जुवामा हारेको पैसा तिर्न धम्क्याउँदै रकम असुल्ने डाक्टर हाजिरी जमानीमा छुट्दै – Nepal Press

जुवामा हारेको पैसा तिर्न धम्क्याउँदै रकम असुल्ने डाक्टर हाजिरी जमानीमा छुट्दै

काठमाडौं । मानसिक सन्तुलनमा समस्या देखाउँदै प्रहरीले एकजना थुनुवालाई आफन्तको जिम्मामा छाड्ने भएको छ ।

अमेरिकामा जुवा खेलेर हारेको पैसा उठाउन आफूलाई ‘अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट’ भन्दै धम्क्याउने डा. आशिष दाहाल दैनिक हाजिर जमानीमा छुट्ने भएका हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार ललितपुरबाट पक्राउ गरेको थियो । उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले आपराधिक लाभसम्बन्धी मुद्दा चलाएको थियो ।

मानसिक सन्तुलन ठीक नभएको व्यक्तिलाई हिरासतमा राख्दा अन्य थुनुवालाई पनि समस्या पर्ने कारण उनलाई हाजिर जमानीमा छोड्न लागिएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

‘अरु थुनुवालाईसमेत असर पर्ने गरी एकजना थुनुवा राख्नुभन्दा बरु उनलाई हाजिर जमानीमै पठाउनु उपयुक्त देखियो’, उनले भने ।

शिक्षण अस्पताल महाराजगञ्जबाट सन् २०१७ मा चिकित्सा सेवातर्फ एमबीबीएस उत्तीर्ण गरेका डा. दाहाल ले एमबीबीएस उत्तीर्ण गरेलगत्तै सन् २०१७ मै छात्रवृत्ति पाएर अमेरिका गएका थिए । त्यहाँ पुगेपछि क्यासिनोमा जुवा खलेरे ४० लाख हारे ।

जुवा खेलेर हारेको पैसा तिर्न नसकेपछि नेपाल फर्किए । ऋण तिर्न आपराधिक बाटो समाएको प्रहरीले बताएको छ । उनले अझै पनि अमेरिकामा जुवा खेलेर हारेको १५ लाख रूपैयाँ तिर्न बाँकी नै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर