बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
गलेश्वर । विगत ४१ वर्षदेखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै आएका बेनी नगरपालिका– २ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्की यतिबेला तिनको बिक्रीमा व्यस्त छन् ।
जिल्लाको पर्यटकीयस्थल लभ्लीहिलसँगै जोडिएको जग्गामा उनले उत्पादन गरेका प्याज, काउली, ब्रोकाउली, बन्दा, गोलभेँडाका बेर्ना खरिद गर्नेको दैनिक भीड लाग्ने गरेको छ ।
दैनिक ६० जनाभन्दा बढी ग्राहक बेर्ना खरिद गर्न आफ्नो नर्सरीमा आउने गरेका उनले बताए । मङ्सिर पहिलो सातासम्म विरुवा बिक्री गरेर उनले रु दुई लाखभन्दा बढी आम्दानी गरेको जानकारी दिए ।
“हालसम्म रु दुईलाख १० हजार बराबरका बेर्ना बेचेँ । नर्सरीमा विभिन्न जातका बेर्ना हुर्कदै छन् ” उनले भने । उनको परिवारका चार सदस्यको इलम पनि बेर्ना उत्पादन भएको छ । बेर्नासँगै उहाँले सागसब्जी पनि लगायनु भएको छ । जैविक उत्पादन भएकाले ती खरिद गर्न उनको बारीमा नै ग्राहकको भीड लाग्ने गरेको छ । बेनी बजारमा पनि उहाँका उत्पादन केही घण्टामा उपभोक्ताका घरमा पुगिसक्छन् ।
सागसब्जीका बेर्ना खरिद गर्न कार्कीको नर्सरीमा रत्नेचौर, भकुण्डे, गौश्वारा, बगरफाँट, पुलाचौर देखि पर्वतको मल्लाज र बागलुङको कुँडुले,बान्द्रे लगायतका स्थानबाट किसान आउने गरेका छन् । उनले एक याममा बेर्ना बेचेर रु दुई लाखभन्दा बढी आर्जन गर्दै आएको बताए । दुई रोपनी जग्गामा उहाँको नर्सरी फैलिएको छ । “बीउ र मलमा रु ३० हजारदेखि ४० हजारसम्म लगानी हुन्छ । एकै सिजनमा रु दुई लाखदेखि तीन लाखसम्म आम्दानी गर्न सफल भएको छु”, कार्कीले भने ।