दरबार मार्गमा सरसफाइ गर्दागर्दै जरिवानाको चिर्कटो आएपछि – Nepal Press

दरबार मार्गमा सरसफाइ गर्दागर्दै जरिवानाको चिर्कटो आएपछि

हिजो (मंसिर ७ गते) काठमाडौंको दरबारमार्गमा नेकपा एमाले उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) को आयोजना र व्यवस्थापनमा जागरणसभा सम्पन्न भयो । उक्त सभालाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुभएको थियो ।

नेकपा एमालेद्वारा दरबार मार्गमा आयोजित जागरण कार्यक्रम सकिएपछि फोहोर संकलन गर्ने नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीको पूर्व निर्धारित कार्यक्रम नै थियो । जसलाई उपत्यका विशेष प्रदेशका अध्यक्ष प्रेम पराजुलीले समन्वय गर्दै निर्देशनसमेत दिनुभएको थियो । त्यहीअनुरुप हामी कार्यक्रमस्थलमा नै थियौं । केही साथीहरु घर गइसक्नुभएको थियो, तर पूर्वनिर्धारित कार्यक्रम भएको हँुदा हामीहरु त्यही नै थियौं ।

उता मञ्चको सामान उठाउने कार्य हुँदै थियो भने यता हामीले (म, प्रदेश कमिटी सदस्य नवराज खतिवडा, प्रकाश भट्टराई, पेशागत विशेष जिल्ला कमिटीका अध्यक्ष मोहन पराजुली, जिल्ला कमिटीका सदस्य मुरारी वस्ती, सुरथ उप्रेती युवा विद्यार्थी विशेष जिल्ला कमिटी सदस्य रुपेश अधिकारी, प्रवेश कटुवाल आदि) महेन्द्र सालिकको छेउबाट सरसफाइ सुरु गर्दै थियौं । केही साथीहरु सरसफाइको सामान लिन असन र नयाँ सडक जानुभएको थियो ।

अब जाऔं कामनपाको प्रोप्रोगान्डातर्फ

फोहोर संकलन सुरु गरेपछि सडकको दुवै किनारामा हामीले जम्मा गर्न थाल्यौं । उपमेयर सुनिता डंगोलसँग कुराकानी भएको थियो । उहाँले ‘सफाइको कर्मचारीसँग कुराकानी गरेको छु, केही समयमा नै फोहोर संकलन गर्ने गाडी आउँछ, तपाईंहरु आफ्नो काम गर्दै रहनुहोला’ भन्नुभयो ।

उपमेयर सुनिता डंगोलसँग कुराकानी भएको थियो । उहाँले ‘सफाइको कर्मचारीसँग कुराकानी गरेको छु, केही समयमा नै फोहोर संकलन गर्ने गाडी आउँछ, तपाईंहरु आफ्नो काम गर्दै रहनुहोला’ भन्नुभयो ।

हामीहरु सरसफाइमा नै ब्यस्त थियौं । फोहोर संकलन गर्ने गाडी आउला भन्दाभन्दै साँझको करिब ८ बजिसकेको थियो, तर फोहोर संकलन गर्ने गाडी आएन । महानगरले गाडी नपठाएपछि एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य र युवा विद्यार्थी विशेष जिल्ला कमिटीका इन्चार्ज रमेश पौडेलसँग समन्वय गर्दै हामीहरु तीनकुने (कोटेश्वर) मा पुगेर भाडाको गाडी खोजेर ल्यायौं । त्यसपछि संकलन गरेको फोहोर उठाउन हामीलाई सुजिता शाक्य, रमेश पौडेल, युवा संघका उपाध्यक्ष अमित लामालगायतले गाडीमा राख्न सहयोग गर्नुभयो । फोहोर ललितपुरको बालकुमारी लगेर व्यवस्थापन गर्‍यौं ।

जब हामी छक्क पर्‍यौं

हामी सरसफाइ गर्दै थियौं । मञ्चको सामान व्यवस्थापनमा केही ढिला भएको हुँदा हाम्रो काम केही समय लम्बिएको थियो । हामी निरन्तर काममा नै थियौं । रमेश पौडेलले फेसबुक लाइभ गर्दै हुनुहुन्थ्यो । कामनपाले गाडी त पठाएन नै एउटा जरिवानाको चिर्कटो पठाएछ । त्यो कुरा हामीले त्यही बेलामा थाहा पाएका थियौं । कामनपाले यति सानो कुरामा स्टन्ट गरेर के पायो ? कामनपाको काम हामीले नै गरेका थियौं, तर गाडी पठाऊभन्दा समेत चिर्कटो पठाउने कामनपाको नियत त प्रस्ट बुझिएन र ?

हामीले सरसफाइ गर्दा केही युट्युबर साथीहरु पनि भिडियो खिच्दै हुनुहुन्थ्यो । त्यसपछि उहाँहरु जानुभयो । सायद हाम्रो कामको कन्टेन्ट उहाँहरुको च्यानलमा नबिक्ने भएर होला, उहाँहरु जानुभएछ । फोहोर व्यवस्थापन गरेर म बासस्थान पुग्दा रातको ११ः३० बजेको थियो । खाना खाएर, सरसफाइबारे एउटा पोस्ट गरेर, मोबाइल स्विच गरेर सुते । बिहान उठेर मोबाइल स्विच अन गर्नासाथ अनन्य मित्र किरण देउजाको फोन आयो । त्यही बेलामा नै उहाँले यो विषयले राष्ट्रियस्तरमा गम्भीर बहस भएको कुरा सुनाउनुभयो ।

यो विषय यति धेरै चर्चा हुन्छ भन्ने लागेको थिएन । हामीले चर्चा बटुल्न काम गरेका थिएनौं, मात्र हाम्रो जिम्मेवारी निर्वाह गरेका थियौं । हामीलाई महानगरपालिकाले धन्यवाद दिनुको सट्टा फोहोर माथि राजनीतिक गरेको देख्दा धेरै दुःख लागेको छ ।

(लेखक खत्री युवा विद्यार्थी विशेष जिल्ला कमिटीका उपाध्यक्ष हुन् ।)


प्रतिक्रिया

3 thoughts on “दरबार मार्गमा सरसफाइ गर्दागर्दै जरिवानाको चिर्कटो आएपछि

  1. गल्ती गल्टिनै हुन्छ। त्यो। गल्तिनै थियो स्वीकार गर्न छोडेर प्रतिकार गरेको देखियो कानुन कानून प्रष्ट छ फाइल बोकी अदालत गए भइहाल्यो नि महोदय
    मैले प्रत्यक्ष मेरै आँखाले देखेको छु विगत का केही सभा हरु एमाले मात्रै नभै अरु हरुको चर्तिकला पनि त्यस्तै हो देखेकै कुरा हो ।
    बचाउ गर्न कै लागि केही युवा नेता हरुले केही थान। फोटो खिचेर फेसबुकमा राख्ने केही भिडियो फुटेज बनाउने र फोहर जाँ को त्यहि छोड्ने चलन उहिले देखिकै हो महोदय

  2. यस्तै हो भने यस किसिमको जानकारी आम नागरिकमा पुर्याउन ब्यापक प्रचार-प्रसार हुनु पर्ने देख्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *