सार्थक, सुगन्धित ‘तेल भिसा’
१३ वर्षअघि रिलिज भएको चलचित्र ‘ब्रेक फेल’ मार्फत एउटा सम्भावना बोकेको निर्देशकका रुपमा उदाएका थिए शंकर घिमिरे । कमेडी जनरामा बनेको सो चलचित्र सिर्जनात्मक हिसाबले अब्बल हुँदाहुँदै पनि बक्स अफिसमा फेल भइदियो, जसले गर्दा घिमिरेको निर्देशन यात्रामा पनि ब्रेक लाग्यो । दिक्क मान्दै उनी अभिनेत्री पत्नी ऋचा घिमिरेलाई च्यापेर अमेरिका भासिए ।
अमेरिकामा घरजमपछि घिमिरे दम्पतीले तीन सन्तानहरु त्यतै जन्म दिएर हुर्काइसकेका छन् । यसर्थ अमेरिकामा सन्तान जन्माउने र हुर्काउने प्रक्रियामा उनीहरु भुक्तभोगी हुन् । अहिले यही विषयलाई केन्द्रमा शंकरले नयाँ चलचित्रको निर्देशक गरेका छन्, जसको नाम हो ‘तेल भिसा’ । गत शुक्रबार रिलिज भएको यो चलचित्र विषय र प्रस्तुतीकरणको हिसाबले.उत्कृष्ट छ । १३ वर्षपछि चलचित्रमा कमब्याक गरिरहँदा घिमिरेले आफ्नो निर्देशकीय दक्षताको पुनपुष्टि गरेका छन् ।
‘तेल भिसा’ नाम आफैंमा घतलाग्दो छ, जसले विदेशमा रहेकी छोरी–बुहारी सुत्केरी भएपश्चात स्याहार्नका लागि नेपालबाट बुबाआमा जाने उपक्रमलाई हल्का व्यंग्यात्मकरुपमा ईंगित गर्छ । यो चलचित्रको कथा लाखौं नेपालीहरुलाई रिलेट हुने छ । विदेशमा सेटल भएर बसेका परिवार, छोराछोरी विदेश पठाएका बुवाआमा तथा विदेश जाने सपना बुनिरहेका युवायुवती सबैलाई यो चलचित्र सिफारिस गर्न सकिन्छ ।
अमेरिकामा हुनेवाला नाति/नातिनीलाई तेल लगाउन गएकी एक अवोध नेपाली आमाले त्यहाँको नियम–कानून र परिपाठ नजान्दा खेप्नु परेको भुक्तमानलाई यस चलचित्रले गज्जबसँग वर्णन गरेको छ । सुन्दा साधारण तर असाध्यै संवेदनशील विषयलाई निकै कौशलतापूर्वक चलचित्रको माध्यमबाट उठान गरेका छन् निर्देशक घिमिरेले । धेरै कुरा आफैंले भोगेकाले पनि होला उनको काममा निखार देखिन्छ । यो चलचित्र हेरेपछि यति चाहिँ भन्न कर लाग्छ कि उनी नेपाली चलचित्र उद्योगलाई चाहिने प्रतिभा हुन् ।
यो भन्दा अगाडि सायदै कुनै चलचित्रले विदेशमा नेपाली परिवारको दैनिकी र सुखदुःखलाई यति मिहिनरुपमा पर्दामा उतारेका थिए । अमेरिकामा नेपाली चलचित्र सुटिङ गर्नु आर्थिक र प्राविधिक दुवै दृष्टिकोणबाट चुनौतीपूर्ण काम हो । चलचित्रमा अमेरिकाको कोर्ट रुमदेखि कारागारसम्मका दृष्यहरु खिच्न निर्माण टीमलाई पक्कै सहज भएन होला । तर, पनि सम्भव भएसम्म जीवन्त देखाउन खोजिएको छ । यो प्रयासका लागि निर्माताहरु शिवराज कार्की, रविन पाण्डे र युवराज कार्की पनि धन्यवादका पात्र छन् ।
चलचित्रको कथातिर जाउँ ।
अमेरिकामा बस्ने नेपाली दम्पती गौरव अधिकारी (विपिन कार्की) र बन्दना अधिकारी (वर्षा राउत) पहिलो सन्तानको प्रतीक्षामा छन् । गौरवले आफ्नो हुनेवाला सन्तान स्याहार्नलाई नेपालमा रहेका बुवा–आमा सूर्यबहादुर (विपिन कार्की) र राधा (पूजा चन्द) लाई अमेरिका बोलाउँछन् । दुवैको भिसा लागिसकेको छ । तर, उड्ने अघिल्लो रात सूर्यबहादुरको पासपोर्ट मुसाले टोकिदिएपछि उनी एयरपोर्टबाट फर्किनुपर्छ । राधा एक्लै अमेरिका उड्छिन् ।
दुई–चार शब्द अंग्रेजी सिकेर गोराको देशमा पुगेकी राधा त्यहाँका तौरतरिका नजान्दा अनेक उल्झनमा फसिरहन्छिन् । बारम्बार बुहारीबाट टोकसो सहनुपर्छ । बन्दनाको बेबी सावर समारोहमा राधाले झुक्किएर ‘जेन्डर रिभिल’ गर्ने बेलुन फुटाइदिन्छिन् । यसले सासु र बुहारीबीच ठूलै तनाव सिर्जना गर्छ । जसोतसो छोराले दुवैलाई समन्वय गरेर राख्छन् ।
कथामा मथिंगल हल्लाउने ट्विस्ट त्यतिबेला आउँछ, जब अञ्जानमा गरेको एउटा ‘गल्ती’ का कारण राधालाई अमेरिकी प्रहरीले पक्राउ गर्छ । नातिसँग रमाउँदै दिनचर्या व्यतित गरिरहेकी राधा अचानक हिरासतको चिसो छिँडीमा पुग्छिन् ।
यति कथा चलचित्रको सार्वजनिक ट्रेलरबाटै लगभग खुलेको छ । राधा पक्राउ पर्नुको कारण तथा यसको पटाक्षप कसरी हुन्छ भन्ने हेर्न चाहिँ हलसम्म पुग्नुपर्ने छ । जे होस्, कथाको अन्तर्य रोचक छ ।
चलचित्रमा धेरै दृष्यहरुले हृदयलाई छुन्छन् । आँखा रसाउँछन् । ‘पूर्णबहादुरको सारंगी’ जस्तो सुरुदेखि अन्त्यसम्म दुखैदुःखले भरिएको चलचित्र भने होइन यो । यसमा हाँसो र आँशु सरोबर छन् । चलचिको क्लाइमेक्स सार्थक छ । दर्शकहरु सुखानुभूति लिएर हलबाट निस्किनेछन्, जुन पाटोमा ‘पूर्णबहादुरको सारंगी’ चुकेको थियो ।
सासु–बुहारीको सम्वन्धलाई चलचित्रमा महत्व दिइएको छ । सासु र बुहारीबीच नोकझोक र झगडा नेपाली चलचित्रमा नयाँ होइन । तर, ‘तेल भिसा’ फरक र यथार्थपरक ढंगले यसलाई पेश गरिएको छ । परम्परागत चलचित्रमा सासु वा बुहारीमध्ये एकलाई ‘भिलेन’ बनाइएको हुन्छ । ‘तेल भिसा’ ले भने खुलेर कसैको पनि साइड लिएको छैन । हुन त बुहारीलाई अलिकति छुच्ची देखाइएको हुँदा दर्शकको सहानुभूति सासुतर्फ जान्छ, तर अन्त्यमा बुहारीलाई नै सही ठहर्याएर सन्तुलन मिलाइएको छ ।
अभिनयको कुरा गर्दा कथाको केन्द्रमा रहेकी पूजा चन्दले बाजी मारेकी छन् । अमेरिका पलायन भएकी पूजा झण्डै दुई दशकदेखि नेपाली चलचित्रबाट टाढा थिइन् । यो अवधिमा उनी मिडियाबाट पनि टाढै रहिन् । एकाएक चलचित्रको पर्दामा उनको दमदार कमब्याक भएको छ । उनले धक फुकाएर अभिनय गरेकी छन् ।
अभिनेता विपिन कार्कीको भर्सटालिटी यो चलचित्रमा पनि देखिन्छ । बाबु र छोराको दोहोरो भूमिकालाई उनले सहजतापूर्वक निभाएका छन् । चलचित्रमा बाबु र छोरा बन्ने कलाकार एकै हुन भन्ने महसुस नै हुँदैन, जुन विपिनको सफलता हो । तथापि बाबुको भूमिकामा उनको संवाद सम्प्रेषण अलिकति आर्टिफिसियल लाग्छ, जसमा उनले अझै मिहिनेत गर्न सक्थे ।
छुच्ची बुहारीको भूमिका वर्षा राउत गज्जबसँग फिट भएकी छन् । यस्तो लाग्छ कि यो भूमिका वर्षाकै लागि लेखिएको थियो । उनको अभिनय पनि उत्कृष्ट छ । दुईजिउकी महिलाको हाउभाउ उनले सर्लक्क उतारेकी छन्, जसको श्रेय निर्देशक घिमिरेलाई पनि दिनै पर्छ ।
चलचित्रमा अर्को प्रभावशाली भूमिकामा छिन् ऋचा घिमिरे । अन्तिममा उनी नै कथाको ‘हिरो’ बन्छिन् । ऋचाले पनि लामो समयपछि चलचित्रमा कमब्याक गरेकी हुन् । वकिलको भूमिकामा उनी खुलेकी छन् र अभिनयमा पनि आत्मविश्वास देखाएकी छन् ।
बुद्धि तामाङको भूमिका र अभिनयमा खासै नयाँपन छैन । अन्य कलाकारहरुले आ–आफ्नो भूमिकामा न्याय गरेका छन् ।
चलचत्रिको कथा सरल र टमक्क मिलेको छ । पटकथा पनि चुस्त नै छ । यद्यपि, प्रश्न उठाउने एकाध ठाउँहरु नभएका होइनन् । आफ्नो मान्छेको मुद्दा नलिने अडान लिएकी अन्नपूर्णले अचानक निर्णय बदल्नुमा विश्वसनीय कारण दिन सकिएको छैन । कानूनभन्दा संस्कृति ठूलो हुँदैन भन्दाभन्दै पनि न्यायाधीशले किन संस्कृतिको पक्ष लिएर फैसला सुनाइन् भन्ने चित्तबुझ्दो आधार दिइएको छैन । कथा–पटकथाको तुलनामा संवाद अलि फितलो लाग्छ । कमेडी पन्चहरु अलि धेरै हुनुपथ्र्यो । क्लाइमेक्सको अदालती दृष्यमा अंग्रेजी संवादहरु प्रयोग गर्ने बाध्यता परेको छ, जसले गर्दा दर्शकले सबटाइटलतिर ध्यान दिनुपर्ने हुन्छ । अंग्रेजी संवादहरु त्यति परिस्कृत छैनन् ।
चलचित्रको संगीत पक्ष अब्बल नै छ । ‘टुकुन मुकुन’ र ‘कति रमाइलो’ बोलका दुई गीत कर्णप्रिय र जिभ्रोमा झुण्डिइहाल्ने खालका छन् । ‘कति रमाइलो’ गीतमा अमेरिकामा रहेका थुप्रै नेपाली दिग्गज कलाकारहरुलाई एकसाथ देख्न पाउँदा दर्शक आल्हादित हुनेछन् । अन्य प्राविधिक पक्षमा खासै खोट लगाउने ठाउँ छैन ।
समग्रमा सुगन्धमय छ ‘तेल भिसा’ । सबैभन्दा बलियो पाटो भनेको यसको विषयवस्तु नै हो । नेपाली चलचित्रमा विल्कुलै नयाँ तर सान्दर्भिक विषयको उठान गरिएको छ, जसले एकैपटक धेरै नेपालीहरुलाई छुन सक्छ । अमेरिकामा रहेका आप्रवासीहरुको सांस्कृतिक अधिकारको पक्षमा बलियो वकालत गरेको छ यस चलचित्रले । अमेरिकी नीति–निर्माताहरुसम्म यो चलचित्र पुग्नुपर्छ । यस्तै पृथक विषय र धारका चलचित्रहरुले नै नेपाली चलचित्र उद्याेगकाे शिर उँचाे गर्नेछन् ।