामका अनुसार गाडीबाट अहिले मासिक करिब डेढ लाख आम्दानी भइरहेको छ । उनले सुरुमा ३ वर्ष शेर्पा गाडी चलाए । पहाडी जिल्लाहरुमा चल्ने शेर्पा गाडीपछि उनले ७ वर्ष भाडामा चल्ने निजी गाडी चलाए । त्यसपछि ६ वर्ष हाइस चलाएर १५ वर्षयता उनी मिनी बसको स्टेरिङ घुमाइरहेका छन् ।
‘धेरै वर्ष अरुको गाडी चलाइयो, आफ्नै किनेर चलाएको पनि १२ वर्ष भयो, आफ्नै गाडी चलाएपछि चालकको खर्च बचत हुने भएकाले यही गरिरहेको छु’, उनले भने, ‘धेरै पढ्न पाइएन, यसमै भवियय खोजेर यही काम गरिरहेको छु, ३० वर्ष भयो, अब कति सकिन्छ, यही काम गर्नुको विकल्प छैन ।’
३० वर्षको स्टेरिङ घुमाइमा जानेर छेपारोसमेत नमारेको उनको भनाइ छ । ‘धेरै साथीहरु विभिन्न घटनामा परेको सुनेको छु, मेरो यो सबैभन्दा ठूलो उपलब्धि हो, अर्कोतर्फ स्टेरिङमा बसेपछि आफ्नो जिम्मेवारी पनि सम्झनुपर्दछ’, फनिरामले भने, ‘भवितव्य आउने विषय अलग हो, तर स्टेरिङ सीटमा बसेपछि चालकले पनि आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्नुपर्छ, म त्यसमा कहिल्यै चुकिनँ ।’
सवारी चालकप्रति समाजले हेर्ने दृष्टिकोण नै फरक भएको बताउँदै उनले सबै गाडी धनी र चालक खराब हुन्छन् भन्ने सोचमा परिवर्तन हुनुपर्ने बताए । उनका अनुसार अहिले बजारमा पुरानो मोडलका सवारीसाधनहरुप्रति यात्रुको चासो कम हुँदै गएको छ, तर विद्युतीय (इलेक्ट्रिक) गाडीमा चासो बढेकोले चुनौती बढेको छ ।
‘रुट फेरेर गाडी चलाउनुपरेको छ, पहिले नेपालगञ्ज-दाङ चलाएको थिएँ । त्यता बढी इलेक्ट्रिक गाडी आएर अहिले बुटवल-तुलसीपुर चलाइरहेको छु’, उनले भने, ‘ अब यो गाडी कतै व्यवस्थापन भएमा सानो गाडी किनेर चलाउने हो, अब ठूला गाडीको भविष्य छैन हाम्रो देशमा ।’
फनिरामले ३० वर्षको बीचमा राजनीतिक दलहरुलाई पनि धेरै सहयोग गरेको सुनाए । धेरै पार्टीका कार्यक्रममा आफू गाडी लिएर हिँडेको उनको भनाइ छ । २०५७ सालमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र तत्कालीन महासचिव डिलाराम आचार्यसहितको रक्तिम टोलीलाई लिएर १८ दिनको पहाडी यात्रामा हिँडेको उनी स्मरण गर्छन् । आफू पहाडमा पहिलो पटक निस्केको, सानो र साँघुरो बाटोमा केही डराएको देखेपछि जनमोर्चाका अध्यक्ष केसीले ‘चालक भएपछि डराउनुहुँदैन, गाडीमा समस्या नभएपछि बाटो भएपछि ढुक्क भएर चलाउनुपर्छ’ भनेपछि पूरै दिन घुमेको फनिराम बताउँछन् ।
माओवादी सशस्त्र युद्धकालमा तत्कालीन माओवादी र प्रहरीलाई गाडीमा धेरै स्थानमा पुर्याएको उनले बताए । ‘गाडी चलाउने व्यक्तिलाई त्यो समयमा धेरै समस्या थियो’, उनी भन्छन्, ‘माओवादी र प्रहरीको उस्तै निसानीमा परिन्थ्यो, सबैलाई सक्दो सहयोग गरियो, तर कतै केही घटनामा परिएन ।’
दलीय रुपमा कांग्रेसमा आवद्ध भए पनि गत निर्वाचनमा उनले पुराना पार्टीलाई मत नदिएको खुलाए । ‘कांग्रेसलाई धेरै पटक भोट दिइयो, तर खासै केही भएन, नयाँलाई हेरौं भनेर हो’, उनले भने ।
धेरै व्यवसायीहरु राजनीतिमा चासो राख्न नहुने भन्छन्, तर व्यवसायीहरुले आफ्नो देशका दलका विषयमा ज्ञान राख्नुपर्ने उनको भनाइ छ ।
‘हरेक व्यक्ति दलका विषयमा जानकार हुनुपर्छ, तर झन्डा नै बोकेर हिँड्नुपर्दछ भन्ने होइन’, उनी भन्छन्, ‘हरेक व्यक्ति दलका विषयमा, सरकारका विषयमा, उसले गरेका राम्रा र नराम्रा कामको विषयमा जानकार हुनुपर्छ भन्ने लाग्छ ।’
अहिले युवा शक्तिको बढ्दो विदेशमोहले बजारमा पहिले जस्तो चहलपहल कम भएको उनको बुझाइ छ । ‘पछि यहाँ चाहिने जनशक्ति नै नपाइने हुनसक्छ, तपाईं हाम्रा छोराछोरी नै बाहिर गएपछि आउने समस्या नै हो’, उनको विश्लेषण छ ।