जुम्लाका स्याउ किसानहरूसँग मुख्यमन्त्री कँडेलको संवाद
सुर्खेत । स्याउ खेतीमा नेपालकै अग्रणी मानिएको जुम्लामा किसानहरूले भोगिरहेका समस्या समाधानका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रत्यक्ष रूपमा संवाद गरेका छन्।
खलंगामा आयोजित कार्यक्रममा ७० भन्दा बढी स्याउ किसानहरूसँग छलफल गर्दै उनले स्याउ खेतीको गुणस्तर, बजार प्रवर्द्धन, र सरकारी सहयोगलाई सुदृढ बनाउन प्रतिबद्धता व्यक्त गरेका हुन्।
कार्यक्रममा किसानहरूले किराको महामारी, रासायनिक मल र विषादीको निषेध, गुणस्तरहीन नर्सरी, र प्राविधिक सहयोगको अभावका कारण खेतीमा देखिएका चुनौतीबारे मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
पातारासीका किसान लक्ष्मण बोहोराले स्याउमा किराको समस्या गम्भीर हुँदै गएको बताउँदै समाधानको माग गरे।
अर्का किसान गोविन्द शाहीले जुम्लामा १ अर्बको लगानीमा स्थापना गरिएको ग्रेडिङ मेसिन विद्युत् अभावका कारण सञ्चालनमा नआएको गुनासो राखे ।
मुख्यमन्त्री कँडेलले किसानहरूको समस्यालाई समाधान गर्न सरकार प्रतिबद्ध रहेको रहेको बताए ।
उनले स्याउ खेतीलाई व्यवस्थित र प्रभावकारी बनाउन किसान, सरकारी, र गैरसरकारी निकायहरूबीचको सहकार्यलाई बलियो बनाउनु पर्नेमा जोड दिए।
यसअघि, मुख्यमन्त्री कँडेलले जुम्लाको सबैभन्दा ठूलो स्याउ बगैँचा रहेको सानो गुठीचौरस्थित हिमाली टी एन्ड एग्रो फार्मको अवलोकन गरेका थिए ।
कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद शाह, प्रदेशसभा सदस्यहरू, र स्थानीय सरोकारवाला कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।
किसानहरूको कुरा सुनेपछि सरकार आगामी दिनमा थप ठोस नीति, कार्यक्रम, र सहकार्यका साथ अगाडि बढ्ने संकेत गरेको छ ।