‘धम्म डिस्कसन’ : बुद्ध ज्ञान जीवनमा अनुशरण गर्न आवश्यक – Nepal Press

‘धम्म डिस्कसन’ : बुद्ध ज्ञान जीवनमा अनुशरण गर्न आवश्यक

काठमाडौं । बुद्ध दर्शनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘धम्म डिस्कसन’ आइतबार भक्तपुरमा सकिएको छ । कोटेश्वर बहुमुखी क्याम्पस र सारीपुत्र फाउन्डेसन तथा धम्म लर्निङ एण्ड सपोर्टिङ सेन्टरको संयुक्त आयोजनामा भक्तपुरमा भएको एक दिने सम्मेलनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उद्घाटन गरेका थिए ।

सम्मेलनमा बुद्ध धर्मका विद्वान, अनुसन्धानकर्ता, प्रचारक, अध्यापक गरी थाइल्यान्डसहित विभिन्न देशबाट ६० जना सहभागी थिए । नेपालबाट ४०० भन्दा बढीको सहभागिता रहेको सम्मेलनमा थाइल्यान्डबाट आएकी ९८ वर्षीय आचार्य सुजिनले भगवान बुद्धलाई कसरी चिन्ने भन्ने विषयमा प्रवचन दिएकी थिइन् ।

उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले बुद्धले दिएको ज्ञानलाई आफ्नो जीवनपद्धतिमा अनुशरण गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिए ।

मन्त्री पाण्डेले भने, ‘बुद्ध नेपालमा जन्मेकोमा गर्व गर्नुभन्दा पनि बुद्धको ज्ञानलाई आफ्नो जीवनमा अनुशरण नगर्ने हो भने त्यो गर्व गरेको कुनै अर्थ छैन ।’

देशको वर्तमान शिक्षा पद्धतिलाई सैद्धान्तिकभन्दा व्यवहारिक र सदाचारी बनाउनुपर्ने औल्याउँदै उनले शिक्षा पद्धति आध्यात्मिक र व्यक्तिको चेतनास्तर बढाउने किसिमको हुनुपर्नेमा जोड दिए ।

विभिन्न देशका बुद्ध धर्मका आध्येयताहरुलाई नेपालको धर्म, संस्कृति र प्रकृतिको अध्ययनका लागि आउन आग्रह गर्दै मन्त्री पाण्डेले लुम्बिनीको भ्रमणका लागि भैरहवा विमानस्थलले सहजता प्रदान गर्ने बताए ।

कोटेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष एवं पूर्व राजदुत महेन्द्रबहादुर पाण्डेले अहिले पनि कतै तेस्रो विश्व युद्ध त हुँदैन भन्ने त्रास रहेको बेला बुद्ध जन्मेको देशका मानिस र बुद्ध धर्मलाई जीवनमा अनुशरण गरिरहेका देशका विद्वानहरु एक थलोमा बसेर छलफल गरेर शान्तिको सन्देश दिनु महत्वपूर्ण भएको बताए ।

कार्यक्रममा भेनिरियल भिक्खु भन्टे सुमाङ्गलोले बुद्धको सन्देश विश्वभर फैलाउन आचार्य सुजिनको योगदान स्मरणीय रहेको बताए । कोटेश्वर बहुमुखी क्याम्पसमा प्रमुख गोविन्दबहादुर कार्कीले विश्व शान्तिको सन्देश फैलाउन सम्मेलन फलदायी भएको बताए ।

सम्मेलनमा विश्वविद्यालय अनुदान आयोगका प्रा.डा. वासुदेव काफ्ले, पूर्वउपकुलपति प्रा.डा. उपेन्द्र कोइराला, प्रा.डा. दयाराम श्रेष्ठ, बाग्मती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठ, विभिन्न क्याम्पसका प्रमुख, बुद्ध धर्मका अनुसन्धानकर्ता र शिक्षक तथा विद्यार्थी गरी करिब ५०० जना सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *