एमाले प्रदर्शनका कारण दरबारमार्गको काराेबारमा कराेडाैं क्षति भएकाे व्यापारीकाे दाबी – Nepal Press

एमाले प्रदर्शनका कारण दरबारमार्गको काराेबारमा कराेडाैं क्षति भएकाे व्यापारीकाे दाबी

काठमाडौं । नेकपा (एमाले) ले शुक्रबार आयोजना गरेको जागरण सभाका कारण दरबारमार्ग क्षेत्रका विभिन्न व्यापार व्यवसायले करोडौंको क्षति व्यहोर्नुपरेको छ ।

दरबारमार्ग विकास बोर्डका अध्यक्ष सन्जिव तुलाधरका अनुसार शुक्रबार त्यहाँ सञ्चालित अति सामान्यदेखि उच्च लगानीका सबै व्यवसाय ठप्पप्रायः हुन पुग्यो । फलतः पाँच करोडभन्दा माथिको व्यापारिक कारोबारमा असर गर्न पुगेको उनी बताउँछन् ।

‘हामीले एमालेका नेताहरूलाई यहाँ कार्यक्रम नगरिदिनुस् भनेर धेरैचोटि अनुरोध गरेका थियौं, तर उहाँहरुले मान्दै मान्नुभएन’, तुलाधरले भने । दिउँसोको कार्यक्रमका लागि बिहानैदेखि ट्राफिक डाइभर्सन गरिँदा विभिन्न व्यवसाका ग्राहकदेखि ती व्यवसायमा आश्रित कामदार र व्यवसायीसमेत मारमा परेको उनी बताउँछन् ।

‘राष्ट्रिय दिवस मनाउने भनेर असोजमा कन्सर्ट गर्ने कुरा आयो, हामीले देशको महत्त्वपूर्ण कार्यक्रम हुनुपर्छ भनेर सक्दो सहयोग नै गरेका थियौँ, त्यसमा नाफा घाटा हेर्ने कुरा भएन’ उनले भने, ‘तर, पार्टीपिच्छेका कार्यक्रमका लागि दरबारमार्गजस्तो व्यापारिक क्षेत्र ठप्प पार्ने काम प्रधानमन्त्रीज्यूकै पार्टीले गर्नुहुँदैन थियो ।’

एमाले सभाकै कारण दरबारमार्गमा अन्य शुक्रबार हुने गरेको व्यापार यो शुक्रबार करिब ७० प्रतिशतले घाटामा गएको बताउँछन्, सेकुवा बाई किलो रेस्टुरेन्टका सञ्चालक रोहित किङरिङ मगर । ‘दिउँसो त बनीसमेत भएन, राति मान्छे आए, तर अकुपेन्सी (नियमित खर्च) पनि कभर भएन’ उनले भने ।

एमालेको दिउँसोको कार्यक्रमलाई दृष्टिगत गर्दै प्रहरीले शुक्रबार विहान ६ बजेदेखि नै कमलादी, जमल, जय नेपाल रोड र केशरमहलबाट त्यहाँ प्रवेश गर्ने नाका बन्द गरेको थियो ।

बेलुकी ६ बजे बाटो खोलियो, तर ग्राहक अन्यत्र गएका कारण रातिको व्यापारसमेत सुनसान भएको भन्छन्, ट्री हाउस क्याफेका सञ्चालक राजु पुरी । ‘अरु शुक्रबार विहान ३-४ बजेसम्म क्याफे चल्थ्यो, यो शुक्रबार ११ पनि नबजी बन्द गर्नुपर्‍यो उनले भने ।

सत्तारुढ नेकपा एमालेले शुक्रबार काठमाडौंमा जागरण सभा गरेकाे थियाे ।

देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निरासा छर्न खोजेको ठहरसहित सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि भन्दै एमालेले दरवारमार्ग क्षेत्र ठप्प बनाएर  शक्ति प्रदर्शन गरेको थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *