बलियो मध्यक्रममा टिकेको चितवन राइनोजको आशा – Nepal Press
एनपीएल टीम रिभ्यु ३

बलियो मध्यक्रममा टिकेको चितवन राइनोजको आशा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा तुलनात्मक रुपमा कमजोर देखिएको टीम हो चितवन राइनोज । चितवनले अक्सनबाट राष्ट्रिय टोलीबाट नियमित खेलिरहेका एक जना पनि खेलाडी पाएन । चितवनका मार्की प्लेयर कुशल मल्लमात्रै राष्ट्रिय टोलीका नियमित सदस्य हुन् ।

चितवनले राष्ट्रिय खेलाडी किन्न अक्सनमा बोली लगाए पनि ‘लक्की ड्र’ मा अभागी बनेको थियो । यसो त राष्ट्रिय टोलीबाट लामो समय खेलेका ब्याट्सम्यान शरद भेषवाकरदेखि बेलाबखत अवसर पाउने गरेका रिजन ढकाल र कमलसिंह ऐरी चितवनको टीममा छन् । शरद र कमललाई पहिलो चरणमा कुनै टीमले किन्ने इच्छा व्यक्त नगरेपछि दोस्रो चरणमा चितवनले लिएको हो । शरदले लामो समयदेखि राष्ट्रिय टोलीबाट खेलेका छैनन् भने रिजन र कमल फाट्टफुट्ट टोलीमा परिराखेका हुन्छन् ।

३६ वर्षीय मिडरअर्डर ब्याटर शरदले राष्ट्रिय टोलीबाट २० टी-२०आई खेल खेलेका छन् । उनले स्पिन बलिङसमेत गर्छन् । रिजन र कमल तीव्र गतिका बलर हुन् । रिजन र कमलसहित तीव्र गतिका बलर अमरसिंह रौटेला, दीपेश श्रेष्ठ पनि चितवनमा छन् । घरेलु क्रिकेट एपीएफबाट खेल्दै आएका रौटेला अलराउन्डर हुन् । बागमती प्रदेशबाट खेल्ने दीपेश तीव्र गतिका बलर हुन् ।

चितवनले विकेटकिपर ब्याटरद्वय विपीन रावल र सन्तोष कार्कीसहित मधेश प्रदेशका युवा क्रिकेटर रञ्जित कुमार र बागमतीका गौतम केसीलाई अनुबन्ध गरेको छ । ओपनिङ भूमिकामा घरेलु क्रिकेट खेल्दै आएका विपीनले राम्रो प्रदर्शन गर्दै आएका छन् । उनी कर्णाली प्रदेशबाट घरेलु क्रिकेट खेल्छन् । रावलले गत जनवरीमा भएको यू-१९ विश्वकपमा नेपालको ओपनिङ गरेका थिए । त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका सन्तोष पनि ओपनिङ ब्याटर हुन् । रञ्जित स्पिनर र गौतम तीव्र गतिका बलर हुन् ।

स्वदेशी खेलाडीको सेट फितलो भएको हुँदा चितवनले विदेशी खेलाडीमार्फत त्यसको सोधभर्ना गर्नुपर्ने हुन्छ । चितवन राइनोजले एनपीएलका लागि हालसम्म ५ विदेशी खेलाडीलाई अनुबन्ध गराइसकेको छ । दक्षिण अफ्रिकाका मार्चन्ड डे लांग, इङ्ल्यान्डका रवि बोपारा, इङ्ल्यान्डकै ल्यूक मार्टिन बेनकेन्स्टाइन, अफगानिस्तानका हसन इसाखिल र नामिबियाका जान निकोल लोफ्टी इटनलाई चितवनले अनुबन्ध गरेको हो ।

दक्षिण अफ्रिकाका मार्चन्ड अनुभवी खेलाडी हुन् । राष्ट्रिय टोलीबाट टेस्ट, ओडीआई र टी-२० खेलिसकेका तीव्र गतिका बलर मार्चन्ड पछिल्लो समय घरेलु क्रिकेटमा व्यस्त छन् । उनले राष्ट्रिय टोलीबाट सन् २०१५ मा भारतविरुद्ध अन्तिम टी-२० आई खेलेका थिए । १५१ टी-२०आई खेलेका मार्चन्डले १६६ विकेट लिएका छन् ।

इङ्ल्यान्डबाट अनुबन्ध हुने रवि अनुभवी र ल्यूक मार्टिन उदीयमान खेलाडी हुन् । ३९ वर्षीय ब्याटिङ अलराउन्डर रविले केही समयअघि भएको हङकङ सिक्सेस खेलेका थिए । उक्त प्रतियोगितामा उनले नेपालविरुद्ध ४९ रन जोडे । इङ्ल्याण्डबाट १७१ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । सन् २०१६ मा उनले इङ्ग्ल्यान्डको कप्तानीसमेत सम्हालेका थिए । ३८ टी-२०आईमा उनले ७११ रनसँगै १६ विकेट लिएका छन् ।

इङ्ल्यान्डका उदाउँदा खेलाडी २० वर्षीय ल्यूक मार्टिनले गत जनवरीमा भएको यू–१९ विश्वकप क्रिकेटमा इङ्ल्यान्डको उपकप्तानको जिम्मेवारी पाएका थिए । उनले १९ टी-२० खेलमा १३६ रनसहित ४ विकेट लिएका छन् । सन् २०२२ मा ग्वादर सार्कसलाई पाकिस्तान सुपर लिग (पीएसएल)को फाइनलमा पुर्‍याउन उनले ३७ बलमा ७१ रनको योगदान दिएका थिए ।

अफगानिस्तानका हसन पनि युवा क्रिकेटर हुन् । १८ वर्षीय ओपनिङ ब्याटर हसनले १६ टी-२० खेलमा ४२६ रन बनाएका छन् । हसनले गत जनवरीमा दक्षिण अफ्रिकामा भएको आईसीसी यू-१९ विश्वकप खेलेका थिए । उक्त विश्वकपमा उनले नेपालविरुद्ध २० रन जोडेका थिए ।

मार्की प्लेयर कुशल मल्लको नाममा रहेको कीर्तिमान तोड्ने नामिबियाका ब्याटर लोफ्टी कुशलकै टीममा अनुबन्धित भए । २३ वर्षीय लोफ्टीले टी-२० आईमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान कुशलको नामबाट आफ्नो नाममा सारेका थिए, तर उक्त कीर्तिमान पनि तोडिएको छ । ब्याटिङ अलराउन्डर लोफ्टीले नामिबियाबाट ३९ टी-२०आई खेल्दै ४१४ र १२ विकेट लिएका छन् ।

कस्तो छ टीमको फर्मेसन ?

चितवनलाई चिन्ता छ ओपनिङ जोडीको । नेपालको राष्ट्रिय टोलीबाट ओपनिङ गरेको अनुभव भएका कुनै पनि खेलाडी चितवनमा छैनन् । चितवनले सम्भवतः सन्तोष कार्की, विपीन रावलसहित इङ्ल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाइन र अफगानिस्तानका हसन इसाखिलमध्येबाट ओपनिङ जोडी निकाल्नेछ । घरेलु क्रिकेटमा ओपनिङ गरिरहेका सन्तोष र विपीनसँग ठूलो अनुभव छैन । यस्तै मार्टिन र हसनले पनि खासै ओपनिङ गरेका छैनन् । चितवन टपअर्डरमा यी ४ खेलाडीमा भर पर्नुपर्नेछ ।

मिडलअर्डरमा भने चितवन मजबुत छ । मिडलमा इङ्ल्यान्डका रवि बोपारा, नामिबियाका जान निकोल लोफ्टी इटन, नेपालका शरद भेषवाकरसहित मार्की प्लेयर कुशल मल्ल आफैं रहनेछन् । रवि र शरदको अनुभव तथा लोफ्टी र कुशलको आक्रामकताले मध्यक्रमको सन्तुलन मिलेको छ । लोअर्डरमा अमरसिंह रौटेलासहित कमल, दीपेश रहेनछन् ।

बलिङतर्फ फास्ट बलिङमा दक्षिण अफ्रिकाका अनुभवी बलर मार्चन्ड डे लांगसहित कमल, रिजन, अमेर, गौतम र दीपेश रहनेछन् । नेपालका कमल, रिजन र अमरले घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन् । स्पिनतर्फ मार्की प्लेयर कुशल मल्लसहित रञ्जित कुमार र शरद भेषवाकर रहनेछन् । नामिबियाका लोफ्टीले पनि साथ दिनेछन् ।

स्पिनमा ठूलो नाम नभएकाले चितवनले ठूलो मेहनत गर्नुपर्ने हुन्छ । नेपाली क्रिकेटलाई नजिकबाट नियालेका उमेश पटवाल चितवनका मुख्य प्रशिक्षक भएकाले कमजोरी भेट्टाउन र समाधान गर्न सहज हुनेछ ।

चितवनको टोली

स्वदेशी खेलाडी : रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, विपीन रावल, सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमरसिंह रौटेला, दीपक बोहरा, रञ्जित कुमार र गौतम केसी ।

विदेशी खेलाडी : मार्चन्ड डे लांग (दक्षिण अफ्रिका), रवि बोपारा (इङ्ल्यान्ड), ल्यूक मार्टिन बेनकेन्स्टाइन –इङ्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान) र जान निकोल लोफ्टी इटन (नामिबिया) ।

मार्की प्लेयर : कुशल मल्ल

मुख्य प्रशिक्षक : उमेश पटवाल

चितवनको खेल तालिका

मंसिर १५ गतेबाट सुरु हुने एनपीएलमा चितवनले आफ्नो पहिलो खेल १७ गते काठमाडौं गुर्खाजसँग खेल्नेछ । दोस्रो खेल मंसिर १८ गते पोखरा एभेन्जर्स, तेस्रो खेल मंसिर २१ गते कर्णाली याक्स र चौथो खेल मंसिर २३ गते सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

चितवनले पाँचौं खेल मंसिर २५ गते लुम्बिनी लायन्स, छैटौं खेल मंसिर २८ गते विराटनगर किंग्स र सातौं खेल मंसिर २९ गते जनकपुर बोल्ट्सँग खेल्ने तालिका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर