एनपीएल : के मार्की प्लेयर नै स्वत: कप्तान हुन्छन् ? यसो भन्छन् टीम मालिकहरू – Nepal Press

एनपीएल : के मार्की प्लेयर नै स्वत: कप्तान हुन्छन् ? यसो भन्छन् टीम मालिकहरू

काठमाडौं । मङ्सिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि ८ वटै फ्रेन्चाइज टोलीले धमाधम आफ्नो तयारी गरिरहेका छन् ।

स्वदेशी खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ भने विदेशी खेलाडी भित्र्याउने क्रम पनि जारी छ ।

प्रतियोगिता सुरु हुन एक साताभन्दा कम समय बाँकी हुँदा पनि फ्रेन्चाइजीहरुले टीम कप्तान भने घोषणा गरेका छैनन् । सबै फ्रेन्चाइजले टीम निर्माण गर्नु अगाडि नै एक–एक जना मार्की खेलाडी भने घोषणा गरेका थिए । धेरैले मार्की खेलाडी नै स्वतः कप्तान हुने अनुमान गरिरहेका छन् ।

विराटनगरको किङ्समा सन्दीप लामिछाने, जनकपुर बोल्ट्समा आसिफ शेख, चितवन राइनोजमा कुशल मल्ल, काठमाडौँ गुर्खाजमा करण केसी, पोखरा एभेन्जर्समा कुशल भुर्तेल, कर्णाली याक्समा सोमपाल कामी र सुदूरपश्चिम रोयल्समा दीपेन्द्रसिंह ऐरी मार्की खेलाडीको रूपमा छन् ।

फ्रेन्चाइज क्रिकेटमा कुनै पनि टिमले विशेष आकर्षण र प्रभावका लागि आफ्नो प्रमुख स्टार खेलाडीलाई ‘मार्की’ खेलाडीका रूपमा हाइलाइट गर्ने प्रचलन छ । टोलीलाई ब्रान्डिङ गर्ने र दर्शकको ध्यानाकर्षण गर्ने उद्देश्यले मार्की खेलाडी छनोट गर्ने गरिन्छ ।

मार्की खेलाडीले अरूभन्दा बढी तलब सुविधा पाउन सक्छन् । धेरैजसो टोलीले मार्की प्लेयरलाई नै कप्तान बनाएका हुन्छन् । यद्यपि, मार्की खेलाडीलाई नै टिम कप्तान बनाउनुपर्छ भन्ने बाध्यता भने हुँदैन । टिममा मार्की र कप्तान फरक–फरक रहेका त्यस्ता धेरै उदाहरण छन् । गत वर्ष भएको नेपाल सुपर लिगमा धनगढी एफसीको मार्की प्लेयर आशिष चौधरी हुँदा कप्तान भने देवेन्द्र तामाङ थिए ।

के त्यसो भए एनपीएलमा पनि मार्की प्लेयर र कप्तान फरक फरक हुन्छ ?

धेरैजसो टिम मालिक मार्की प्लेयरलाई नै कप्तान बनाउनुपर्ने पक्षमा छन् । भारतका शिखर धवनलाई भित्र्याएको कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेले स्वदेशी खेलाडीलाई नै कप्तान बनाउनु व्यवहारिक हुने बताए ।

उनले भने, ‘विदेशी खेलाडी खेलेर पारिश्रमिक लिन्छ, जान्छन् । उनीहरुले बीचमै छोड्नुपर्ने पनि हुन सक्छ । नेपाली खेलाडी त स्थायी रूपमा यतै रहिरहने हो । त्यस कारण नेपाली खेलाडीलाई नै कप्तान बनाउनुपर्छ भन्ने पक्षमा छु ।’

अन्तिम निर्णय भने प्रशिक्षकले लिने उनको भनाइ छ । अन्य टिम मालिकहरूले पनि कप्तान प्रशिक्षण टोलीले छान्ने भन्दै व्यवस्थापनले हस्तक्षेप गर्न नहुने बताए । केही ओनर भने विदेशी खेलाडीलाई कप्तानी दिने पक्षमा देखिए । अनुभवी विदेशी खेलाडी भित्राएको भन्दै कप्तानको बारेमा सल्लाह गरेर निर्णय लिने उनीहरूको भनाइ छ ।

विराटनगरका मालिक बैंकटेस मुन्द्राले मार्की खेलाडी सन्दीप लामिछाने नै कप्तान बन्ने बताए । जनकपुरका जीएम निरोज खतिवडाले आजभोलिमै प्रशिक्षण सुरु हुने र कप्तानको घोषणा गर्ने जानकारी दिए ।

यस्तै, चितवनका प्रबन्ध निर्देशक आयुष न्यौपानेले कप्तान छनोट गर्ने कुरा व्यवस्थापनको पाटो नहुने प्रतिक्रिया दिएका छन् । यसको जिम्मेवारी प्रशिक्षकमा रहेको उनको भनाइ छ ।

काठमाडौंका कार्यकारी प्रमुख अधिकृत सन्देश कटवालले टीममा अनुभवी विदेशी खेलाडी पनि रहेको भन्दै उनीहरु आएपछि सल्लाह गरेर निर्णय लिने बताए ।

पोखराका ओनर मनोबल श्रेष्ठले तत्कालका लागि मार्की खेलाडी कुशल भुर्तेललाई नै कप्तान बनाउने तयारी रहेको जानकारी दिए । लुम्बिनीका मालिक ईश्वर जिसीले पनि मार्की खेलाडी रोहित पौडेल नै कप्तान हुने बताए । रोहितले नेपाली राष्ट्रिय टिमको पनि कप्तानी गरिरहेकाले टीमलाई निर्णय लिन गाह्रो भएन ।

यसैगरि सुदूरपश्चिमले पनि मार्की खेलाडी दीपेन्द्र सिंह ऐरीलाई नै कप्तानी सुम्पिने छ । फ्रेन्चाइज मालिक स्वतन्त्र प्रताप शाहले यसको पुष्टि गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर