सेबोनको अध्यक्ष चयनका लागि अन्तर्वार्ता शुरु, दुई जना मात्रै उपस्थित
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि अन्तर्वार्ता शुरु भएको छ । अध्यक्ष चयनका लागि अर्थ मन्त्रालयमा बिहान साढे ८ बजेदेखि अन्तर्वार्ता जारी छ ।
मन्त्रालयले अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका नेपाल स्टक एक्सचेन्ज प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ र सेबोनका कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई आज बोलाएको थियो । तर, अन्तर्वार्ताका लागि दुई जना मात्रै उपस्थित भएको मन्त्रालय स्रोतले बतायो ।
स्रोतले नेपाल प्रेससँग भन्यो, ‘तीन जनाका लागि आज बिहान ८ः३० बजे बोलाइएको छ । अहिले १० बजेसम्म दुई जना मात्रै उपस्थित भएका छन् ।’
उनका अनुसार अन्तर्वार्ताका लागि नेपाल स्टक एक्सचेन्ज प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र सेबोनका कार्यकारी निर्देशक डा।नवराज अधिकारी मात्रै उपस्थित भएका हुन् । बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ भने हालसम्म उपस्थित भएका छैनन् ।
सेबोनका तत्कालीन अध्यक्ष रमेश हमाल दुई वर्षे कार्यकाल सकाएर २०८० पुस २० गते बाहिरिएसँगै त्यसयता सेबोन नेतृत्वविहीन अवस्था छ ।