डिजिटल कारोबारमा नेपालको फड्को : २ करोड ५५ लाख नाघे मोबाइल बैंकिङ प्रयोगकर्ता – Nepal Press

डिजिटल कारोबारमा नेपालको फड्को : २ करोड ५५ लाख नाघे मोबाइल बैंकिङ प्रयोगकर्ता

काठमाडौं । पछिल्लो समय नगदरहित कारोबारको सीमा र दायरा फराकिलो बन्दै गएको छ । दैनिक उपभोग्य वस्तु खरिद–बिक्रीदेखि लाखौँको आर्थिक कारोबार डिजिटल रूपमै हुन थालेको छ । खल्तीमा नोटको सट्टा स्मार्टफोन बोकेर डिजिटल भुक्तानी गर्ने नेपालीहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।

रिचार्ज गर्नेदेखि, बिजुली, पानी, इन्टरनेट, टिभी र हवाई टिकट लगायतको शुल्क भुक्तानी गर्न डिजिटल माध्यम रोज्नु अहिले सामान्य भइसकेको छ । नगद कारोबारभन्दा वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस जस्ता माध्यमको प्रयोग गर्नेहरू उल्लेख्य बढेका छन् ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक हेर्ने हो भने पनि एक वर्षमै ३२ लाख ३९ हजारभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन् । २०८० को असोजसम्म २ करोड २२ लाख ८४ हजार ६२२ मोबाइल बैंकिङ प्रयोगकर्ता रहेकोमा २०८१ को असोजसम्म यो बढेर सङ्ख्या २ करोड ५५ लाख २४ हजार १८९ पुगेको हो ।

वालेट प्रयोगकर्ताहरूको सङ्ख्या पनि उल्लेख्य बढेको छ । नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या एक वर्षमै ४३ लाख भन्दा बढी थपिएको छ । २०८० को असोजदेखि २०८१ को असोजसम्म ४३ लाख १९ हजार ९२९ जना नयाँ वालेट प्रयोगकर्ता थपिएका हुन् । २०८० को असोजसम्म नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या दुई करोड २ लाख ७६ हजार १६१ थियो । उक्त सङ्ख्या २०८१ को असोजसम्म आइपुग्दा दुई करोड ४५ लाख ९६ हजार ९० पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो समय डिजिटल कारोबारमा उल्लेख्य वृद्धि भएको नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता डा. डिल्लीराम पोखरेल बताउँछन् । उनी भन्छन्, ‘डिजिटल कारोबारमा नेपालले फड्का मारिरहेको छ । कोरोना महामारीपछि डिजिटल कारोबारमा उल्लेख्य वृद्धि भएको छ । डिजिटल कारोबार गर्न नजान्नेहरू पनि अहिले अनलाइन भुक्तानीमै आकर्षित भइरहेका छन् ।’

डिजिटल कारोबार छिटो हुने भएकाले पनि प्रयोगकर्ता आकर्षित भएको उनको बुझाइ छ । डिजिटल कारोबारलाई बढवा दिन राष्ट्र बैंकले प्रोत्साहन समेत गरिरहेको उनले जानकारी दिए ।

नगद बोकेर कारोबार गर्नेहरू बिस्तारै घट्दै गएको सिटिजन्स बैंकका डिपोजिट मार्केटिङ विभागमा कार्यरत रहेका पारसविक्रम थापाको पनि अनुभव छ । लामो समयदेखि उक्त विभागमा कार्यरत थापा भन्छन्, ‘बिस्तारै नेपालीहरू नगद बोक्न छोडेर डिजिटलरुपमा कारोबार गर्न थालेका छन् । क्यासलेस कारोबारमा आकर्षित भइरहेका छन् । बैंकहरुले पनि यस्तो कारोबारमा जोड दिइरहेको छन् ।’

उनका अनुसार बैंकका ग्राहकहरूलाई डिजिटलरुपमा अभ्यस्त बनाउन सिटिजन्स बैंकले पछिल्लो समय डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ । कागजरहित सेवामा केन्द्रित भएर सिटिजन्स बैंक अगाडी बढिरहेको छ । वित्तीय कारोबारलाई डिजिटलाइजेसन गर्न बैंकले विभिन्न योजना तथा कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । गएको असोज महिनालाई बैंकले ‘डिजिटल मन्थ’ घोषणा गरेर मनाएको थियो । सोही अवसरमा बैंकको केन्द्रीय कार्यालयमा ‘स्मार्ट हब’ सेवा समेत सञ्चालन गरिएको छ ।

डिजिटलरुपमा बैंकिङ सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट ग्राहकलाई दिन यो हब सञ्चालन गरिएको बैंकले जनाएको छ । डिजिटल कारोबार गर्न ग्राहकलाई सिकाउन पनि यो हब सञ्चालनमा ल्याइएको थापाको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *