सुदूरपश्चिम सरकारका ७ कोल्ड स्टोरको निर्माण अधुरै – Nepal Press

सुदूरपश्चिम सरकारका ७ कोल्ड स्टोरको निर्माण अधुरै

डोटी । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीको दशरथचन्द नगरपालिका—१ मा निर्माण गर्न लागेको कोल्ड स्टोर असार मसान्तमा निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने थियो । तर चार महिना बितिसक्दा पनि उक्त कार्य पूरा भएको छैन ।

२० मेट्रिक टन क्षमताको उक्त कोल्ड स्टोर निर्माणका लागि निर्माण व्यवसायी कम्पनी बिग बि एण्ड कम्पनी दशरथचन्द नगरपालिका–४ र सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालयबीच २०७८ साल वैशाख ५ गते सम्झौता भएको थियो । ४७ लाख ५१ हजार ६ सय ८२ रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त कोल्ड स्टोर अझै निर्माण भएको छैन ।

बैतडीमा बन्ने कोल्ड स्टोर सहित सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेका यस्ता सात अन्य कोल्ड स्टोर तोकिएको समयमा निर्माण भएका छैनन् । कृषि विकास निर्देशनालयका सूचना अधिकारी केशवराज पाण्डेयका अनुसार महाकाली नगरपालिका–७, दार्चुलामा निर्माण हुन लागेको २५ मेट्रिक टन क्षमताको कोल्ड स्टोर पनि अधुरै छ ।

सो कोल्ड स्टोर २०८१ साल असार मसान्तमै सक्ने प्रतिबद्धता सहित निर्देशनालयसंग सम्झौता गरेको बिग बि एण्ड कम्पनीले तोकिएको समयमा काम सकेन । ४८ लाख १० हजार चार सय ६३ रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी ०७८ साल बैशाख ५ गते सम्झौता भएको थियो ।

कैलालीको भजनी नगरपालिका–३ मा जि एण्ड जे निर्माण सेवा धनगढीले कोल्ड स्टोर निर्माणको ठेक्का पाएको थियो । निर्देशनालय र कम्पनीबीच गत असार मसान्तमा काम सम्पन्न गर्ने गरी ०७८ साल जेठ ५ गते सम्झौता भएको थियो । ४१ लाख ६३ हजार तीन सय १५ रुपैयाँ लागतमा बन्ने भनेको उक्त कोल्ड स्टोरको क्षमता ४० मेट्रिक टन रहेको छ ।

डोटीको जोरायल गाउँपालिका–१, गैरामा निर्माणाधीन कोल्ड स्टोरले पनि समयमै पूर्णता पाएन । ०७८ साल बैशाख १ गते निर्देशनालयसंग सम्झौता गरी कार्य प्रारम्भ गरेको भूमिराज रोशन निर्माण सेवाले तोकिएको समयमा काम सम्पन्न गरेन । ३९ लाख ७७ हजार ६ सय ६४ रुपैयाँ लागतमा निर्माण हुने २० मेट्रिक टन क्षमताको उक्त कोल्ड स्टोर पनि गत असारमा निर्माण भइसक्नु पर्ने थियो ।

डोटीको दिपायल सिलगढी नगरपालिका–४ मा निर्माणाधीन कोल्ड स्टोरको अवस्था पनि उस्तै छ । ३९ लाख ६८ हजार सात सय ३३ रुपैयाँमा निर्माण सम्झौता भएको उक्त कार्यको ठेक्का भैरबशक्ति निर्माण सेवा, डोटीले पाएको थियो । ०७८ बैशाख ११ गते सम्झौता भएको २५ मेट्रिक टनको उक्त कोल्ड स्टोर गत असारमा निर्माण कार्य सम्पन्न भईसक्नु पर्ने थियो ।

डडेल्धुराको आलिताल गाउँपालिका–५ मा निर्माण भईरहेको कोल्ड स्टोरको पनि यस्तै अवस्था छ । ५३ लाख १४ हजार एक सय २३ रुपैयाँमा निर्माण गर्ने कवोल गरेको पुरुषेत्तम कन्सट्रक्सन, बर्दियाले समयमै काम नगरिदिँदा २५ मेट्रिक टन क्षमताको उक्त कोल्ड स्टोर पनि बनेन । ०७८ बैशाख ७ गते सम्झौता भएको उक्त कार्य गत असारमा सम्पन्न भईसक्नु पर्ने थियो ।

पुरुषोत्तम कन्सट्रक्सननै निर्माण व्यवसायी रहेको कञ्चनपुरको पुनर्वास नगरपालिका–५ को कोल्ड स्टोर पनि तोकिएको समयमा बनेन । ६१ लाख ९७ हजार सात सय ६९ रुपैयाँको लागतमा गत असार मसान्तमा सम्पन्न भइसक्ने भनिएको ३० मेट्रिक टन क्षमताको उक्त कोल्ड स्टोर पनि अधुरै रह्यो ।

किन बन्न सकेनन् त समयमै कोल्ड स्टोर

प्रदेश कृषि निर्देशनालयका सूचना अधिकारी पाण्डेयका अनुसार जग्गा विवाद, बिश्वव्यापी कोबिड महामारी र कोल्ड स्टोर निर्माणको ठाउँ सार्नु पर्ने भएका कारण तोकिएको समयमा निर्माण हुन नसकेको वताएका छन् ।

उनले सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०७९/०८० मा कोल्ड स्टोर निर्माणका लागि बजेट बिनियोजन नगर्दा समेत काम गर्न नसकिएको जानकारी दिए ।

उनले ०७७/०७८ मा ११ र ०७८/०७९ मा दुई गरी प्रदेशमा १३ वटा कोल्ड स्टोर निर्माण गर्न लागिएकोमा ०७७/०७८ का ४ र ०७८/०७९ का २ गरी ६ कोल्ड स्टोर निर्माण भइसकेको र अब ७ निर्माण हुन बाँकी रहेको सूचना अधिकारी पाण्डेय बताउँछन् ।

उनले कात्तिक २५ गते सवै निर्माण व्यवसायीहरुलाई पत्राचार गरिसकेको जानकारी दिए । सम्पर्कमा नआउने वा छिटो काम गर्न नसक्ने निर्माण व्यवसायीसंगको ठेक्का सम्झौता रद्द गरी नयाँ टेण्डरको प्रक्रियामा गएर चालु आर्थिक वर्षभित्रै कोल्ड स्टोरको निर्माण कार्य सम्पन्न गर्ने पाण्डेयको दावी छ ।

कोल्ड स्टोर नहुँदा कृषि उत्पादन भण्डारणमा समस्या भईरहेको कृषकहरुको गुनासो छ । डोटी, जोरायल गाउँपालिका–१ का अगुवा कृषक खडक मल्लले कोल्ड स्टोर निर्माणको काम लामो समयदेखि ठप्प हुँदा आलुको बिउ भण्डारणका लागि डडेल्धुरा, कैलाली तथा कञ्चनपुरका कोल्ड स्टोर धाउनु पर्ने बाध्यता रहेको गुनासो गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर