अर्बौँंको आयात गर्ने भन्सार नाकाबाट निर्यात भने ‘शून्य’, कहाँबाट कति ? – Nepal Press

अर्बौँंको आयात गर्ने भन्सार नाकाबाट निर्यात भने ‘शून्य’, कहाँबाट कति ?

२८ मध्ये १७ वटा नाकाबाट मात्र निर्यात

काठमाडौं । अन्तर्राष्ट्रिय व्यापारका लागि हाल २८ वटा भन्सार नाका प्रयोगमा छन् । जसमध्ये आधाभन्दा धेरै नाका आयातका लागि मात्रै प्रयोगमा रहेको पाइएको छ ।

चालू आर्थिक वर्ष २०८१/८२ को चार महिनाको तथ्यांक हेर्दा सबै नाकाबाट आयात भएको देखिन्छ । तर, निर्यात भने १७ वटा नाकाबाट मात्रै हुने गरेको पाइएको हो । बाँकी ११ वटा नाकाबाट निर्यात शून्य छ ।

साउनदेखि कात्तिक मसान्तसम्मको अवधिमा चोभार, गौतमबुद्ध विमानस्थल, जनकपुर, महेशपौर, राजविराज, सती, सुनसरी, सुथौली, तातोपानी, टाँडी र त्रिवेणी नाकाबाट शून्य निर्यात छ । जबकी यी नाकाबाट आयात भने उल्लेख्य छ ।

शून्य निर्यात भएका नाकामध्ये चोभारबाट ३९ करोड ४५ लाख ३० हजार रूपैयाँको आयात भएको छ । त्यस्तै, गौतमबुद्ध विमानस्थल भन्सारबाट ७२ लाख ५ हजार रूपैयाँको वस्तु आयात भएको छ भने जनकपुर भन्सारबाट ४७ करोड ८८ लाख ६२ हजार रूपैयाँको वस्तु आयात भएको छ ।

भन्सार विभागका अनुसार यस अवधिमा महेशपौर भन्सारबाट १३ करोड ८१ लाख ८ हजार रूपैयाँको आयात हुँदा राजविराज नाकाबाट ८ करोड ५ लाख ४४ हजार रूपैयाँको आयात भएको छ ।

यस्तै, सती भन्सारबाट १९ करोड २ लाख ५२ हजार, सुनसरीबाट ६२ करोड ९८ लाख ६३ हजार, सुथौलीबाट ९३ करोड ३९ लाख ६० हजार, टाँडीबाट ६० लाख ७० हजार र त्रिवेणीबाट २ लाख ६४ हजार रूपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ ।

लामो समयपछि सर्वसाधारणका लागि खुल्ला गरिएको तातोपानी नाका चिनियाँ वस्तुको आयात गर्न मात्रै खोलिएको जस्तो भएको छ । यस नाकाबाट अर्बौँको चिनियाँ सामाग्री आयात हुँदा निर्यात शून्य देखिन्छ । चार महिनामा यो नाकाबाट १५ अर्ब ८३ करोड ७९ लाख ७ हजार रूपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ ।

तातोपानीसहित अन्य करिब एक दर्जन भन्सार नाकाबाट आयात मात्रै भएको छ । अन्तर्राष्ट्रिय बजारमा माग नभएका कारण सबै भन्सार नाकाबाट निर्यात नभएको भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनी बताउँछन् ।

उनी भन्छन्, ‘नेपाली बजारमा विदेशी वस्तुको माग धेरै छ । त्यसले गर्दा सबैजसो भन्सारबाट आयात हुने गरेको छ । तर, अन्तराष्ट्रिय बजारमा नेपाली वस्तुको माग यहाँको जस्तो छैन ।’

नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा बलियो उपस्थिति गराउन नसकेसम्म सबै भन्सारबाट निर्यात सम्भव नहुने उनको भनाइ छ ।

निर्यातमा टीआईएको हिस्सा धेरै

नेपालबाट वस्तु तथा सेवा निर्यात हुने नाकाहरूमध्ये सबैभन्दा धेरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाका (टीआईए) हुने गरेको पाइएको छ । चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म यहाँबाट १२ अर्ब ३५ करोड ३९ लाख १५ हजार रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

आयातमा सर्वाधिक हिस्सा ओगटेको वीरगञ्ज नाका निर्याततर्फ दोस्रोमा छ । यस नाकाबाट चार महिनामा १२ अर्ब १२ करोड २१ लाख ३१ हजार रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ । निर्याततर्फ तेस्रोमा रहेको विराटनगरबाट ११ अर्ब १३ करोड ३१ लाख ९९ हजार रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

त्यस्तै, यस अवधिमा भैरहवाबाट ४ अर्ब २८ करोड ८४ लाख ९९ हजार रूपैयाँको निर्यात हुँदा ड्राइपोर्टबाट एक अर्ब ५१ करोड ६२ लाख १९ हजार रूपैयाँको वस्तु निर्यात भएको छ । मेचीबाट ८ अर्ब ३० करोड १८ लाख ४८ हजार र मेचीबाट ८ अर्ब ३० करोड १८ लाख ४८ हजार रूपैयाँको यो अवधिमा निर्यात भएको छ ।

सात नाकाबाट करोडमा निर्यात भएको छ । जसमा कृष्णनगरबाट ७४ करोड ३० लाख ८० हजार रूपैयाँको निर्यात हुँदा नेपालगञ्जबाट ६६ करोड ३३ लाख ७८ हजार र सर्लाहीबाट ६० करोड ३५ लाख ५० हजार रूपैयाँको निर्यात भएको छ ।

यस अवधिमा रसुवाबाट ४८ करोड ७६ लाख २६ हजार, कैलालीबाट ३३ करोड २१ लाख ३१ हजार, कञ्चनपुरबाट १९ लाख ८९ हजार, जलेश्वरबाट ९ करोड ५२ लाख ३९ हजार र पशुपतिनगरबाट २ करोड ७३ लाख ६१ हजार रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

दुई नाका सिरहाबाट १६ लाख र गौरबाट ४ लाख ८० हजार रूपैयाँ बराबरको वस्तु निर्यात हुँदा एक नाकाबाट ५० हजार रूपैयाँ बराबरको मात्रै निर्यात भएको छ । ५० हजार बराबरको निर्यात गर्ने भद्रपुर नाका रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

वीरगञ्जबाट सर्वाधिक आयात

आयातको सर्वाधिक हिस्सा वीरगञ्ज भन्सारको रहेको छ । भन्सार विभागका अनुसार यस नाकाबाट नेपालले खर्बौं रूपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । चालू आवको चार महिनामा यो नाकाबाट एक खर्ब ६७ अर्ब ३१ करोड ५८ लाख ७ हजार रूपैयाँ बराबरको आयात भएको छ ।

सबैभन्दा धेरै आयात हुने नाकाको दोस्रोमा भैरहवा रहेको छ । चालू आवको चार महिनामा यस नाकाबाट ८२ अर्ब १८ करोड १५ लाख ११ हजार रूपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । यस अवधिमा विराटनगर भन्सारबाट ५४ अर्ब ३३ करोड १७ लाख ६३ हजार रूपैयाँको आयात हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४० अर्ब ९२ करोड ३९ लाख ९७ हजार रूपैयाँको वस्तु आयात भएको छ ।

चालू आवको साउनदेखि कात्तिक मसान्तसम्म ६ नाकाबाट अर्ब भन्दा बढीको वस्तु आयात भएको छ । जसमा नेपालगञ्जबाट २१ अर्ब ९८ करोड ७० लाख ६५ हजार, रसुवाबाट २१ अर्ब ९१ करोड ६५ लाख ५९ हजार, मेचीबाट १४ अर्ब ९ लाख ४ हजार, कैलालीबाट ६ अर्ब ८५ करोड २ लाख ३० हजार, कृष्णनगरबाट ६ अर्ब २८ करोड ४ लाख १९ हजार र जलेश्वरबाट ३ अर्ब ७० करोड ४१ लाख ४४ हजार रूपैयाँ बराबरको वस्तु आयात भएको छ ।

यस अवधिमा सर्लाहीबाट ७८ करोड ३८ लाख ३० हजार रूपैयाँको आयात हुँदा कञ्चनपुरबाट ६७ करोड ८५ लाख २ हजार र भद्रपुर भन्सारबाट १७ करोड ९३ लाख १६ हजार रूपैयाँ बराबरको आयात भएको छ । यसका साथै सिराहाबाट १३ करोड ८७ लाख ४९ हजार रूपैयाँको आयात हुँदा पशुपतिनगरबाट २ लाख ८० हजार रूपैयाँ बराबरको वस्तु आयात भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *