राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता दिन प्रधानमन्त्रीद्वारा सरोकारवालासँग छलफल (भिडिओ) – Nepal Press

राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता दिन प्रधानमन्त्रीद्वारा सरोकारवालासँग छलफल (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कामको गतिलाई तीव्रता दिनका लागि सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखलगायतसँग छलफल गरेका छन् ।

आइतबार सिंहदरबारमा भएको छलफलमा विभिन्न २४ वटा राष्ट्रिय गौरवका आयोजनाहरुको हालको अवस्था, वित्तीय तथा भौतिक प्रगति, विद्यमान समस्या र समाधानका उपायहरुको प्रस्तुतिकरण गरिएको छ ।

ती आयोजनाहरुमा स्रोत सुनिश्चितता, न्यून बजेट, जग्गा अधिग्रहण, रुख कटान, बाढी पहिरोका कारण सडकमा अवरोध, प्रक्रियागत झमेला, मुआब्जा विवाद, कानूनी मुद्दाजस्ता समस्या देखिएका छन् ।

हालसम्म ८० प्रतिशत प्रगति भएका आयोजनामा मेलम्ची खानेपानी आयोजना र पशुपति क्षेत्र विकास कोष रहेका छन् भने ५० देखि ८० प्रतिशत सम्पन्न भएका आयोजनामा पुष्पलाल (मध्यपहाडी) राजमार्ग, हुलाकी लोकमार्ग, उत्तर दक्षिण कोशी कोरिडोरमार्ग, रानी जमरा कुलरिया सिँचाइ आयोजना, भेरी बबइ डाइभर्सन बहुद्देश्यीय आयोजना, लुम्बिनी विकास कोष आदि छन् ।

अन्य आयोजना १० देखि ५० प्रतिशतको प्रगतिको स्थितिमा छन् भने १० प्रतिशतभन्दा कम काम भएका आयोजनामा बुढीगण्डकी जलविद्युत आयोजना, पश्चिम सेती जलविद्युत आयोजना र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् ।

बैठकको प्रारम्भ गर्दै प्रधानमन्त्री ओलीले अहिलेको अवस्था सन्तोषजनक नभएकाले कामलाई गति दिने गरि कार्ययोजना बनाउन निर्देशन दिए ।

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का लगाएत सहभागी थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *